समाज

मधेशमा बाढीको कहर : एकको मृत्यु, तीनजना बेपत्ता

कयौं ठाउँमा डुबान

सुभाष कर्ण |
साउन २३, २०८० मंगलबार २१:५० बजे

जनकपुरधाम- लामो समयदेखि वर्षा नभएका कारण मधेश प्रदेशमा खडेरी नै परेको थियो । तर, साेमबारदेखि भएको वर्षाले मधेशमा बाढीको कहर नै आएको अवस्था छ ।

हिजोदेखि परेको अविरल वर्षाले नदीहरूमा पानीको बहाव बढेपछि मधेशका कयौं ठाउँमा हाइअलर्ट घोषणा गरिएको छ । पहाडमा समेत अविरल वर्षा भएपछि नदीहरूमा भएको उच्च बहावले धनुषासहित मधेशका कयौं जिल्लामा जलमग्न भई गाउँहरू डुबानमा परेको छ भने कयौं स्थान डुबानको खतरामा परेको छ ।


अविरल वर्षाका कारण धनुषाको नदीहरूमा बढेको बहावका कारण आएको बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने एक दम्पती बाढीमा बगेर बेपत्ता भएका छन् । प्राप्त जानकारी अनुसार मिथिला नगरपालिकास्थित बसही खोलाले बगाउँदा आनन्दपुर बस्ने अजयकुमार यादवको मृत्यु भएको हो । गाउँ नजिकै रहेको बसही खोलाले बगाउँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिओअक कार्कीले जनाएका छन् ।

मंगलबार विहान शौच गर्न गएका उनलाई खुट्टा चिप्लिएर बाढीले बगाएको प्रहरीले जनाएको छ । स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उनलाई उद्धार गरिए पनि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै धनुषाको कमला नदीमा आएको बाढीमा एक दम्पती बेपत्ता भएका छन् । मंगलबार दिउँसो कमला नदीमा बगेको दाउरा निकाल्ने क्रममा श्रीमान्-श्रीमती बेपत्ता भएका हुन् । गणेशमानचारनाथ नगरपालिका-७ पोर्ताहा ब्यारेज नजिक स्थानीय ३५ वर्षीय साजन परियार र माया परियारलाई नदीले बेपत्ता बनाएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

बेपत्ता भएका श्रीमान्-श्रीमतीलाई खोजी गर्नका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । अविरल वर्षासँगै कमला नदीमा पानीको सतह बढिरहेको छ । स्थानीय प्रशासनले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । हालसम्म नदीको बहाव सामान्य रहे पनि सिन्धुलीतिर अझै वर्षा भइरहेकाले जलस्तर अझ बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

उनका अनुसार अहिलेसम्म जोखिमको अवस्था भने छैन । गणेशमान चारनाथ नगरपालिका–८, पोर्ताहामा पुरानो बस्तीमा भएको एउटा फुसको घरमा सामान्य क्षति भएको उनले बताए । पानीले घरको भित्ता भत्किँदा घरधनी कमल पासमान सामान्य घाइते भएको प्रजिअ दाहालको भनाइ छ ।

कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।

यता, महोत्तरीको कयौं ठाउँ डुबानमा परेका छा् भने बाढीमा बगेर एक जना बेपत्ता भएका छन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले दिएको जानकारी अनुसार रातो खोलामा आएको बाढीका कारण बलवा नगरपालिकाको वडा नम्बर १ बन्चौरीमा कटान गरी केही घरमा पानी पसेको छ ।

यस्तै लोहारपट्टी नगरपालिका-४ र भंगहा नगरपालिका बर्दिबास नगरपालिकामा समेत कयौं ठाउँमा रातो नदीले कटान गरेको छ । जिल्लाको सोनमा गाउँपालिकाको रघुनाथपुर गाउँस्थित खोलामा बगेर ३८ वर्षीय जाबिर अन्सारी भन्ने व्यक्ति बेपत्ता भएको खबर आएको र उनको उद्धार गर्न खोजी कार्य जारी रहेको प्रजिअ पहाडीले बताए ।

जिल्लामा बाढीबाट हुने क्षतिको जोखिम नियन्त्रणका लागि जिल्ला विपत व्यवस्थापन समितिले उद्धार टोली र राहत सामग्री वितरण तयार अवस्थामा राख्ने निर्णय भएको उनले उल्लेख गरे ।   

