समाज

पेशा होइन सेवा गर्ने वकिल !

जसलाई पीडित महिलाहरू भगवान् मान्छन्

लक्ष्मी भण्डारी |
बैशाख १९, २०८० मंगलबार २०:११ बजे

सुर्खेत- बुवाबाट बलात्कार भएपछि दैलेखकी एक किशोरी न्याय माग्दै गीता समक्ष आइन् । १७ वर्षीया ती किशोरी शरीरमा एक जोड कपडा बाहेक उनीसँग केही थिएन । उनको मुद्दा लेखिदिन अन्य वकिलहरू पछाडि हटे, कारण थियो किशोरीको आर्थिक अभाव । तर, अधिवक्ता गीता कोइरालाले ती किशोरीको मुद्दा लेखिदिने मात्र होइन उनको सुरक्षित बसाइँ र पढ्ने वातावरणको समेत व्यवस्था गरिदिइन् ।

वीरेन्द्रनगर बजारमा बस्नलाई कोठा र उनलाई त्यहाँ बस्नलाई सम्पूर्ण सामग्री जुटाएपछि ती किशोरीले परीक्षा पनि दिइन् । अहिले ती किशोरीले मुद्दा जितेकी छिन् । आफ्नो सामान्य खर्च जुटाउने गरी रोजगारमा समेत लागेकी छिन् ।


६ महिनाकी छोरीसँग घण्टाघर छेउकै सडकमा भेटिइन् २२ वर्षीया रीता पौडेल । खान नपाएकाले बच्चाले हातका औँला चुसेको थियो । दुब्लो र कमजोर शरीर भएरै होला रीता कापेकी थिइन् । असार महिनाको दोस्रो साता रीतालाई बिजोग अवस्थामा भेटेपछि अधिवक्ता गीता कोराइरालाले नजिकै आफ्नो अफिसमा लगेर राखिन् । रीता र उनको बच्चालाई खाजा खुवाएपछि रीताले आफ्नो घटनाक्रम सुनाइन् ।

आफूमाथि भएको हिंसाबाट फुत्केर उनी एक महिनाअघि भौतारिएर हिँडेकी रहिछिन् । सुरुवातमा रीता र बच्चाको व्यवस्थापन गरेपछि मात्र गीताले उनको निःशुल्क रूपमा कानुनी प्रक्रियालाई अगाडि बढाइन् । उनले जाहेरी लेखे बापतको पैसा त परै जाओस् आफूसँग भएका कपडा र खानाको व्यवस्था गरिन् । त्यति मात्र होइन आफूले चिनजान भएकासँग रीतालाई सहयोग गर्न अनुरोध पनि गरिन् । अहिले रीतालाई स्थानीय एक संस्थामा रोजगारीको व्यवस्थापन गरेपछि रीताको जीवनमा कायापलट नै भएको छ । रीता भन्छिन्, ‘हाम्रो भगवान् गीता म्याम हो ।’

कतिपय वकिलहरू आफ्नो स्वार्थका निम्ति मुद्दा बंग्याउन पछि पर्दैनन् तर, यही समाजमा पनि यस्ता वकिल छन् जसले पेशाभन्दा पनि सेवामुखी भएर काम गरिरहेका छन् । पीडितको मलमका रूपमा स्थापित बनेका छन्, उनी हुन् सुर्खेत वीरेन्द्रनगरकी अधिवक्ता गीता कोइराला

 न्यायका लागि उनीसँग आउने पीडितहरूको जाहेरी लेखे बापत पैसा लिन त परै जाओस् उनीहरूलाई सहयोग र हेरचाह समेत गर्न भ्याउँछिन् । त्यसैले सबै पीडितको रोजाइमा उनी परेकी छन् ।

गत वर्ष चैत अन्तिम साता वीरेन्द्रनगर-४ की एक ३५ वर्षीया सुत्केरीलाई घरबाट निकालियाे । सुत्केरी अवस्थामा पेटभरी पनि खान पाइनन् । छोरी जन्माएको निहुँमा उनका श्रीमानले निकालेपछि उनी सडकमा आइन् । अधिवक्ता गीताले पीडितलाई सहयोग गर्छिन् भन्ने सुनेर गीताको ठेगाना खोज्दै उनी आइपुगिन् । गीताले ती सुत्केरी र उनको बच्चालाई केही दिन आफ्नै घरमा राखेर हेरचाह गरिन् । निःशुल्क जाहेरी लेखेर कानुनी प्रक्रिया अगाडि बढाइन् ।

एक महिना अघि श्रीमानको कुटाइबाट रगताम्मे भएर वीरेन्द्रनगरकी कमला सुनार न्याय खोज्दै घर छोडेर निस्किन् । न्याय माग्न कहाँ जाने अन्योलमा थिइन् उनी । पाठेघर पीडित ती महिला विगत एक वर्षदेखि आफन्तकहाँ लुक्दै बसेकी रहिछिन् । उनका छिमेकहरूले गीताकहाँ ल्याएपछि उनको निःशुल्क रूपमा कानुनी प्रक्रियामा लगिन् । उनको श्रीमानबाट अलग भएर बस्ने चाहना छ । भन्छिन्, ‘अहिले आएर मैले भगवान् भेटेँ ।’

