समाज

निर्वाचनमा बालबालिकाहरूलाई प्रयोग नगर्न आग्रह

इकागज |
असोज १, २०७९ शनिबार १९:३४ बजे

काठमाडौँ- निर्वाचनमा बालबालिकाहरूको प्रयोग नगर्न आग्रह गरिएको छ । नेपालको सातै प्रदेशका बालबालिकाहरूको प्रतिनिधित्व रहेको बाल पैरवी परिषद् कन्सोर्टियम नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आसन्न आम निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूसँग अन्तरसंवाद गर्दै उक्त सुझावहरू बुझाइएको छ ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बालबालिकाका सवालमा पार्टी निकै संवेदनशील रहेको र निर्वाचनका कुनै पनि गतिविधिहरूमा बालबालिकाको दुरुपयोग नगर्ने प्रतिबद्धता व्यक्त गरे । 


नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले निर्वाचनमा बालबालिकाको दुरुपयोग पार्टीको नीतिविपरीत रहेको र घोषणापत्रमा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्ने बताए । 

कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दँगालले बालबालिकाका सवाल राजनीतिक दलको नजरमा कम प्राथमिकतामा पर्ने भएकाले नागरिक समाज यसको निरन्तर पैरवीमा लाग्ने बताए । निर्वाचन निगरानी समूहका संयोजक डा. कृष्ण सुवेदीले बालबालिका र विद्यालयलाई कुनै पनि प्रकारको राजनीतिक दुरुपयोग हुन नहुनेमा जोड दिए ।

कार्यक्रममा बाल पैरवी समूहका सदस्य भाइबहिनीहरूले सामूहिक रूपमा सुझावहरू प्रस्तुत गरेका थिए ।


Author

थप समाचार
x