समाज

चैती छठ : अस्ताउँदो सूर्यलाई अर्घ्य

इकागज |
चैत १३, २०७९ सोमबार १८:८ बजे

काठमाडौँ- चैते दशैँको छैठौँ दिन मिथिलाञ्चलमा आज चैती छठ पर्व मनाइँदैछ । छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई व्रतालुहरूले आज अर्घ्य अर्पण गर्दछन् ।

गत शुक्रबारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ । मंगलबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ ।


कार्तिक महिनामा मनाइने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजनहरू नभए पनि बिस्तारै चैती छठ पर्व गर्नेहरूको संख्या पनि बढ्दै गइरहेको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ । खरनाको अवसरमा ब्रतालुहरूले निराहार उपवास बसि साँझपख षष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर, केरा, दूध एवं विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ ।

पर्वको तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन ब्रतालुहरूले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि नै ब्रतालुहरू पोखरीमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ्य दिने गर्दछन् । अर्घ्यमा मुला, उखु, भाण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लगायतका सामग्रीहरू चढाउने गरिन्छ ।

सन्ध्या अर्घ्य पश्चात रातभर ब्रतालुहरू जाग्राम बसि भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गर्ने परम्परा रहेको छ ।


Author

थप समाचार
x