समाज

सडक न बिजुली, विकास छुटेकाे सिन्धुपाल्चोकको तेम्बाथान 'अर्को देश' जस्तै

स्वास्थ्य र शिक्षाको पहुँचमा पुगेनन् गाउँवासी, बिरामी हुँदा हेलिकप्टरकै भर

सम्झना कार्की |
भदौ १, २०७९ १६:२५ बजे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ मा पर्ने गाउँ हुन तेम्बाथान, तेगा र दिपु । यहाँका बासिन्दालाई सरकारी सेवासुविधामा सहज पहुँच त छैन नै, उनीहरूलाई स्वास्थ्य एवं शिक्षा पाउन पनि कठिन छ । त्यति मात्र हो र, सडक र बिजुली नै छैन । 

तेम्बाथानबाट दुई दिन हिँडेर जुगलकै कात्तिकेसम्म आई दैनिक उपभोग्य वस्तु किन्ने गर्दछन् गाउँवासी । सडक नहुँदा हिँडेरै आउजाउ, ठाउँठाउँमा खोला, भिरको बाटो, भारी बोकेर कष्टपूर्ण पैदल यात्रा गर्छन् । बर्खाको बेला आवतजावत गर्न झमेला हुन्छ । गाउँले मिलेर गोरेटो बाटो बनाउने गरेका छन् । बाटो सफा बनाउन एक घर एक व्यक्ति जानै पर्ने नियम गाउँलेले राखेका छन् । 


स्थानीय तहमा जनप्रतिनिधि आएपछि गुम्बा गाउँ सम्म सडक र बिजुली पुगेको छ । यी गाउँमा धेरै शेर्पा जातिको बसोबास छ । स्थानीयका अनुसार  १६७ घरधुरी तेम्बाथानमा छन भने दिपु, साङ्लुङ र तेगा गाउँमा ३०/३२ घरधुरीको बस्ती छ तर  यी बस्तीका स्थानीयलाई विकसित गाउँ कस्तो हुन्छ नै थाहा छैन । यहाँ बसोबास गर्नेहरुले न मोटर देखेका छन् । न त बिजुली नै ।


बिरामी हुँदा हेलिकप्टरकै भर

सामान्य उपचारका लागि त तेम्बाथानमा स्वास्थ्यचौकी छ । नजिक स्वास्थ्यचौकी भए पनि सिटामोलबाहेक अरु औषधि पाइँदैन । गुम्बादेखिका व्यक्तिसमेत दुई दिन माया मारेर एलर्जीको लागि कात्तिके पुग्ने गर्दछन् भने तेम्बाथानको त कुरै नगरौँ ।  बिरामी भएकै दिन अस्पताल पुर्‍याउन कठिनाइ हुन्छ । जानैपरे पनि भिरको बाटो, तत्काल बोकेर लाने अवस्था छैन,  हेलिकप्टर नै झिकाउनुपर्छ । अरु विकल्प यहाँ छैन । 

स्थानीय लाक्पा लामा भन्छन् , ‘बिरामी पर्दा उपचार गर्न हेलिकप्टर बोलाउनुपर्छ, ऋण गरेर हेलिकप्टरमा बिरामी लगेका गाउँलेले अहिलेसम्म ऋण तिर्न सकेका छैनन् ।’  गाउँमा १६७ घरधुरी छ । बाक्लो बसोबास शेर्पा समुदायको छ । सुत्केरी ब्यथा लाग्दासमेत हेलिकप्टर खोज्नुपर्ने बाध्यता गाउँलेसामू छ । सिंगो गाउँको समस्या यही छ । जटिल बिरामी भए पनि तत्काल अस्पताल पुर्‍याउन सकिँदैन । बिरामी पर्दा जंगली जडीबुटीको भर पर्नुपर्ने बाध्यता छ । बिरामीको उद्धारका लागि हेलिकप्टर बोलाइरहनुपर्ने भएकाले तेम्बाथान आधारभूत विद्यालय नजिकै हेलिप्याड बनाइएको छ । 

शिक्षाको कमी

तेम्बाथान, तेगा, साङ्लुङ र दिपु गाउँ विकट छन् । यी गाउँको पेसा याक ,चौँरी र गाई नै पाल्ने हो । पितापुर्खादेखि गोठ पाल्ने चलन भएकाले लेकाली क्षेत्रका धेरैको पेसा नै गोठ पाल्नु हो । चौरी गोठमा भकारा सोर्ने, चौरी खेद्ने र वस्तुभाउको चाकरीमा व्यस्त रहन्छन् । केही समय अगाडि यहाँका अधिकांश बाललालिका चौरी गोठमै हुन्थे । दुई दिन पैदल दूरीका चौरी गोठ । त्यही भएर पनि अभिभावकले गोठ जहाँ लान्छन्, छोराछोरी पनि त्यहीं लैजाने चलन थियो । 

