समाज

कोशी प्रदेशको पुनःनामकरणको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा

'शीर्ष नेताहरूलाई होटलमा बस्न र कार्यक्रम गर्न हल नदिने'

इकागज |
बैशाख २५, २०८० सोमबार १६:५८ बजे

काठमाडौँ- कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनको कार्यक्रमहरू घोषणा गरिएको छ । कोशी प्रदेश नाम खारेजी र पुनः नामकरणको माग गर्दै आन्दोलित भइरहेको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनको कार्यक्रमहरूमा कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरू र दलका शीर्ष नेताहरूका विरुद्धमा विरोध जारी रहेको भूमिमा उनीहरूलाई बहिष्कार गर्ने उल्लेख गरिएको छ । त्यस्तै वैशाख २६ गते झापाको दमकमा सांकेतिक राँके जुलुस प्रदर्शन गरिने भएको छ ।


त्यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद र उनीहरूका शीर्ष नेता हिँड्ने बाटो, बस्ने होटल, खाने स्थानदेखि उनीहरू सहभागी हुने कार्यक्रम तथा बैठक स्थलहरूमा विरोधको कार्यक्रम गरिने किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले बताए । नेताहरूलाई होटलमा बस्न र कार्यक्रम गर्न हल नदिनका लागि सम्बन्धित पक्षहरूलाई अनुरोध गर्ने समेत उनले जानकारी दिए ।

त्यस्तै, वैशाख २८ गतेदेखि जिल्लाहरूमा आमसभा, सङ्घर्ष समिति बिस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने जनाइएको छ ।

आन्दोलनका अन्य कार्यक्रमहरूमा जेठ २ देखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तीब्रता दिने, जेठ दोस्रो हप्ता सङ्घर्ष समितिका केन्द्र, जिल्ला र स्थानीय निकायका सबै नेतृत्व पंक्तिको वृहत् भेला आयोजना गर्ने, आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानका लागि युवा’ शक्ति निर्माण गर्ने र प्रदेश सभा केन्द्रित विशाल जनप्रदर्शनको तयारी गर्ने अध्यक्ष राईले जानकारी दिए ।


Author

थप समाचार
x