समाज

कपिलवस्तुका उखु किसान काठमाडौँमा धर्ना बस्न बाध्य

इकागज |
जेठ ६, २०८० शनिबार १५:१० बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले अनुदान नदिएपछि कपिलवस्तुका उखु किसानहरू काठमाडौँमा धर्नामा बस्न बाध्य भएका छन् ।

२०७१ सालमा उखुमा दिने भनिएको अनुदान आफूहरूले मात्रै नपाएपछि काठमाडौँको माइतीघर मण्डलामा आएर धर्नामा बस्न बाध्य हुनुपरेको कपिलवस्तु उखु किसान संघर्ष समितिका सदस्य रामलाल कलवारले जानकारी दिए ।


२०७१ सालमा सरकारले उखु किसानहरूलाई प्रतिक्वीटल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर, सो रकम अझसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा उनीहरू काठमाडौँ आएका हुन् । अनुदानको रकम लिनका लागि जिल्ला प्रशासन कार्यालयमा दिइएको दबाब काम नलागेपछि काठमाडौँमा आएर धर्नामा बस्नुपरेको संघर्ष समितिका सदस्य कलवारले बताए । 

उनले आफूहरूलाई सो अनुदान नदिएसम्म धर्नाको कार्यक्रम अन्त्य नगर्ने चेतावनी समेत दिए । उनीहरूले अन्य जिल्लालाई दिइएको त्यो अनुदानको वापतको रकम आफूलाई नदिएको भन्दै ५ दिनयता काठमाडौँमा धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । तर, सरकारले कुनै सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । 


Author

थप समाचार
x