सूचना-प्रवधि

शिक्षक अस्पताल चितवनमा बनाउने मन्त्री पौडेलकाे दाबी

इकागज |
माघ ६, २०७८ बिहीबार १२:४३ बजे

फाइल फाेटाे

चितवन- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन् । 

सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले भने, 'शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने छ । हामी छिट्टै फाइल उठाएर मन्त्री परिषद्को बैंठकमा लैजान्छौं ।' जग्गा अस्पतालको नाममा आएपछि विस्तृत अध्ययन प्रतिवेदनको काम अघि बढ्ने छ । कानुनी प्रक्रियाका कारण केही समय लाग्ने भए पनि अन्य कारणबाट काम नरोकिने उनको भनाइ छ । 


पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले बुधबार मन्त्री पौडेललाई भरतपुरमा अस्पताल बनाउन उपयुक्त हुने जनाउँदै प्रतिवेदन बुझाएको छ । सुरुमा तीन सय शय्याको अत्याधुनिक शिक्षक अस्पताल बनाइने छ । क्रमशः अस्पतालको शय्या थप गर्दै लगिने उनले बताए । अस्पताल परिषरमा कुरुवा घर समेत बनाइने छ । महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको वडा नं १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउने बताइन् । 

महानगरले सो स्थलमा रहेको ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी कागजपत्र समितिलाई उपलब्ध गराएको थियो । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेबार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो ।

सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्शा, प्राविधिक ९नापी कर्मचारी०को स्थलगत नापजाँच प्रतिवेदन, वडा नं १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित आवश्यक सम्पूर्ण कागजपत्र पेश गरिसकेको छ । देशकै केन्द्रभागमा रहेकाले चितवन उपयुक्त हुने भन्दै समितिले प्रतिवेदन बुझाएको हो । रासस


Author

थप समाचार
x