समाज

पारलैंगिकलाई नागरिकता पाउनै सकस

धनबहादुर गुरुङ |
असोज ७, २०७९ शुक्रबार ७:३८ बजे

पोखरा - काठमाडौंकी एलिना भण्डारी जन्मिँदा छोरी भएर जन्मिइन् । उमेर बढ्दै जाँदा उनलाई छोरा हुन मन लाग्यो । उनी केटीसँग भन्दा बढी केटासँग खेल्न थाले । उनको आचरणमा केटाकै हाउभाउ देखिन थाल्यो । उनलाई पुरुषको बोलीचाली र व्यवहारले आकर्षित गर्न थाल्यो । यौनांग महिलाको भए पनि उनीभित्रको हार्मोन पुरुषको थियो । 

उनले आफूलाई परिवर्तन गराउन प्रयास गरे । सुरुमा पुरुष हर्मोन थेपारी गराए । उनको स्वर परिवर्तन भएर केटाको जस्तै भयो । त्यसपछि उनले स्तन फाले अनि पाठेघर पनि फालिदिए । उनी सबै परिवर्तित भए अर्थात् पुरुष बने । उनले नाम पनि एलिनाबाट एलेन बनाए । 


‘मलाई केटा बन्न मन लाग्यो त्यसपछि मैले पुरुष हार्मोन थेरापी गर्न थालें,’ पोखरामा भएको एक कार्यक्रममा उनले भने, ‘त्यसले मेरो दाह्रीजुंगा पलाउन थाल्यो, स्वर पनि धोद्रो हुन थाल्यो ।’ 

नाम एलेन भए पनि उनी आफूलाई पहिलो ‘ट्रान्सम्यान’ दाबी गर्छन् । निलहिरा समाजका प्रोग्राम अफिसर (कार्यक्रम अधिकृत) समेत रहेका उनले एलिनाबाट लिंग परिवर्तन गरेर एलेन बने पनि नाम परिवर्तन गर्न पनि गाह्रो रहको सुनाए। 

उनले आफ्नो आधिकारिक नाम एलिना भए पनि एलेन भनेर नै आफूलाई चिनाउन रुचाउँछन् । उनी लामो समयदेखि नागरिकताका लागि संघर्ष गर्दै आएका छन् । 

नेपालमा एलेन जस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय (पारलैंगिक) हरू कुनै न कुनै कारण नागरिकताबाट वञ्चित छन् । उनीहरूका लागि खोलिएको संस्था निलहिरा समाजले पनि यसको समाधान गर्न सकेको छैन, संघर्षमै छ ।  

नेपालका पारलैंगिकहरूमध्ये ‘अन्य’ लैंगिक पहिचानबाट १ सय ८३ जनाले नागरिकता लिएका छन् । देशभर उनीहरूको जनसंख्या यती नै रहेको उनीहरू मान्दैनन् । कुनै पनि देशको ५ प्रतिशत पारलैंगिक हुने गरेको निलहिरा समाजले जनाएको छ । 

सोही अनुसार पनि नेपालमा ९ देखि १० लाख पारलैंगिकको जनसंख्या रहेको निलहिरा समाजको आंकलन छ । तर, उनीहरू विविध कारणले पहिचान खुलाउन चाहदैनन् । नेपालमा पारलैंगिकको हक अधिकारका लागि निलहिरा समाजको स्थापना भएको हो । समाजले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आवाज बोलिरहेको छ । 

निलहिरा समाजको दबाब र आवाजकै कारण सर्वोच्च अदालतले पहिलो पटक सन् २००७ मा नागरिकलाई पहिचानसहितको मौलिक अधिकार र स्वतन्त्रताको उपभोग गर्न नदिने सबै कानुन भेदभावपूर्ण मानिने व्याख्या गर्‍यो। 

नेपालमा पारलैंगिक समुदायलाई नागरिकता सन् २०१३ र राहदानी २०१५ बाटमात्रै दिन सुरु गरिएको थियो । तर, उक्त नागरिकता लिन पनि सहज नभएको अधिकारकर्मीको गुनासो छ । हाल नेपालमा यौनिक तथा अल्पसंख्यक व्यक्तिलाई नागरिकतामा ‘अन्य’ भन्दै नागरिकता दिने व्यवस्था छ । नेपालको संविधानको धारा १८ ले पहिचान सहितको नागरिकता उपलब्ध गराउने उल्लेख गरेको छ । तर, उनीहरू अझैपनि पारलैंगिकको पहिचान दिएर नागरिकता दिनबाट बञ्चित छन् । 

नागरिकता बनाउन कै लागि लिंग परिवर्तन गरेको प्रमाण पेस गर्नुपर्ने बाध्यता छ । मेडिकल रिपोर्ट देखाएपछि नागरिकतामा अन्य लेख्न पाइने गरेको नौलो घुम्ती नेपाल, पोखराका कार्यालय प्रमुख रजनी थकालीले बताइन् । सोही कारण पनि अन्य लेखिएको नागरिकता बोक्ने कम भएको उनको भनाइ थियो । 

देशभर एक सय ८३ जनाले नागरिकता लिएको मध्ये कास्कीमा ४५ जना रहेको उनले जानकारी दिइन् । 

नागरिकता लिन कै लागि केहीले नागिंनु परेको उनले बताइन् । जुन अन्यायपूर्ण र मानवअधिकारविरुद्ध रहेको पारलैंगिक समुदायको निष्कर्ष छ । आफ्नो अधिकार लिन पनि उनीहरूले हिंसा सहन बाध्य छन्, उनीहरू । 

विभेदपूर्ण कानुनले आफूहरू अन्यायमा परेको उनी बताउँछिन् । सबै पारलैंगिकले लिंग परिवर्तन गर्नसक्ने अवस्था नरहेको हुँदा पनि यो नियम विभेदकारी रहेको उनको भनाइ छ । ‘हामीले नागरिकता लिँदा नांगो हुनुपर्ने कानुनमा लेखेको छैन । तर, ट्रान्सजेन्डरले नागरिकता लिँदा नाङ्गो हुनुपर्छ। नागरिकता लिँदा हामी नांगिनु पर्ने? सबै ट्रान्सजेन्डरले लिङ्ग परिवर्तन नगर्न सक्छन्,’ उनले भनिन्, ‘आर्थिक स्रोत हुनपर्‍यो। लिङ्ग परिवर्तन कसरी गर्ने दक्ष जनशक्तिको कमी छ। हाम्रो समुदायको आर्थिक अवस्था पनि कमजोर छ। सबै आधारमा हामीलाई विभेद हो।’

नागरिकताका लागि निवस्त्र हुनुपर्ने बाध्यताले आत्मसम्मानमाथिको प्रहार भएको निलहिरा समाजका कार्यक्रम अधिकृत एलेन भण्डारीले बताए । उनीहरूले सकेसम्म एजबीटीआईक्यू कै नाममा नभए अन्यमै भए पनि नागरिकता पाउनुपर्ने माग गर्छन् । 

‘हामीलाई मिलेसम्म हाम्रै पहिचानको नागरिकता चाहिन्छ हामीले त्यसकै लागि संघर्ष गरिरहेका छौं,’ उनले भने, ‘माथिबाट हाम्रो प्रकार नागरिकतामा राख्दा लामो भयो भन्ने प्रतिक्रिया दिनुहुन्छ त्यसैले अन्य लेखिएको हो । हामी हाम्रो पहिचानका लागि संघर्षमै छौं ।’ 


Author

थप समाचार
x