समाज

सडक अनुशासन तोड्नेमा शिक्षित युवा अगाडि, प्रहरीलाई सम्झाउन सास्ती

अतिन आचार्य |
भदौ २, २०८० शनिबार ९:८ बजे

काठमाडौँ- दिनेश कोइराला बानेश्‍वरको थापागाउँमा बस्छन् । उनी विदेश अध्ययन गर्न जाने तयारीमा छन् । उनी यसका लागि एक साताअघि मात्र सर्लाहीबाट काठमाडौँ आएका हुन् ।

२० वर्षीय दिनेशको दिनचर्या कन्सल्टेन्सी खोज्नमा बितिरहेको छ । उनको पहिलो यात्रा बानेश्वरबाट हुन्छ । उनी बानेश्वर हुँदै बागबजार, पुतलीसडक धाउँछन् । शुक्रबार बिहान भने बानेश्वरमा उनले सोचेको भन्दा फरक अनुभव भोग्नुपर्‍यो ।


आकाशे पुल मुनि उनी नेपाल प्रहरीको फन्दामा परे । उनी अलमल्लिए । आमुन्ने सामुन्ने र मुखामुख गरे । एकछिन उनी रोकिए ।

प्रहरीको हातमा प्ले कार्ड थियो । हातमा भएको कार्डमा लेखिएको थियो,’ आकाशे पुलको प्रयोग गरौँ । आफ्नो यात्रा सुरक्षित गरौ ।‘ त्यतिमात्र नभई शरीरमा जेब्रा क्रसिङको प्रयोग गरौँ र आकाशे पुलको प्रयोग गरौँ लेखिएको ब्यानर पनि झुण्डिएको थियो ।

तर विदेश जाने ध्याउन्नमा रहेका उनले न प्रहरीको प्ले कार्ड देखे न शरीरमा टाँसिएको सन्देश । यो नदेख्दा उनी प्रहरीको कारबाहीमा परे । आकाशे पुल छाडेर जथाभावी बाटो काटिरहेका उनलाई प्रहरीले च्याप्प समाते र बीच सडकमा उभ्याए । प्रहरीले उनलाई सम्झाए । सुरूमा जुन बाटोबाट आएका थिए, त्यतै फर्काइदिए । पुनः त्यही बाटो पछाडि फर्के ।

दिनेशले आकाशे पुलको प्रयोग नगरी सडक पार गर्न खोजेका थिए । बीचैमा प्रहरीको फन्दामा परेपछि उनले आगामी दिनमा बाटो क्रस गर्दा आकाशे पुलको प्रयोग गर्ने प्रतिबद्धता जनाए ।

काठमाडौँ उपत्यकामा बाक्लो सवारी साधनको उपस्थिति सडक दुर्घटनाको कारण मानिने गरेको छ । बिहानको कार्यालय समय र साँझको समयमा सडकमा जथाभावी बाटो काटन नदिन प्रहरी सडकमा खटिएका छन् ।

पछिल्लो समय काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सुरक्षित उपत्यका हाम्रो प्रतिबद्धता भन्ने नारासहित सडकमा प्रहरी परिचालित छन् । काठमाडौँ महानगरपालिका १० का सामुदायिक प्रहरी हवल्दार ताराराम दयालले कार्यालय समयमा आफूहरू सडकमा रहने गरेको बताए ।

बिहान र साँझको समय सडकमा बढी सवारीसाधनको चाप रहने भएकाले प्रहरी तैनाथ रहने उनले जानकारी दिए । उनले दैनिक बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म पुलमुनि डयुटी गर्नुपरेको छ ।

‘हाम्रो काम भनेको पुल प्रयोग नगर्ने सबैलाई सचेत गराउने हो । पुलको तलबाट नभई माथिबाट जानलाई भनिरहेका हुन्छौ,’ उनले भने,’  काठमाडौँ उपत्यका बाहिरबाट आएका मानिसहरूलाई थाहा नभएर तलबाट जाने गरेका छन् । अर्को पटकदेखि तलबाट नगएर माथिबाट जानु भनेर आग्रह गर्छौ ।‘

कलेज पढने विद्यार्थीदेखि सचेत युवायुवतीले पुलको प्रयोग नगर्ने गरेको उनको भनाइ छ । पुलको प्रयोग नगर्नेलाई सचेत गराएर चेतना फैलाउने काम गरिरहेको उनले बताए ।

