सूचना-प्रवधि

राइनास बहुप्राविधिक शिक्षालयभित्रै पढ्दै कमाउँदै

इकागज |
माघ १९, २०७८ बुधबार १०:२४ बजे

लमजुङ - लमजुङको राइनास नगरपालिका-८ कुसुण्डेचौरमा राइनास बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत रहेको राइनास बहुप्राविधिक शिक्षालयको ३२ कोठे शैक्षिक भवन निर्माणको शिलान्यास गरिएको हो ।

राइनास बहुप्राविधिक शिक्षालयमा तीन वर्षीय प्रमाणपत्र तहको वन विज्ञान र आईएस्सी एजी (बाली विज्ञान) को पढाइ हुन्छ ।


सीटीईभीटी अन्तगर्तको शिक्षालयले कम शुल्कमा विद्यार्थी पढाउँदै आएको शिक्षालय प्रमुख ईश्वरीचन्द्र देवकोटाले बताए । यसका लागि शिक्षालयले विद्यार्थीका लागि ‘नर्सरी, ग्रिनहाउस, टनेलको व्यवस्थापन गरेको छ । उनका अनुसार थप कार्य व्यवस्थापनका लागि स्थानीय महादेव सामुदायिक वनसँग भोगाधिकारका लागि ८० रोपनी जग्गाको सम्झौता भएको छ ।

अहिले विद्यार्थीलाई वीरभक्ति माविको भवनमा राखेर पढाइएको छ । आफ्नै भवनमा सार्न ३२ कोठे भवन निर्माण सुरु भएको हो । सीटीईभीटीको नाममा रहेको २३ रोपनी, स्थानीयले दिएको ८ रोपनी, राइनास नगरपालिकाले दिएको २ रोपनी र वीरभक्ति माविले भोगचलनका लागि दिएको २३ रोपनीसहित ५६ रोपनीमा भवनलगायत संरचना निर्माण हुन लागेको हो ।

संघ सरकारको ४ करोड ३३ लाख रुपैयाँ बजेटमा चालु आर्थिक वर्षभित्रै शिक्षालयको भवन निर्माण गर्ने लक्ष्य लिइएको शिक्षालयका प्रमुख देवकोटाले बताए । ‘आगामी आर्थिक वर्षदेखि आफ्नै भवनमा राखेर विद्यार्थी पढाउने योजना हो । निर्माण कम्पनीलाई असार २० सम्म भवन निर्माण सकेर हस्तान्तरण गर्ने भनी पृथ्वीबेसी सीएम जेभी काठमाडौंसँग सम्झौता गरिएको छ । देशभरका १ सय ३८ जना विद्यार्थी उक्त शिक्षालयमा ३ वर्षे प्रमाणपत्र तहको वन विज्ञान (रेन्जर) र आईएससी एजी (बाली विज्ञान) पढिरहेका छन् ।

सीटीईभीटीको आंगिक उक्त शिक्षालय १५ असाेज २०७७ देखि सञ्चालनमा आएको हो । उक्त शिक्षालयमा हाल १२ जना प्रशिक्षक छन् । मुलुकभरका ६२ वटा शिक्षालयमध्ये राइनास बहुप्राविधिक शिक्षालय सबैभन्दा सस्तो भएको देवकोटाको दाबी छ ।

शिक्षालयमा अहिले वन विज्ञान पहिलो वर्ष र दोस्रो वर्षमा ३८/३८ जना विद्यार्थी छन् । कृषितर्फ पूर्ण छात्रवृत्तिमा ४० जना र नियमित कार्यक्रमतर्फ २६ जना अध्ययन गरिरहेका छन् । राइनास मेयर सिंहबहादुर थापाले आर्थिक अभावमा प्राविधिक शिक्षाबाट वञ्चित रहेका निम्न तथा मध्यमस्तरका नागरिकलाई सहज भएको बताए ।


Author

थप समाचार
x