यी त प्रतिनिधि महिला मात्र हुन् जो न्याय खोज्दै आउँछन् र आँशु पुछ्ने सहारा पाउँछन् ।

सुर्खेतको वीरेन्द्रनगरमा जन्मिएर हुर्किएकी उनको सानैदेखि फरक स्वभाव थियो । उनको चाहना थियो मानव सेवा गर्ने । जसको निम्ति उनी बालापनदेखि नै यो स्वभाव व्यवहारमा व्यक्त गर्दथिन् । बालापनदेखि नै दिनदुःखीको सहयोग गर्दै आएकी उनले मानव सेवा गर्ने अठोट बोकिन् । न्याय सेवा तिर उनको बढी झुकाव थियो । बुवाको पनि छोरीलाई न्यायतिर लैजाने सोच थियो । त्यसमाथि उनले कानुनी अनविज्ञताका कारण पीडितहरूले न्याय नपाएको देख्थिन् र उनको मन जलेर आउँथ्यो र कानुन पढ्नै पर्छ भन्ने जलन भएर आयो । यही जलन पूरा गर्न उनले कानुन विषय रोजिन् ।

कानुनमा स्नातकोत्तर गरेपछि २०५५ सालयता उनी न्यायका निम्ति काम गर्दै आइरहेकी छिन् । केही समय विभिन्न मानवअधिकारवादी संघसंस्थामा संलग्न रहँदै आएकी गीता विगत सात वर्षयता गीताञ्जली ल फर्म सञ्चालन गर्दै आइरहेकी छिन् । उनी आफ्नो फर्म सञ्चालन मात्र होइन दुःखी र हिंसापीडित महिलाहरूका लागि मलम बनेकी छन् । जब उनी सामु न्यायका लागि जाहेरी लेखाउन आउँछन् तब उनी पीडितसँग बसेर छलफल गर्छिन् । हिंसापीडित महिलाहरूको पीडा सुनेपछि उनको मन परिवर्तन हुन्छ र जाहेरी निःशुल्क लेख्छिन् ।

त्यतिमात्र होइन कतिपय महिलालाई घरमै बसालेर कयौँ दिनसम्म खाना खुवाएर पठाउँछिन् । उनीहरूका कपडा नभए दिएर पठाउँछिन् भने कतिपयलाई औषधि समेत गर्नुपर्ने अवस्था आउँछ ।

‘न्यायका लागि आउने महिलाहरू बिजोग अवस्थामा देख्छु अनि उनीहरूको जाहेरी लेखिदिए बापत रकम लिन मन लाग्दैन,’ उनी भन्छिन्, ‘सुत्केरी महिला बच्चा समाएर पनि जाहेरी लेखाउन आउँछन् उनीहरू खाना खान नपाएर बच्चालाई दूध नआएको हुन्छ अनि उनीहरूको समस्या देख्दा आफ्नै मन रुन्छ र सहयोग गर्न मन लाग्छ ।’

धेरैजसो आफूकहाँ महिला हिंसा, बलात्कारका घटनाहरू आउने गरेको गीताले बताइन् । बलात्कारमा पनि आफ्नै नातेदारबाट भएका छन् भने कतिपय अवस्थामा विवाह गर्ने सर्तमा बलात्कार भएपछि उनीहरूबाट जन्मिएका बच्चालाई स्वीकार नगरेको अवस्था छ । यसमा कुमारी आमाको दर्दनाक अवस्था छ भने अर्काेतिर उनीहरूबाट जन्मिएको बच्चाको बिचल्ली भएको अवस्था । यस्ता बिजोग अवस्थाका किशोरी आमा र बच्चाको सहयोग जुटाउने मात्र होइन आफैँले पालनपोषण गरेर धेरैको उद्धार समेत गरेकी छिन् ।

कतिपय यस्ता किशोरीहरूलाई आत्महत्या गर्नबाट समेत जोगाएर पुनर्जीवन दिएकी छन् ।

आफूसँग भएसम्म सहयोग गर्छिन् र नभए कुनै संघसंस्थामा पठाउने तथा सहयोगी निकाय खोजेर भए पनि पीडितलाई व्यवस्थापन गर्ने गर्छिन् गीता । ‘मानव सेवाभन्दा ठूलो धर्म केही छैन,’ उनी भन्छिन्, ‘वकिल होइन सामाजिक वकिल बनेर सेवा गर्ने रहर छ ।’

कतिपय पीडितहरू पीडामुक्त भएपछि उनलाई भेट्न आउँछन् र भन्छन्, ‘मेरा लागि हजुर ने भगवान् हुनुभयो ।’

यतिबेला उनलाई स्वर्गीय आनन्दको अनुभव हुन्छ । अनि भन्छिन्, ‘संसारमा यो भन्दा ठूलो खुसी कहाँ हुन्छ र ।’ 

यही सेवामुखी भएर काम गर्दै आएकी अधिवक्ता गीताले पीडितको आर्शीवाद मात्र होइन सम्मानित हुने अवसर समेत पाएकी छिन् । उनी मंगलबार विरगञ्जमा सम्पन्न कानुन व्यवसायी महिलाहरूको ३० औं राष्ट्रिय सम्मेलनमा सम्मानित भएकी छिन् ।


Author

थप समाचार
x