सुदूरपश्चिम

भागरथी हत्या प्रकरण : शव अझै उठेन, धनगढीबाट थप प्रहरी बैतडी पठाइयो

नवराज पनेरु |
माघ २८, २०७७ बुधबार १७:११ बजे

धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान परिवारले कायमै राखेको छ । सात दिनअघि बलात्कारपछि हत्या गरिएकी भट्टको शव अझै उठ्न नसकेको हो । 

शनिबार शव परीक्षण भए पनि आफन्तले शव बुझ्न नमानेकाले जिल्ला अस्पतालमै राखिएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता एवंम प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको पुष्टि भएको बताउँदै सिंहले भने, ‘घटनाको सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान परिवारको छ । हामीले अनुसन्धानलाई तीव्रता दिएका छौ ।’


भागरथीको भजाइनल स्वाबलगायत आवश्यक तथ्य परीक्षणका लागि विधीविज्ञान प्रयोगशाला पठाइएको बताउँदै सिंहले अनुसन्धान साँघुरिदै गएको दाबी गरे । ‘भागरथीका नजिकका साथी, घटना भएको दिन उक्त बाटो भएर हिँडडुँल गर्ने व्यक्ति, सो दिनदेखि भारत गएका व्यक्तिसंग सोधपुछ भएको छ,’ उनले भने, ‘प्राप्त तथ्य र संकास्पद व्यक्तिको बयान भिडाउने काम भईरहेको छ । हामी छिट्टै परिणाम सार्वजनिक गर्छाै ।’ एसएसपी सिंहका अनुसार हालसम्म डेढ दर्जन बढि संकास्पद व्यक्तिसंग सोधपुछ भईसकेको छ । 

धनगढीबाट थप प्रहरी परिचालन 
सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी उत्तमराज सुवेदी चार दिनदेखि बैतडीमा छन् । भागरथी हत्या प्रकरणको अनुसन्धानमा स्वयंम डिआईजी सुवेदी पनि खटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायाण प्रशाद अधिकारी अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन् भने उनलाई सघाउन प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेय र केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी पञ्चकुमार बाखुको टोली खटिएको छ । अनुसन्धानलाई सघाउन थप प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए ।

‘सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्देशनमा धनगढीबाट थप प्रहरी परिचालन गरिएको छ,’ सिंहले भने, ‘अनुसन्धानलाई सफल र छिटो टुङ्गोमा पुगाउन प्रहरीका विभिन्न टोली पठाएका हौँ ।’ बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भट्ट गत बुधबार विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । भोलिपल्ट साँझ स्थानीय लबलेक सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा उनी मृत फेला परेकी थिइन् ।


Author

थप समाचार
x