सुदूरपश्चिम

एक हजार सुरक्षाकर्मी परिचालन गरिने

प्रधानमन्त्री ओली धनगढी आउँदै, सुरक्षा व्यवस्था कडा

नवराज पनेरु |
पुस २३, २०७७ बिहीबार १५:५३ बजे

फाइल तस्बिर

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनगढी आउने तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । 

पार्टी विभाजन र प्रतिनिधि सभा विघटनपछि पहिलोपटक प्रधानमन्त्री ओली उपत्यकाबाहिर आउन लागेका हुन् । प्रधानमन्त्रीको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले प्रधानमन्त्रीको सुरक्षाका लागि थप प्रहरी परिचालन हुने बताए । 


‘प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री पहिलो पटक उपत्यका बाहिर आउदै हुनुहुन्छ । अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउछौ,’ सुवेदीले भने । प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि पुस २४ गते करिब एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ । 

जिल्ला सुरक्षा समिति कैलालीले पनि प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घट्ना हुन नदिन रणनीति बनाउदै आज बैठक सम्पन्न गरेको छ । दाहाल–नेपाल समूहका नेता कार्यकर्ताहरूले प्रधानमन्त्रीको विरोध गर्न सक्ने भएकाले उक्त कार्य हुन नदिन सुरक्षा निकाय ‘हाई अलर्ट’ गरिएको छ । 

नेकपा ओली पक्षका केन्द्रीय सदस्य समबहादुर थापाले प्रधानमन्त्रीको ध्यान सुदूरपश्चिम केन्द्रित भएको बताए । ‘ईतिहासमा पहिलो पटक एउटै मन्त्रिमण्डलमा सुदूरपश्चिमबाट चार जना मन्त्री छन्,’ थापाले भने, ‘निर्वाचन घोषणा भएपछि पनि प्रधानमन्त्री ओलीले उपत्यकाबाहिर सुरुवातमा सुदूरपश्चिमलाई नै रोज्नुभएको छ ।’ प्रधानमन्त्रीको कार्यक्रमबारे जानकारी दिन आज नेकपा प्रदेश कमिटीले धनगढीमा पत्रकार सम्मेलन गर्दैछन् ।


Author

थप समाचार
x