डिफेन्स

प्रहरी एकेडेमी नमास्‍न प्रधानमन्त्रीलाई १५ पूर्वप्रहरी महानिरीक्षकहरूको ज्ञापन पत्र

इकागज |
साउन २०, २०७८ बुधबार १८:२५ बजे

काठमाडौं : नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूले राष्ट्रपतिको कार्यालय विस्तार गर्ने नाममा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) सार्ने र जग्गा अन्यत्र निकायमा हस्तान्तरण गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधवार ज्ञापनपत्र बुझाएका छन् । नेपाल प्रहरीका १५ जना पूर्वप्रहरी महानिरीक्षकहरूले प्रतिष्ठानको ऐतिहासिक पहिचान मेटिने गरी निर्णय भएको भन्दै ज्ञापनपत्र बुझाएका हुन् । 

निवर्तमान केपी ओली सरकारले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गाको स्वामित्व राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने गरी भएका काम कारबाहीबाट नेपाल प्रहरीको संस्थागत विकासको महत्वपूर्ण आधारशीला एवम् जीवत संग्रहालयको अस्तित्व मासिने चिन्ता पूर्वप्रहरी प्रमुखहरूको छ । प्रधानमन्त्री देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा ऐतिहासिक पहिचान बोकेको तथा प्रहरीको व्यवसायिकताको उद्गम थलोको रूपमा स्थापित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको इतिहास नामेट पार्ने कार्य रोकिनुपर्ने उल्लेख छ । 


नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चको तर्फबाट पूर्वप्रहरी महानिरीक्षकहरू दुर्लभकुमार थापा, मोतीलाल बोहोरा, अच्युतकृण्ण खरेल, ध्रुबबहादुर प्रधान, प्रदीप शमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले पूर्ववर्ती सरकारको निर्णय यथाशीघ्र खारेजीको माग गरेका हुन ।

राष्ट्रपति कार्यालय विस्तार गर्न केपी ओली नेतृत्वको सरकारले २०७५ भदौ २१ गते नेपाल प्रहरीअन्तर्गत रहेको महाराजगञ्जस्थित नेपाल प्रहरीको एकेडेमी अन्यत्रै सार्ने र त्यसले चर्चेको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका लागि प्रशासनिक आदेश भई प्रक्रिया अघि बढेको छ । दुरगामी नकारात्मक असर पुर्‍याउने खालको रहेको दाबी ज्ञापनपत्रमा छ । 

प्रारम्भमा सदर पुलिस तालीम केन्द्रका रूपमा स्थापना भई हालको स्वरुपमा विकास भएको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका रुपमा स्तरवृद्धि गरी नामाकरणसहितको स्मारक स्तम्भको विधिवत् उद्घाटन तत्कालिन गृहमन्त्रीको हैसियतमा हाल प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले गरेका थिए ।  

भारत सरकारको सहयोगमा काभ्रेको पनौतीमा प्रहरी एकेडेमी निर्माणको काम अघि बढेको छ । व्यक्तिहरुको सहज उपलब्धता र अन्य व्यवस्थापकीय दृष्टीकोणले पनि पनौतीमा निर्माण हुने प्रहरी प्रशिक्षण प्रतिष्ठानमा व्यवस्थापन गर्न अत्यन्त कठिन हुने पूर्व प्रहरी प्रमुखको भनाइ छ । 

‘केवल आवासीय एवं आधारभूत प्रकृतिका प्रहरी प्रशिक्षण कार्यक्रमहरू सञ्‍चालनका लागि मात्र उपयुक्त देखिएको सो स्थानमा नेपाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आधाभूत तथा आवासीय प्रशिक्षण महाशाखा स्थानान्तरण गर्न उपयुक्त हुने देखिन्छ,’ ज्ञापनपत्रमा उल्लेख छ । यस बिषयमा गंभिरतापूर्वक सुनुवाइ गर्न उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 


Author

थप समाचार
x