समाज

काठमाडौँ महानगरले भत्काएको संरचना कसले बनाउने ? (फोटो फिचर)

इकागज |
भदौ २, २०८० शनिबार १०:८ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् । महानगरभित्रका संरचनाहरू भत्काइएका छन् तर बनाइएका छैनन् । सार्वजनिक एवं सरकारी जग्गाहरू मिचेर निजी स्वार्थका लागि संरचना बनाउनु गलत हो ।

त्यसैले पनि काठमाडौँ महानगरपालिकाले त्यसरी निर्माण गरिएका संरचना भत्काइदिएको छ । यतिसम्मकी खहरे खोला, नदीहरू मिचेर समेत घर, भवनहरू निजी स्वार्थका लागि बनाइएको पाइएको छ । केही दिनअघि मात्रै खहरे खोला मिचेर बनाइएका कपन क्षेत्रका घरहरूमा महानगरले डोजर चलाएको थियो ।


त्यतिमात्रै होइन, हात्तिसारमा टुकुचा खोला मिचेर बनाइएका संरचना, सामाखुशीमा नदी उत्खनन, रत्नपार्कमा हडपेर राखिएका पसलहरूलगायत मिचेर बनाइएका संरचना महानगरपालिकाले भत्काउँदै आएको छ । तर यसको असर र यसबाट मानव स्वास्थ्यमा उत्पन्न हुने समस्याका बारेमा महानगर अनविज्ञझैँ छ ।

भत्काइदिएको त छ तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना महानगरको हालसम्म पनि देखिँदैन । महानगर क्षेत्रमा अव्यवस्थित र सार्वजनिक सम्पत्ति हडपेर बनाइएका संरचनामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले डोजर लगाएका त छन् तर त्यसलाई व्यवस्थित बनाउने योजना उनीबाट अहिलेसम्म पनि आएको देखिँदैन । किनभने महानगरपालिकाले संरचनाहरू भत्काएर मात्रै छाडेको छ, बनाउन थालेको कतै छैन ।

भत्काइएका संरचनामाथि झारपात उम्रिसकेका छन् । सामाखुशी नदी उत्खननपछि खोला किनारका पसलहरूको अस्तव्यस्तता हेर्नुहोस् वा रत्नपार्कका पसलहरू हटाएर सार्वजनिक शौचालय निर्माणका लागि सम्याइएको जमिनको अवस्था हेर्नुहोस्, अवस्था भद्रगोल छ । कपनका खोला उत्खननपछिको अवस्था होस् वा अनामनगरस्थित सार्वजनिक जग्गामा बनेको भद्रकुमारी घले आश्रमको घर भत्काइएपछिको दुरावस्था हेर्नुहोस् ।

कतैपनि भत्काइएपछि व्यवस्थित बनाइएको छैन । त्यसैले महानगरपालिकाले भत्काउनेसँगै व्यवस्थित र नागरिकलाई हिँडडुल गर्न सहज बनाइदिनेसँगै काठमाडौँलाई अझ सुन्दर बनाउने काममा लाग्दा अझ उपयुक्त र नागरिक जनप्रतिनिधिप्रति आशावादी हुनेछन् । 


Author

थप समाचार
x