समाज

नक्कली भुटानी शरणार्थी प्रकरण :पक्राउ परेका 'हाइ प्रोफाइल'हरू को कस्ता थिए ?

अतिन आचार्य |
बैशाख २७, २०८० बुधबार १४:५३ बजे

काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने ठगी धन्दामा पक्राउ पर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । सामान्यदेखि हाइ प्रोफाइल व्यक्तिहरू समेत पक्राउ पर्न थालेका छन् ।

यो प्रकरणको सबैभन्दा रोचक पक्ष भनेको उच्च तहका व्यक्तिहरू संलग्न हुनु नै हो । जो राजनीतिको केन्द्र वरिपरि र शक्तिसँग नजिक थिए । जसले विभिन्न समयमा रहँदा आफू अनुकुल निर्णय गराएर भुटानी शरणार्थी प्रकरणमा सहयोग गरेको खुलेको छ ।


त्यसैले पनि आज (बुधबार) मात्र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका निजी स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका हुन् । हालसम्म हाइ प्रोफाइलका व्यक्तिहरू पक्राउ हुने क्रम जारी छ । जसमा पूर्वगृहमन्त्री खाणसहित सचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परिसकेका छन् ।

खाण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनी पार्टीभित्र शक्तिको केन्द्रमा रहेर पटक-पटक सुविधा लिने नेताको रुपमा लिइन्छ। हालसम्म उनी चारपटक चार पटक मन्त्री भइसकेका छन् । शक्तिको नजिक रहेर श्रीमती मञ्जु खाणलाई समेत समानुपातिक कोटाबाट सांसद बनाएका छन् ।

खाणले सिचाइ मन्त्रालय, रक्षा मन्त्रालय र गृहमन्त्रालय सम्हालिसकेका छन् । गृहमन्त्री दुई पटकसम्म भइसकेका छन् । २०५४ सालमा कांग्रेसको अर्को भातृसंस्था नेपाल तरुणदलको केन्द्रीय अध्यक्ष भएका थिए । २०५६ साल यता उनी कांग्रेसको केन्द्रीय सदस्य छन्। 

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा विज्ञ  इन्द्रजित राई पनि यतिखेर प्रहरी हिरासतमा नै छन् । पहिलो संविधान सभामा राई माओवादीको समानुपातिक कोटाबाट सभासद बनेका थिए ।

उनी तत्कालीन राजपरिवारको निकट मानिन्छन् । उनीसँग आर्मी स्टाफ कलेजमा प्रशिक्षण दिएको अनुभवसँग छ । माओवादी र नेपाली सेना समायोजन विशेष समितिमा उनले पार्टीका तर्फबाट व्यवस्थापकीय भूमिका खेलेका थिए ।

टेकनारायण पाण्डेलाई सरकारको उच्च तहको कर्मचारीको रुपमा लिइन्छ। उनी पनि यतिखेर प्रहरी हिरासतमा छन् । उनले विभिन्न मन्त्रालयमा सचिव जस्तो जिम्मेवारी पद सम्हालिसकेका छन् ।

पछिल्लो पटक पाण्डे उपराष्ट्रपतिको कार्यालयमा सचिवको रुपमा कार्यरत थिए । उनी गृह मन्त्रालयमा रहँदा शरणार्थी प्रकरणमा उनले सहयोग गरेको प्रमाणपछि प्रहरीले उनलाई पकाउ गरेको थियो ।

शरणार्थी प्रकरणमा पक्राउ परेका विभिन्न व्यक्तिहरूले दिएको बयानका आधारमा पाण्डेको नाम लिएपछि उनी पक्राउ परेका हुन् ।

सोधपुछकै क्रममा अर्का नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीको नाम खुलेपछि उनी भने फरार छन् । रायमाझी लामोसमय माओवादीकाे  सशस्त्र युद्धमा सामेल भएका व्यक्ति हुन् ।

उनी माओवादीमा रहँदा प्रचण्ड पुष्पकमल दाहाल निकट थिए । माओवादीमा रहँदा पटक-पटक मन्त्री भइसकेका छन् । नेकपा एमाले र माओवादी एक भएपछि नेकपा बन्दा उनी भने एमाले अध्यक्षसँग नजिक भए । पछि अदालतको निर्णयले  पार्टी अलग भएपछि पुनःस्थापित एमालेमा उनी बसेका थिए ।

रायमाझीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । उपप्रधानमन्त्रीसहित सोही मन्त्रालय उनले सम्हालिसकेका थिए । उनी यसपटक अर्घाखाँचीबाट निर्वाचित भएका हुन् । 

अनुसन्धान गर्दा हिरासतमा रहेका व्यक्तिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र मञ्जु खाणकोसमेत नाम लिएका छन् । उनीहरूविरुद्ध पनि प्रहरीले प्रमाण जुटाइरहेको छ । 

मंगलबार मात्र थप दुई जना पक्राउ परेका थिए । काठमाडौँ टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् । दुवै जनालाई  उपत्यका अपराध अनुसन्धान काठमाडौंको टोलीले पक्राउ गरेको थियो ।

यसअघि पूर्वगृहमन्त्री भएका थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,  सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् ।

त्यसैगरी, सोही प्रकरणमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भएका केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका-७ घर भएका टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परिसकेका छन् ।

यस प्रकरणमा फरार सूचीमा रहेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा र हिरासतमा रहेका इन्द्रजीत राईका छोरा निरज राईसमेत फरार रहेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने प्रलोभनमा गिरोहले पीडितसँग १० देखि ५० लाखसम्म रकम उठाएको उजुरी प्रहरीमा परिसकेको छ । एक सय भन्दा बढी पीडितले प्रहरीकामा निवेदन दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झापा, सुनसरी, मोरङ, कास्की, अर्घाखाँची र दाङ लगायतका मानिसहरू पीडित बनेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x