समाज

बागमती प्रहरीको चाडपर्व सुरक्षा योजनाः ५ हजार ४ सय प्रहरी फिल्डमा खटिने

इकागज |
कात्तिक २, २०८० बिहीबार २१:२१ बजे

मकवानपुर - बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशमा दसैँ तिहार चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर कार्यान्वयनमा ल्याएको छ । नेपालीहरूको धर्म, संस्कृति, सौहार्दता र आत्मीयतालाई प्रदर्शित गर्ने चाडपर्व सर्वसाधारण नागरिकले सुरक्षित, भयरहित एवं उल्लासमय रुपमा मनाउन सक्ने वातावरण सृजना गर्ने उद्देश्यले सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको कार्यालयले जनाएको छ ।

चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश अन्तरगतका १३ जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूलाई पत्राचारसहित निर्देशन दिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश मातहत रहेका करिब ५ हजार ४ सय ९९ जना प्रहरी फिल्डमा खटाइएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता  दीपक रेग्मीले जानकारी दिए । प्रदेशको सुरक्षा व्यवस्था चुस्त दुरुस्त पार्नका निमित्त सुरक्षामा असर पुर्याउने कारणहरू पहिचान गरेर, म्यानेजर र कन्ट्रोल गर्ने गरी संयन्त्र बनाइएको बताउँदै कहीँ कतै असुरक्षाका घटना भए भने तत्काल पुलिस पुग्ने गरी आवश्यक सुधार, कन्ट्रोल र मेन्टेन गर्ने योजना रहेका उनले बताए ।


‘चाडपर्वको समयमा कुनै पनि आपराधिक गतिविधि हुन नदिनका लागि प्रदेशभर ड्रेस र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ‘ प्रवक्ता रेग्मीले भने ‘शान्ति सुरक्षाका लागि प्रभावकारी रूपमा कार्यतालिका बनाइएर काम सुरु गरेका छौं ।’ सवारी  जाँचको नियमित रूपमा व्यवस्था मिलाइ मादक पदार्थ सेवन वा लागू पदार्थ सेवन गरी चलाए नचलाएको सरप्राइज जाच गरिने योजनामा समेटिएको छ ।

प्रवक्ता रेग्मीका अनुसार राजमार्ग तथा सहायक मार्गहरूमा हुन सक्ने अवाञ्छित कार्य लुटपाट, डकैती नियन्त्रण गर्न, सरकारी कार्यालय तथा महत्वपूर्ण प्रतिष्ठानहरूको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन, शान्ति सुरक्षालाई मजबुद तुल्याई शान्ति सुरक्षाको प्रत्याभूति गराउन, जघन्य प्रकृतिको अपराध नियन्त्रण गर्न, कालो बजारी तथा अभाव सृजना हुन नदिन समन्यात्मक भूमिका निर्वाह गर्न, पटका, आतिसबाजी, प्रज्वलनशिल तथा विष्फोटक पदार्थ जस्ता वस्तुको नियन्त्रण गर्न तथा लागू औषध नियन्त्रण गर्न सुरक्षा योजना ल्याइएकोले सोही अनुसार कार्य भइरहेको छ ।

उनले प्रदेशमा चल्ने सार्वजनिक यातायातमा पनि सादा पोसाकमा प्रहरी खटाइने जानकारी दिए । उनका अनुसार यात्रुहरूलाई र सीमावर्ती क्षेत्रमा नागरिकहरूको सहजताका लागि प्रदेशका विभिन्न जिल्लामा ४४ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । धेरैजसो यात्रु सहायता कक्ष नागरिकहरूको भिडभाड हुने बसपार्क र सिमानाकामा क्षेत्रमा राखिएको छ । प्रदेशभरिका यात्रु सहायता कक्षमा १ सय १६ जना प्रहरीहरू खटिएका छन् । प्रवक्ता रेग्मीका अनुसार प्रहरी जनशक्तिलाई यहाँको आवश्यकताअनुसार परिचालन गर्ने बताउँदै जिल्लाका सदरमुकाम, वित्तीय सङ्घसंस्था धेरै जनशक्ति परिचालन गरिएको जानकारी दिए ।

भाडाका सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पर्ने दुःख, समस्या र गाडीमा भएको आरक्षण सिट उचित रूपमा पालना नभएको र भाडामा ठगिने यी कुराहरू भएका छन् या छैनन् भनेर यात्रुमैत्री अभियानका क्रममा प्रदेश प्रहरी कार्यालयबाट चाडपर्व लक्षित अनुगमन हुने उनले बताए । चाडपर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयद्वारा तयार पारिएको एकीकृत चाडपर्व सुरक्षा कार्य योजना अनुसार मोबाइल गस्ती, क्यूआरटी र पैदल गस्तीहरू समेत गरिने छ । जोखिम सम्भावित क्षेत्रहरूमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ भने अपराधका सम्भावित स्थानमा सर्च गर्ने गरी तयारी थालिएको छ ।

प्रवक्ता रेग्मीका अनुसार प्रदेशभर १ सय १६ जना क्यूआरटी परिचालन गरिएको छ । जसले सडक सुरक्षालाई थप प्रभावकारिता बनाउने अपेक्षा लिइएको छ । आकस्मिक हुने घटनाहरूको लागि थप जनशक्ति तयारी अवस्थामा राखिएको उनले बताए । यसअघि भइरहेको ट्राफिक व्यवस्थापनलाई थप सुदृढ पार्न प्रहरी र ट्राफिक मिलेर प्रदेशका सम्भावित दुर्घटना स्थलहरू नजिकै संयुक्त चेकिङको व्यवस्थापन गरिएको छ

विशेष अवस्थामा विगतका चाडपर्वमा के कस्ता घटना घटेका छन् ? त्यसलाई विश्लेषण गरेका छौँ  रेग्मीले भने । अहिलेको चाडपर्वमा के थ्रेट हुनसक्छ, के जोखिमहरू हुन सक्छन्, त्यो लोकल वातावरणमा के सुरक्षात्मक समस्या हुन सक्छन् भन्ने विषय सबै विश्लेषण गरेर सुरक्षा योजना बनाइएको उनले जानकारी दिए । प्रवक्ता रेग्मीका अनुसार जिल्लागत रूपमा पनि सुरक्षा योजना बनाइएको छ ।

'चाडपर्वमा जिल्ला जिल्लामा नागरिकको सुरक्षाका लागि प्रहरीले सुरक्षा योजना अपनाएको छ । सडक दुर्घटना न्यूनीकरण, विपद्का घटनामा पनि हामीले ध्यान दिएका छौँ । चोरी, लुटपाट र पाकेटमारप्रति हामी केन्द्रित भएका छौँ', उनले भने । ‘सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकको जनजीवन सामान्य तुल्याउन, बैङ्क तथा वित्तीय सङ्घसंस्थाहरूमा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्य सम्म जाने यात्रुहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन्  नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्डसमेतलाई लक्षित गरी सुरक्षा योजना बनाइएको छु, उनले भने ।


Author

थप समाचार
x