एआईजी ज्ञवालीको नियुक्तिमा भेटिएन कानुनी त्रुटि

फाइल फोटो
काठमाडौँ- अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियालाई लिएर गृह मन्त्रालय र महान्यायाधीवक्ता कार्यालयले चासो व्यक्त गरेका छन् । गृह मन्त्रालय स्रोतले प्रहरी महानिरिक्षकका लागि अन्य एआईजीसरह ज्ञवालीपनि योग्य रहेको बताएको छ ।
नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक जन्ममिती रहेको र सेवा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको भन्दै उनी विरुद्ध उजुरी परेको थियो । उजुरी सम्बन्धमा छानबिन गरेको गृहले प्रहरी विनियमावलीको तत्कालीन व्यवस्था अनुसार नै ज्ञवाली भर्ना भएको देखिएको निष्कर्ष निकालेको छ ।
भर्ना हुँदाको समयमा अर्कै व्यवस्था रहेकोमा अहिलेको नियमावलीसँग तुलना गर्नु तर्कसंगत नहुने गृहका एक अधिकारीले बताएका छन् । ‘कसैले उजुरी गर्दैमा कोही दोषी ठहरिने होइन, महानिरीक्षक नियुक्तिको बेला बिबाद निकाल्नु उपयुक्त होइन’ गृह स्रोतले भन्यो । डीआईजीबाट एआईजीमा बढुवा भएका पाँच जना भावी एआईजी लागि प्रतिष्पर्धी छन् ।
पाँच एआईजीले बुधबार महानिरीक्षकबाट फुलि लगाएका छन् । महानिरीक्षक धिरजप्रताप सिंह लगायत एआईजीले बुधबार नै ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरिसकेको छ ।
इकागजले यसअघि पनि ज्ञवालीको नागरिकता विवाद नभएको भनी समाचार प्रकाशन गरेको थियो ।
के हो ज्ञवालीको विबाद ?
एआईजी ज्ञवालीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति फरक फरक छ । शैक्षिक प्रमाणपत्रमा ज्ञवालीको जन्म मिति २०२५ भदौ २६ गते छ भने नागरिकतामा २०२४ चैत २१ देखिएको छ ।
एआईजी ज्ञवालीले २०५० साल पुष ९ गते भर्नाका लागि खुलाएको विज्ञापनमा आवेदन दिएर भर्ना भएका थिए । २५ वर्ष नाघेपछि भर्ना हुन नमिल्ने भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
प्रहरी नियमावली २०७१ ले प्रहरी निरीक्षकमा भर्ना हुने योग्यताअनुसार उमेरको विवरणमा दरखास्त फारम दर्ता हुने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको उल्लेख गरेको छ ।
अहिलेको नियमावलीलाई आधार मानेर हेर्दा उनी अयोग्य ठहरिन्छन् । तर,ज्ञवाली प्रहरी निरीक्षकमा भर्ना हुँदा कायम रहेको नियमावली अनुसार उनको भर्नामा कुनै त्रुटी देखिँदैन ।
प्रहरी नियमावली २०४९ को दफा १३ मा प्रहरी निरीक्षकमा भर्ना हुन चाहिने योग्यताका बारेमा उल्लेख गरिएको छ । प्रहरी नियमावली २०४९ को दफा १३ (क) मा ‘छनौट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष उमेर ननाघेको’ हुनुपर्ने लेखिएको छ ।
२०७१ सालको संशोधनमा ‘दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको नेपाली नागरिक’ भनेर बनाइएको छ। २०४९ को नियमावलीमा प्रष्ट रुपमा भर्ना हुने सालको वैशाखको १ गतेलाई आधार मानिएको छ ।
जसअनुसार ज्ञवालीले २०५० मंसिरमा प्रहरी निरीक्षकमा दरखास्त दिए पनि उमेरको हिसाब भने २०५० वैशाख १ गते २५ वर्ष ननाघेको हुनुपर्ने हुन्छ ।
नियमावलीअनुसार वैशाख १ गते ज्ञवालीको उमेर २४ वर्ष ५ महिना हुन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया