समाज

गोपालदास पत्रकारिता पुरस्कार थापा र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार विद्रोहीलाई

इकागज |
असोज १, २०७९ शनिबार २०:४१ बजे

काठमाडौँ- प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कार र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ ।

काउन्सिलले भदाै ३१ गते विज्ञप्ति जारी गर्दै यस वर्ष गोपालदास पत्रकारिता पुरस्कार अग्रज पत्रकार हरिबहादुर थापालाई प्रदान गर्ने निर्णय गरेकाे छ । काउन्सिलले ५३ औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्ति/संस्थामध्ये थापालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको काउन्सिलले जनाएकाे छ ।


त्यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार माधव विद्रोहीलाई प्रदान गर्ने निर्णय गरेको छ । याे पुरस्कारको राशि एक लाख १० हजार रुपैयाँ रहेको छ । काउन्सिलले प्रदान गर्ने पुरस्कारमध्ये यी दुई ठूला पुरस्कारसहित विभिन्न विधाका पुरस्कारको निर्णय भदौ ३१ मा बसेको बैठकले गरेको हो ।

संसदीय मामला, प्रशासकीय संयन्त्र, जलविद्युत् लगायतका क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार थापा कान्तिपुर दैनिककाे पूर्वसम्पादक, अन्नपूर्ण पोष्ट दैनिककाे पूर्व प्रधानसम्पादक र हाल इकागज अनलाइनका प्रधानसम्पादक हुन् । उनी 'भ्रष्टाचारको शल्यक्रिया', 'विदेशी सहायताका विसङ्गति', 'दलीय द्वन्द्व', 'रजगज', 'राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र' जस्ता पुस्तकका लेखक हुन् ।       

यसैगरी प्रेस काउन्सिल आचारसंहिता पुरस्कार अन्नपूर्ण दैनिक र विरगंजको आवाज एफएमलाई प्रदान गरिने भएको छ । यस वर्षको प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार पत्रकारहरू सुरेन्द्र काफ्ले, दिलबहादुर छन्त्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारीले पाउने भएका छन् । भाषागत पत्रकारिता पुरस्कार टेकराज थामी,  क्रियाशील पत्रकारिता पुरस्कार दामोदरप्रसाद दवाडी,  एकराज पाठक, मनोज जोशी, सुरेश धामी, विमल योगी (विनोद), श्यामनाथ कुँवर, भूपराज खड्का, पुस्कर बुढाथोकी, कृष्ण केसी, र नकुल अर्यालले पाउने भएका छन् ।  

त्यस्तै, युवा पत्रकारिता पुरस्कारबाट प्रदीप परियार, रविन्द्र काफ्ले, शम्भु दङ्गाल, हरिबोल आचार्य, जीवन लामा, टपेन्द्र कार्की, दशरथ घिमिरे, केशर रोका, मकर श्रेष्ठ, खगेन्द्र भण्डारी, डिबी बुढा, राजेन्द्र धामी, महेश केसी र हिमा चेम्जोङ पुरस्कृत हुने छन् ।

साहित्यिक पत्रकारिता पुरस्कार मायामितु न्यौपाने, महिला सशक्तीकरण पत्रकारिता पुरस्कार सञ्चिता घिमिरे, सरिताश्री ज्ञवाली, रमा केसी, र शारदा गैरेले पाउने छन् । समावेशी पत्रकारिता पुरस्कार अजय गोर्खाली, प्रवीणकुमार शर्मा, हेमबहादुर (कमल) राना र सिराज खानलाई दिइने भएको छ ।

र, विधागत पत्रकारिता पुरस्कार विजयरत्न तुलाधर, आनन्द श्रेष्ठ, र जीवन पराजुलीलाई दिइने भएको छ । यस वर्ष प्रेस काउन्सिल नेपाल वर्ष कर्मचारी पुरस्कारबाट वितरण सम्परीक्ष अधिकृत रहमतुल्ला मिया र मिडिया अनुगमनकर्ता लोकराज भट्टलाई प्रदान गरिने भएको छ ।

यस्तै कर्मचारी प्रोत्साहन पुरस्कार मिडिया अनुगमनकर्ता सम्झना पौडेल र कार्यालय सहयोगी विष्णुप्रसाद न्यौपानेलाई दिइने भएको छ । यस वर्ष २० वर्ष सेवावधि पूरा गरेका हलुका सवारी चालक देवीबहादुर रानालाई दीर्घसेवा पदकबाट सम्मानित गरिने भएको छ ।

यही असोज ६ गते काउन्सिलको ५३ औँ वार्षिकोत्सव समारोह राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा हुने काउन्सिलले जनाएकाे छ ।


Author

थप समाचार
x