समाज

राष्ट्रिय परिचय पत्र बनाउन सकस

केशरमहलमा सेवाग्राहीकाे जाग्राम- बिहान भने हुँदैनन् काम

रातभर लाइन बस्नु पर्दैन : विभाग

अतिन आचार्य |
भदौ १, २०७९ बुधबार १४:१० बजे

काठमाडौँ-  रात छिप्पिदै थियो । सडक किनारामा हिड्ने मानिस र सवारी साधनहरू पातलिँदै थिए । फाट्टफुट्ट गाडीहरू कुँदिरहेका थिए ।

मंगलबार राति १० बजे काठमाडौँको नारायणहिटी परिसर पश्चिम गेट अगाडि एक हुल मानिसहरू थिए । मोबाइल बाल्दै ठाउँ सर्दै गरेका मानिसहरूको भिडमा कोही बोल्यो,'मेरो २९ नम्बर छ । बस्ने ठाउँ कता हो ।'


राष्ट्रिय परिचय पत्रको नम्बर लिन अँध्यारैमा बसेका तन्नेरीहरूलाई न रात न दिन । भोक-प्यास भुलेर उनीहरू नम्बर खोज्दै थिए ।

राष्ट्रिय परिचय पत्रको नम्बर लिनु मात्र उनीहरूको परिचय होइन । उनीहरू दु:खका प्रतिनिधि पात्र हुन् ।

दाङ राजपुर गाउँपालिका-७ का कृष्णबहादुर बुढा दुई दिनअघि काठमाडौँ आएका हुन् । गोंगबु बसपार्कमा झरेर उनले झोला कुनै होटलमा बिसाएनन् । पुरानो राहदानी विभाग केशर महल पुगेर झोला बिसाए । जहाँ अहिले राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिने गरिन्छ ।

'पहिलो दिन आए पालो पाइनँ । बिहानै टोकन सकिएको रहेछ,' उनले भने,' अघिल्लो राति १ बजे आएँ त्यसदिन पनि पाइनँ । आज बेलैमा आएर लाइनमा बसेको छु ।'

कृष्णबहादुर राष्ट्रिय परिचय पत्रको नम्बर लिन भित्तालाई सिरान बनाएर बिहानीको पर्खाइमा छन् । रातभर नबसे बिहान उनले टोकन पाउँदैनन् । रातभर बसेपछि बिहान ६ बजे मात्र टोकन पाउने आशामा बसेका छन् ।

दिनभर घुमेर रातको समयमा उनी  उही भित्तामा पुगेका छन् । ३७ वर्षीय कृष्णबहादुर टोकनको प्रतिक्षामा भुइँलाई ओछयान बनाउन बाध्य छन् ।

'गाउँमा सहजै परिचय पत्र पाउने व्यवस्था गरिदिएको भए रातभर बस्न पर्दैन थियो,' आक्रोशित स्वरमा उनी भन्छन्,' गाउँमा फारम भरेको १५ दिनमा पालो आउँछ । सरकारले छिटो पाउने व्यवस्था गरेको भए यहाँ आउदिन थिएँ ।'

२० हजार रुपैयाँ बोकेर काठमाडौँ छिरेका उनी राष्ट्रिय परिचय पत्र र ई -राहदानी बनाउने योजनामा छन् । दुई दिनमा ४ हजार खर्च भइसक्यो । परिचय पत्र बनाउन समय लाग्दा ल्याएको खर्चले राहदानी बनाउन खर्च नपुग्ने होला भनेर उनी चिन्तित देखिन्थे ।

रातभर बसेर पनि पाइँदैन टोकन

ललितपुर हात्तीवनका गिरीबहादुर थापा मगर परिचय पत्रका लागि धाउन थालेको तीन दिन भयो । धाउने मात्र काम भयो । परिचय पत्रका लागि टोकन पाउन सकेका थिएनन् ।

'दुई दिन लगातार राति १ र ३ बजे आए त्यो दिन पनि टोकन पाउन सकिन्,'  भुँइमा झोला राख्दै उनले सुनाए,' टोकन पाउनेको नाम राति लेखिसकेको हुनाले बिहान भरी बस्दा पाउन सकिनँ । ७ बजेदेखि यही लाइनमा बसिरहेको छु । '

उनी परिचय पत्र बनाउन 'पठाओ राइडर' मा पुगे । दुई पटक आउँदा ६ सय रुपैयाँ खर्च भइसकेको गुनासो पोखे । पहिलो दिनमा पालो भएको दुई रातसम्म धाउनु पर्दैन थियो उनले । 'तेस्रो रातसम्म आइपुग्दा परिचय पत्र बनाउन पाइने टोकन पाइन्छ होला,' आशावादी सुनिन्छन् ।

