समाज

अदालतमा सम्बन्ध जोड्नेभन्दा तोड्ने १७ गुणा बढी

सरिता दाहाल |
भदौ ६, २०७९ सोमबार ८:४५ बजे

मकवानपुर - जिल्ला अदालतले गर्ने कामहरू मध्येको एउटा हो 'कोर्ट म्यारीज' अर्थात् अदालती विवाद । काठमाडौँ कपन निवासी प्रसिद्धि खड्का र मकवानपुर बागमती गाउँपालिका-६ का रमेश लामाले गत माघमा दर्ताद्वारा विवाह गरे ।

अन्तरजातीय प्रेम सम्बन्धलाई स्वीकार नगर्ने छनक पाएपछि आफ्नो सम्बन्धलाई कानुनी रूप दिएर झन् कसिलो बनाएको रमेश बताउँछन् । “बाबाआमाले आफ्नो जातकोसँग माया गर्नु पर्थ्यो भन्न थाल्नुभयो, अनि हामी सुटुक्क कोर्ट म्यारीज गर्‍यौ,' प्रसिद्धिले भनिन् ।


कानुनतः विवाहको लागि तोकिएको बीस बर्ष उमेर पुरा भएका जोडीले अभिभावकविनै अदालतमा कोर्ट म्यारिज गर्न सक्छन् ।  

दर्ताद्वारा विवाह गर्दा मुलुकी देवानी संहिता २०७४, र मुलुकी देवानी कायविधि संहिता २०७४ ले तोकेको कानुनी प्रकृया पुरा गरेको हुनु पर्दछ । जिल्ला अदालत मकवानपुरले आर्थिक बर्ष २०७७/०७८ मा यस्ता ५० जोडीको कानुनी विवाह गराएको तथ्यांक छ । 

तर अदालतको तथ्यांकअनुसार सम्बन्ध स्थापित गर्ने भन्दा सम्बन्ध तोड्नेहरूको संङ्ख्या १७ गुणा बढी छ । विभिन्न घटनाक्रम तथा आपसी बेमेलको कारण देखाउदै जिल्ला अदालत मकवानपुरबाट गत आर्थिक वर्षमा ८५९ जोडी सम्बन्ध विच्छेदको प्रक्रियामा  छन् । यो सङ्ख्या अदालतको सेवा लिएर विवाह गर्नेको तुलनामा १७ गुणाभन्दा बढी हो ।

जिल्ला अदालत मकवानपुरको प्रमुख स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार ८५९ मध्ये ६७९ वटा फैसला भैसकेको छ । 'बाकी मुद्दा  चालु आवमा फैसला हुनेछ,' भट्टराईले भने ।

सम्बन्ध विच्छेद गर्ने ९० प्रतिशतले अंशविना नै सम्बन्धविच्छेद गरेको उनले बताए ।  पछिल्लो समय सानो तिनो बेमेलमा नै बैवाहिक सम्बन्ध तोड्नेहरू बढेको पाइन्छ । 'निहु केही हुँदैन, स्वतन्त्र हुन चाहन्छु भन्दै डिभोर्सको लागि आउनुहुन्छ,' भट्टराइले भने ।

वैदेशिक रोजगारको कारण पारिवारिक सम्बन्ध कमजोर बन्दै आएको बढी मुद्दाहरू अदालत आउने गरेका छन् ।


Author

थप समाचार
x