डिफेन्स

जंगी अड्डामा हुनेवाला प्रधानसेनापतिको नयाँ टिम बन्दै

इकागज |
असार १२, २०७८ शनिबार १९:८ बजे

काठमाडौँ :  प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढाएसँगै हुनेवाला प्रधानसेनापति तीन तारे रथी प्रभुराम शर्माले आफू अनुकुलको व्यवस्थापन अघि बढाउँन थालेका छन् । कुनै राजनीतिक परिवर्तन झै ठूलो उथलपुथल नभए पनि आफू अनुकुलको टिम भने प्रधानसेनापति फेरिँदा सधै बन्‍ने गर्छ ।

ठूलो परिवर्तन नभए पनि आफूले सँगै काम गर्दाका केही व्यक्तिहरूलाई आफ्नो कोर टिममा राख्‍ने काम हुन्छ । यद्यपि यो सबै कार्य नियमित अन्तर्गत कै हाे । सेनाका झण्डै दर्जन सहायक रथीको सरुवासँगै रथी शर्मा अनुकुलको समूह बनाइएको अर्थ सेना भित्र लगाइएको छ । त्यसबारेमा सेनामा चर्चा पनि हुन थालेको छ । 


प्रधानसेनापति थापा साउन २४ देखि बिदा बस्दै छन् भने उनले आफूको कार्यभार सम्हालेको एक हजार दिन पुगेको अवसरमा अर्थात जेठ २३ गते नै नेतृत्व हस्तान्तरण प्रक्रिया अघि बढाएको बताएका थिए ।

थापापछि शर्मा प्रधानसेनापति बन्‍ने छन् । बलाध्यक्ष र बलाधिकृत दुवैको जिम्मेवारी सम्हालिरहेका शर्मा प्रधानसेनापति दौडका एकल घोडा मानिन्थे, पहिले देखि नै । यद्यपि यो कार्य थापाले नै आफूपछिको नेतृत्व स्पष्ट पार्ने भन्दै पहिले नै तय गरिदिएका हुन् ।   

प्रधानसेनापति थापाले सरुवा अघि बढाएको भए पनि रथी शर्मासँग सल्लाह गरेर नै त्यो काम भएको बताइएको छ । आफ्नो नेतृत्व रहने समय नजिकिँदै जाँदा रथी शर्माले आफू अनुकुलको टिम बनाउनुलाई स्वभाविक नै मानिन्छ ।

शर्माले नेतृत्व सम्हालेपछि कतिपय कार्यशैली परिवर्तन हुने आंकलन सेनाभित्र गरिएको छ । 'एक्सन म्यान"को रूपमा रहेका शर्मा पनि वर्तमान सेनापति भन्दा कडा रूपमा संरचना चुस्त पार्न प्रस्तुत हुने आंकलन सेनाभित्र छ । 

वर्तमान प्रधानसेनापति थापाले पनि आफूले थालेको कामलाई निचोडमा लैजान आउने नेतृत्वले थप मेहनत गर्न पर्ने बताएका थिए । उनले असार २३ गते विश्‍वासका साथ भनेका थिए, ‘आगामी नेतृत्व सुरु देखि नै मैले अघि बढाएको कार्यमा संलग्‍न रहँदै आउनु भएकाले असहजता र आवश्यकता उहाँलाई थाहा छ र सेनालाई बलियो, सम्मानित र सवल बनाउन उहाँ पनि उत्तिकै लाग्‍नुहुनेछ ।’ 

सेनाभित्र निकै महत्पूर्ण र चुनौतिपूर्ण कार्य मनिने सैनिक सहायक र सैनिक सचिव दुवै परिवर्तन हुने भएका छन् । नयाँ नेतृत्वलाई ध्यानमा राखेर नै नियमित सरुवा प्रक्रिया अघि बढेको हो । सैनिक सहायकमा सहायक रथी चोकबहादुर ढकाल र सैनिक सचिवमा सहायक रथी सुनिल श्रैष्ठ आउने प्रायः निश्‍चित भएको छ ।

प्रधानसेनापतिले सरुवा प्रक्रिया अघि बढाएको पनि जनाइएको छ । प्रधानसेनापतिको सचिवालयमा रहेर काम गर्ने पद हुनाले दुवै पदलाई निकै महत्वपूर्ण र चुनौतिपूर्ण पदको रूपमा मानिएको हो । उनीहरू बाहेक अन्य बाहिनी र कल्याणकारी निर्देशनालायमा पनि रथी परिवर्तन गरिन लागेको हो । 


Author

थप समाचार
x