त्यस्तै सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती र लालबकैया नदीको बाढीले खतराको तह पार गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । उनले बागमती र लालबकैया त्यस आसपास बस्ने स्थानीवासीहरूलाई सतर्कता अपनाउन उनले आग्रह गरे ।

उनका अनुसार जिल्लामा अहिलेसम्म बाँध भत्केको अथवा डुबानमा परेको अवस्था छैन । तर, पनि वृन्दावन नगरपालिका वडा नं १ मा बागमती खोलाको स्थान ठूलो रहेकाले साे आसपासका स्थानीयहरू प्रभावित भएको जानकारी आएको उनले जनाएका छन् । त्यस आसपास तटबन्ध खोलापट्टी घर बनाएर १५–२० जना बसिरहेका छन् । उनीहरू डुबानमा पर्ने बुझिएकाले त्यहाँ उद्धार टोली पठाइएको प्रजिअ मिश्रले बताए ।

बागमतीमा नदीमा पानीको सतह बढेपछि ब्यारेजको ३५ वटै ढोका खोलिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार बागमती नदीमा खतराको तह ६.८ मिटर पार गरेर ७.८१ मिटर पुगेको र अझै बाढी बढिरहेको देखाएको छ । तर, अहिलेसम्म जिल्लामा बाढीले खासै क्षति भएको छैन । बाराको बकैया खोलामा समेत बाढी आएको छ । जसका कारण आसपासका बस्तीहरू जोखिममा परेका छन् ।

यस्तै धनसार, शक्ति, बगर खोला र भमरा खोलामा पनि पानीको बहाव ह्वातै बढेर कटान सुरु गरेसँगै स्थानीय प्रशासन र सुरक्षाकर्मीको टोलीले तत्कालका लागि तारजाली लगाउने काम सुरु गरेको छ ।

निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले तत्कालका लागि विपतबाट बच्न स्थानीय प्रहरी, प्रशासनको सहयोगमा बकैया खोलाको ३ सय मिटर उत्तरतर्फ तारजाली लगाउने काम भइरहेको जानकारी दिए ।

बाराको १६ वटा पालिकामध्ये उत्तरमा चुरेभावरसँग जोडिएको निजगढ नगरपालिकाभित्र मात्रै साना–ठूला गरी एक दर्जन बढी खोलाहरू छन् । जसमा वर्षाले सबैभन्दा छिटो नोक्सान पुर्याउने गर्दछ ।  प्रमुख पुरीले बाढी बस्तीमा पस्नबाट जोगाउन तत्कालै विपत व्यवस्थापन समितिको बैठक बसेर ठोस् निर्णय गर्ने बताए ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले लगातारको वर्षाले निजगढ नगरपालिका र आदर्शको तवाल गाउँपालिकामा केही क्षति भए पनि अन्यत्र भने अवस्था सामान्य रहेको जानकारी दिए । प्रजिअ सापकोटाले बुधबार जिल्ला विपत व्यवस्थापन समितिको बैठक बसेर जोखिमका आधारमा थप निर्णय गर्ने बताए ।

त्यस्तै लगातारको वर्षापछि चन्द्रपुर–१ स्थित बागमती नदीमा आएको बाढीले मंगलबार नुनथर क्षेत्र डुबानमा पारेको छ । वर्षाले अन्य भागको जनजीवन समेत प्रभावित भएको छ । लालबकैया र बागमतीमा पानीको सतह बढेको स्थानीय प्रशासनले जनाएको छ । प्रशासन र सुरक्षा अधिकारीको टोली डुबान र बाढी आउन सक्ने क्षेत्रको निरीक्षणका लागि निस्किएको छ ।

नुनथर क्षेत्रको पूर्वपट्टी रहेका पसल, घरहरू डुबानमा परेका छन् भने अहिले त्यस क्षेत्रका स्थानीय पश्चिमतर्फको अग्लो क्षेत्रमा बसेका छन् । बागमती नदीमा आएको बाढीले नुनथर क्षेत्र डुबानमा पारेको इलाका प्रहरी चन्द्रनिगाहापुरले जानकारी दिएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x