विद्यालयको अनुहारै नदेखेका बालबालिकाको दैनिकी यस्तैमा बित्थ्यो । परिवारमा पढाइभन्दा चौँरीगोठ प्यारो भन्ने मान्यताले पनि उनीहरू शिक्षाबाट टाढा भए । तर, अहिले बालबालिकाहरू गोठ नभई विद्यालय जान थालेका छन् । कक्षा ६ सम्म पढाई हुने तेम्बाथानको आधारभूत विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या १०० छन्। 

गाउँका केटाकेटी खासै स्कुल नजाने चौँरी गोठमै भेटिन थालेपछि सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउनुस् भनि घरघरमा अभिभावकलाई सल्लाह सुझाव दिएसँगै विद्यार्थी नियमित जान थालेका हुन् ।  खाजा आफ्नै घरबाट ल्याउन लाएर सो खाजाको पैसा ४/५ महिनामा एकै मुस्ट दिने गरेकाले विद्यालय आउने विद्यार्थीकाे स‌ंख्या बढ्न थालेको तेम्बाथान आधारभूत विद्यालयका प्रधानध्यापक युवराज शर्माले बताए ।

कक्षा कोठाको अभावले तीन कोठालाई जस्ताका पाताले बारेर छ कोठा बनाई कक्षा ६ सम्म सञ्चालन गरिएको छ । बेन्च, टेबल, कक्षा कोठा अभावले प्रशासन चलाउन नसकिएकाे उनले बताए । तेम्बाथानको विद्यालयलाई पालिकाले कुनै सहयोग नगरेकोमा शर्माको गुनासो छ । 

जस्ताले बारेको कोठामा पढाउँदा होहल्ला हुने, पढाएको नबुझ्ने, आफूले दिन खोजेको शिक्षा दिन नसकेको शिक्षक साङगे निमा शेर्पाले बताए । अहिलेसम्म अँग्रेजी र गणित विषयका किताब विद्यालयमा उपलब्ध छैन । साङ्लुङ, तेगा र दिपुका विद्यार्थी बर्खामा तेम्बाथानमा आफन्ताकोमा बसेर विद्यालय जान्छन् भने हिउँदमा २ घण्टाको बाटो हिँडेर विद्यालय जाने गरेका छन्  ।

कक्षा ६ सम्म अध्यापन हुने भएकाले माथिल्लो कक्षा पढ्न टाढा जानुपर्दा गाउँमा पढाइप्रति आकर्षण घट्ने होकि भन्ने चिन्ता विद्यालय व्यवस्थापन अध्यक्ष लाक्पा शेर्पाको चिन्ता छ । बिजुली नभएकै कारण पनि पढ्ने उमेरका बालबालिका र बिरामी बढी प्रभावित हुन पुगेका हुन् । सामान्य अक्षर चिन्न सक्ने र अलिअलि काम गर्न सक्ने भएपछि वैदेशिक रोजगारको बाटो खोज्छन् ।  

न त बिजुली न ईन्टरनेट

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा तेम्बाथान, दिपु र तेगा गाउँमा अहिलेसम्म पनि नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनसमेत जोडिएको छैन । न इन्टरनेट चल्छ । सोलारकै भर छ । धेरैजसो परिवारले रातको समयमा उज्यालोको लागि टुकी बत्तीकै भर पर्नुपर्ने बाध्यता छ । केही हुनेखाने परिवारले सोलार जडान गरेका छन् । 

आफन्तसगँ फाेनमार्फत कुरा गर्न उनीहरु अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ । तेम्बाथाङ , तेगा र दिपुमा घाम लाग्दा मात्रै नेटवर्क आउने गर्छ । स्थानीयवासीहरु महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न नेटवर्कले टिप्ने ठाउँ खोज्दै घाम लाग्ने बितिकै डाडामा निस्किने गरेका छन् । 

स्थानीय लाक्पा शेर्पा भन्छन् , 'विकट गाउँको बसाइ, त्यसमा पनि प्रविधिको पहुँचमा नहुँदा धेरै सरकारी सेवासुविधाबाट पनि टाढा हुनपरेको र समयमा सूचना पनि प्राप्त नहुँदा समस्यामा पर्ने गरिएकाे छ ।' 

न्युज कारखाना


Author

थप समाचार
ad
x