समाज

बाल सहभागिता सम्मान तिलोत्तम पौडेललाई

इकागज |
असोज १, २०७९ शनिबार १४:४३ बजे

काठमाडौँ- बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समूह कन्सोटियम नेपालले हरेक वर्ष प्रदान गर्ने बाल सहभागिता सम्मान २०७९ बाट तिलोत्तम पौडेल सम्मानित भएका छन् । आफ्नो जीवनको बाल्यकालदेखि बाल अधिकार र बाल सहभागितालाई मुख्य केन्द्र मान्दै क्रियाशील बालमैत्री अभियान्ता पौडेललाई संजालको वार्षिक साधारण सभा तथा बाल दिवसको अवसर पारेर उक्त सम्मान प्रदान गरिएको हो ।

बाल सहभागिता सम्मान २०७९ बाट सम्मानित पौडेललाई कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले सम्मानपत्र दिएर सम्मान गरेका थिए ।


विगत लामो समयदेखि बालबालिकाको अधिकार र सहभागिताका साथै बालमैत्री स्थानीय शासनका क्षेत्रमा क्रियाशील पौडेलले २०५५ साल माघ ४ गते १७ वर्षको उमेरमा संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुसार बिना नागरिकता बाल संस्थाको कानुनी मान्यताको माग गर्दै सर्वोच्च अदालतमा तत्कालीन गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारी नवलपरासीविरुद्ध जागृति बाल क्लब नेपाल, नवलपरासीको तर्फबाट रिट दायर गरेका थिए ।

उक्त रिटमाथि २०५८ साउन २५ गते बाल संस्थाको कानुनी मान्यताको पक्षमा फैसला भएको थियो । यस फैसला पश्चात नेपालमा बाल क्लबहरू गठन हुने क्रम बढ्नुका साथै बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, संवैधानिक, कानुनी, नीतिगत, संरचनागत र कार्यक्रमिक व्यवस्था हुन थालेको स्मरण गर्दै पौडेललाई सम्मान गरिएको कन्सोटियमका अध्यक्ष मोहन दंगालले बताए ।

फैसला भएको दिनलाई ऐतिहासिक दिन भन्दै साउन २५ लाई बाल सहभागिता दिवसको रुपमा मनाउन आह्वान गरेको कुरा कन्सोटियमका उपाध्यक्ष सन्तोष महर्जनले बताए ।

बाल सहभागिताका लागि नागरिक सहभागिता र संलग्नता विषयक राष्ट्रिय अन्तरसंवाद कार्यक्रम समेत आयोजना गरेको छ । अन्तरसंवाद कार्यक्रममा बालअधिकारकर्मी एवं राष्ट्रिय बाल अधिकार परिषद्का पूर्व कार्यकारी निर्देशक मिलनराज धरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय योजना आयोगका डा. किरण रुपाखेती, गैर सरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराई, बाल अधिकार परिषद्का सदस्य रोशना खड्का, सेभ द चिल्ड्रेनका रबिन्द्र गौतम, बालबालिका प्रतिनिधि मुना गिरीले अर्थपूर्ण बाल सहभागिताको निम्ति बालमैत्री शासन प्रवर्द्धनमा जोड दिएका थिए ।

अन्तरसंवाद कार्यक्रममा देशभरिका १०० संस्था तथा संजालहरूका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व पौडेलले बाल क्लब गठन, कानुनी मान्यताका लागि पर्खाइको भोगाइका अनुभवहरू बताउँदै यो सम्मानले आफूलाई थप उर्जावान हुँदै बाल अधिकारको क्षेत्रमा क्रियाशील रहन थप प्रेरणा भएको बताए । पौडेल हाल जागृति बाल तथा युवा सरोकार नेपाल र सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको अध्यक्ष तथा राष्ट्रिय युवा परिषद्को कार्यकारी सदस्यको रूपमा सामाजिक क्षेत्रमा क्रियाशील छन् । 


Author

थप समाचार
x