समाज

सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको महासचिवमा डा. शितलकाजी श्रेष्ठ चयन

इकागज |
असार ६, २०७९ सोमबार १०:१० बजे

काठमाडौँ - सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको महासचिवमा डा. शितलकाजी श्रेष्ठ चयन भएका छन् । नेपाल भेटेरिनरी एसोसियसनको १४ औँ राष्ट्रिय सम्मेलनमा भएको सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको पहिलो बैठकबाट सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनमा महासचिवमा डा. शितलकाजी श्रेष्ठ सर्वसम्मतले चयन भएका हुन् ।

उक्त एसोसियसनको महासचिवमा चयन भएका श्रेष्ठ नेपाल भेटेरिनरी एसोसियसनको वर्तमान अध्यक्ष पनि हुन् । त्यस्तै भारतीय भेटेरिनरी एसोसियसनका अध्यक्ष सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको अध्यक्षमा चयन भएका छन् ।


हिजो भएको बैठकमा सार्क राष्ट्रहरूमा भएको संगठनहरूको प्रतिनिधित्व थियो । र उक्त सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको पहिलो बैठकले सचिवालय नेपालमा राख्ने निर्णय गरेको छ ।

नेपाल भेटेरिनरी एसोसियसनको उक्त १४ औँ राष्ट्रिय सम्मेलनमा भएको उक्त बैठकमा सार्कको पशु तर्फको डाइरेक्टर जमाल उद्दीनको पनि उपस्थिति रहेको थियो ।

उक्त १४ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशका मन्त्री चन्द्रबहादुर बुढाले गरेका हुन् । सम्मेलनमा ५ सय भेटेनरी चिकित्सकहरूको उपस्थिति रहेको थियो । त्यस्तै सम्मेलनमा ७० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त २ दिने सम्मेलन पोखरामा सम्पन्न भएको हो ।


Author

थप समाचार
x