समाज

पोखरा विमान दुर्घटना

'किन यति तल आयो भनेर हेर्दा हेर्दै विमान भुइँमा धस्रियाे'

धनबहादुर गुरुङ |
माघ १, २०७९ आइतबार १७:५५ बजे

पोखरा- काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एनएएनसी एटीआर-७२-५०० विमान आइतबार पोखरा विमानस्थल नजिक दुर्घटना भएको छ । काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको विमान पोखरा महानगरपालिका–७ र १५ को बीचमा रहेको खोंचमा खसेको थियो ।

यती एयरलाइन्सका अनुसार चालक दलका चारसहित ७२ जना सवार विमान दुर्घटनामा परेको हो । दुर्घटना पछि जहाजको केही टुक्रा किनारै रहेको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ । स्थानीय नारायण गुरुङले दुर्घटनापछि हेर्न जाँदा सेतीको खोंचमा जहाज जलिरहेको र केही टुक्रा किनारमै भेटिएको बताए ।


‘हामी त बाहिर बसिरहेका थियौं जहाज त एकदमै होचो गरेर आयो । किन यति तल आयो भनेर हेर्दा हेर्दै भुइँमा धस्रिहाल्यो,’ उनले भने, ‘त्यसपछि एकैछिनमा धुँवाको मुस्लो देखिहालियो । हेर्न जाँदा त जहाज खोंचमा जलिरहेको थियो एउटा पखेटा र भर्‍याङ त वारी नै थियो ।’

जहाज खोंचमा खसेकाले बस्ती जोगिएको उनको भनाइ थियो । ‘धन्न हाम्रै घरमाथि खसेन जहाजको क्षति त हुन्थ्यो नै हामी पनि ठूलो कालले बाँचियो,’ उनले भने ।

आगो बल्न थालेपछि बाल्टीमा पानी लिएर गए पनि उद्धार गर्न नसकेको उनले बताए ।

‘मैले लौ लौ जहाज खस्यो गुहार गुहार भनेपछि सबै जम्मा भइहाल्यो,’ उनले भने, ‘सक्ने उद्धार गर्न तिर लागे हामी नसक्नेहरू केही नहोस् हे भगवान भन्दै पुकार्दै बस्यौं ।’ 


 


Author

थप समाचार
x