मलेसियाबाट छुट्टीमा आएका गिरीबहादुर राहदानी नवीकरण गर्न परिचय पत्र बनाउने लाइनमा छन् । मलेसिया फर्केपछि झन्झट बेहोर्नु पर्ने भएकाले उनले अहिले पासपोर्छ बनाउन खोजेका छन् । ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचय पत्र नम्बर चाहिने भएकाले रातिदेखि लाइनमा छन् ।

टोकन वितरण संख्या बढाएमा सेवाग्राहीले राहत पाउने उनलाई लागेको छ । ३० वर्षीय कृष्णबहादुर भन्छन्, ' दैनिक वितरण गर्ने टोकनको संख्या बढाएमा मात्र पनि सेवाग्राहीहरू रातभर भुइँमा लामखुट्टेलाई टोकाएर बस्नु पर्दैन थियो होला ।'

दाङबाट सरोज चौधरी नुवाकोट कामका लागि हिडे । तर, काठमाडौँको बसपार्क झरेपछि उनको पाइला परिचय पत्र बनाउन केशर महलतिर मोडियो । बसपार्कबाट उनी बिहानै पुगे । तर टोकन पाएनन् ।

दिनभर गोंगबुमा बसेका र साँझ परेपछि उनी पुनः राष्ट्रिय परिचयपत्र बनाउने ठाउँमा पुगे । बिहानभरी लाइन बस्दा पनि टोकन नपाएपछि रातको समयमा लाइन बस्नुपरेको २४ वर्षीय सरोजले बताए । 'बिहानै परिचयपत्र बनाउन पाएको भए काम गर्न पुगिसक्थे,' उनले दुःखेसो पोख्दै भने ।

रातभर लाइन बस्नु पर्दैन : विभाग

नारायणहिटी संग्रहालयको पश्चिम दिशामा रहेको कार्यालयमा राष्ट्रिय परिचय पत्रका लागि प्रवेशको अनुमति पाउँछन् । दैनिक करिब दुई सय टोकन वितरण हुने गरेको छ ।  

परिचय पत्र बनाउनका लागि संग्रहालयमा दुई थरिका सेवाग्राही पुग्छन् । अनलाइन आवेदन दिएका र पुगेर भर्ने पुग्ने गरेका छन् । अनलाइन आवेदन दिनेहरू तोकिएको मितिमा पुग्नुपर्नेछ भने अन्य सेवाग्राहीले टोकन लिएर दैनिक पुग्छन् ।

राष्ट्रिय परिचयपत्र तथा पत्र्जिकरण विभागका सूचना अधिकारी लक्ष्मण ढकाल नाम टिपाएर रातभर बस्नुनपर्ने बताउँछन् । अनलाइनबाट आवेदन दिएकाले तोकिएको मितिमा र अनलाइन फारम नभरेकाहरूले टोकन लिनुपर्ने उनले जानकारी दिए ।

देशभरका सबै स्थानीय तहबाट परिचयपत्रका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको ढकालले बताए । अधिकांश सेवाग्राहीले आफ्नो पालिका छोडेर यता बनाउन आउने भएकाले भिड हुन गइरहेको उनको भनाइ छ ।

संग्रहालयको कार्यालयमा १० वटा स्टेशन छन् । हाल प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सेवाग्राहीले सेवा पाइरहेका छन् । सिराहा, महोत्तरी, रौतहट र बाराका सेवाग्राहीले सेवा पाउने गरेका छन् ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बागमती प्रदेश, धनुसा र पर्साका सेवाग्राहीले परिचयपत्रका लागि आवेदन दिन पाउने ढकालले जानकारी दिए । ललितपुरमा कर्णाली, सुदूरपश्चिम प्रदेश, सप्तरी र धनुषा जिल्लाका सेवाग्राहीले सेवा पाइरहेका छन् ।

जनशक्तिको अभाव र स्टेशनको अभाव भएकाले तत्कालका लागि व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ । अनलाइन आवेदन दिएकाहरूको एक जना कर्मचारीले ४० देखि ५० जना सेवाग्राहीको काम गरिरहेको उनले जानकारी दिए । कार्यालयमा पुगेर फारम भर्नेहरूको बढी समय लाग्ने गरेको छ ।

'एक घण्टामा ५ जनाको मात्र आवेदन भर्न सक्छन्,' उनले थपे,' ५ जनाले अनलाइन फारम भरेकाको गर्छन् अर्काले कार्यालयमा पुगेर भर्नेको काम गर्छन् ।'

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x