डिफेन्स

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सेनाका विभिन्‍न कार्यक्रम

इकागज |
पुस २७, २०७७ सोमबार १९:३७ बजे

काठमाडौँ : नेपाली सेनाले "पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७" विविध कार्यक्रम गरि मनाएको छ । सेनाले  पुस १८ गतेदेखि नै देशका विभिन्न स्थानमा यससम्बन्धी विविध कार्यक्रम संचालन गरिरहेको थियो । 

सेनाले गोरखा-काठमाण्डौं एकिकरण मार्ग पदयात्रा पुस २१ गते गोरखाबाट सुरु गरेर आज हनुमान ढोकाबाट हिमाली, पहाडी, तराई तथा काठमाण्डौंका नेवार समुदायलगायतका सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरि राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखे नाचसहितको सांस्कृतिक प्रस्तुतिकासाथ जङ्गी अड्डामा समाप्त गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । 


त्यस्तै आज बिहानै चन्द्रागिरी, दहचोक, शिवपुरी, साँगा, महादेव पोखरी (नगरकोट) तथा जङ्गी अड्डाको छतबाट सेनाका युनिटहरूले एकैसाथ रिभ्याली बजाएका र जङ्गी अड्डामा थप विशेष कार्यक्रम भएका निर्देशनालयले विज्ञप्तमा उल्लेख छ । 

आजै प्रधानसेनापति पूर्णचन्द्र थापाले भर्खरै स्थापना गरिएको पृथ्वी नारायण शाह अध्ययन केन्द्रको उद्‍घाटन गरे । जङ्गी अड्डा अडिटोरीयममा इतिहासविद प्राज्ञ जगमान गुरुङ्गबाट पृथ्वीनारायण शाहले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतामा पुर्‍याएको योगदान र सो बाट वर्तमान र भावी पिढीले राष्ट्र र राष्ट्रियताको लागि सिक्नुपर्ने/गर्नुपर्ने कर्तव्यलगायत एकिकरण अभियानका दौरान अपनाइएका विविध सैनिक पक्षहरूबारेमा उपरथी सहदेव खड्काले प्रवचनको दिएका थिए । 

सेनाको कल्याणकारी कोषबाट संचालित सबै सैनिक विद्यालयका बाल बालिकाहरूबीच गरिएको हाजिरी जवाफ प्रतियोगितामा बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय प्रथम र रिपूमर्दिनि सैनिक माध्यमिक विद्यालय द्धितिय भए । विजयी टीमलाई बलाधिकृत रथी प्रभुराम शर्माले प्रमाण पत्र र पुरस्कार वितरण गरे । सेनाले राष्ट्रिय कविता महोत्सवको अन्तिम चरणको छनौट प्रतियोगिता पनि आजै संचालन भएको थियो ।

 महोत्सवमा १० वटा उत्कृष्ट र ३० वटा अन्य कविता छनौट गरी पुरस्कृत गरिएको थियो । साँझ चलचित्र "नालापानी" "मेरा साना दु:खले आर्ज्याको मुलुक होइन" शिर्षकको नाटक, नेपाल एकीकरणका विविध पाटाहरु समावेश गरिएको दोहोरी गीत कार्यक्रम तथा राष्ट्रियता एवं राष्ट्रिय एकताका विविध पक्षहरु समेटिएको वृत्तचित्र प्रस्तुत गरियो । 


 


Author

थप समाचार
x