‘युवायुवतीहरू हतार छ र गाडी छुट्टयो भन्दै आकाशे पुल चढ्न अटेर गर्छन्,’ उनले थपे,’ हेर्दा सचेत देखिने र पढेलेखेका मानिसहरूबाट सडकमा मान्नुपर्ने नियम उल्लंघन भएका छन् ।‘

बालबालिका र ज्येष्ठ नागरिकलाई प्रहरीकै सहयोगमा बाटो क्रस गराइदिने गरेको प्रहरी हवल्दार दयाल बताउँछन् । ‘फरक क्षमताभएका व्यक्ति, बालबालिका र ज्येष्ठ नागरिकलाई हातै समाएर बाटो कटाउने गरेका छौ,’ उनी भन्छन्।

पछिल्लो बानेश्वरमा आकाशे पुलको प्रयोग गर्नेको संख्या बढेको उनीसँग अनुभव छ । ‘पुलमाथि जानेहरूको भीडभाड देखिन्छ । प्रहरीलाई देखेर परबाट बाटो मोडेर आकाशे पुलमाथि जाने गर्छन्’, दयाल सुनाउँछन् ।

व्यस्त सडकमा पुलको प्रयोग नगर्दा सडक दुर्घटनामा ज्यानै पनि जान सक्ने जोखिम रहेको उनले बताए । ट्राफिक जाम न्यूनीकरण, आवतजावतमा सहजीकरण, सवारी दुर्घटना कम र नागरिकको सुरक्षा गर्नु मुख्य उद्देश्य भएकाले सडकमा नागरिकसँग रहनु परेको उनी बताउँछन् ।

बढी भीडभाड भएका ठाउँ, आकाशे पुल र जेब्रा क्रसिङमा सामुदायिक प्रहरीले सडक दुर्घटना कम गर्न सडकमा सुरक्षा दिएका छन् ।

काठमाडौँको २९ ठाउँमा सामुदायिक प्रहरी छन् । उनीहरू सडक सुरक्षा मात्र गर्दैनन् । सामुदायिक प्रहरी भएकाले समुदायमा पनि सक्रिय छन् । समाजमा जनचेतनामुलक कार्यक्रम गर्ने गरेको दयालले बताए । आफूहरुले सडक सुरक्षाबाहेक लागुऔषध नियन्त्रण, लैङ्गिक समानता आदि विषयमा पनि जानकारी दिने गरेको उनको भनाइ थियो ।

यातायात विज्ञ,  इन्जिनियर आशिष गजुरेल सडकको नियम पालना नगरेको देख्दा नेपालीहरू अनुशासनहीन बन्दै गएको बताउँछन् ।

‘सडकमा उभिएर केही समय यातायातका साधन र मानिसलाई हेर्ने हो भने समग्र देशको प्रणाली कसरी चलिरहेको छ त्यो सब देखिन्छ । सडक सुरक्षामा युवाहरू अनुशासनहिन भएका छन्,’ उनले भने,’ विद्यार्थी र युवाहरूले सडक नियमको उल्लंघन गर्दा उनीहरूले कस्तो ज्ञान र शिक्षा पाइरहेका हुन्छन प्रस्ट हुन्छ ।‘

पुलमुनिबाट बाटो काट्नेमा कलेजका विद्यार्थीको संख्या उल्लेख्य रहेको उनले बताए । ‘त्यस्ता विद्यार्थीले शिक्षकबाट कस्ता ज्ञान पाइरहेका हुन्छन् ?’, उनी प्रश्‍न गर्छन् ।

थोरै हतारले ठूलो दुर्घटना हुन्छ भनेर युवाहरूले सोच्नुपर्ने उनले बताए । युवाहरू सचेत भएर नियम पालना गर्दै अरुलाई पनि नियम पालना गर्न प्रेरित गर्नुपर्नेमा आफूहरु नै नियम मिच्न अगाडि सर्नुले चिन्तित बनाएको उनको भनाइ छ ।

सडक दुर्घटनामा सबैभन्दा बढी युवाहरू पर्ने गरेको पनि गजुरेलको भनाइ छ । ‘लापर्बाहीको मानसिकता पैदलयात्रीमा रहँदा वा सवारी चलाउँदा देखिने गरेको छ,’ उनी थप्छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x