समाज

विराटनगरबाट एक क्विन्टल चाँदी बरामद, ज्वेलर्स सञ्चालक भारतीय नागरिक पक्राउ

बरामद चाँदी भारतबाट तस्करी गरेर ल्याइएको आशंका

बाबुराम भण्डारी |
कात्तिक १६, २०८० बिहीबार २१:५९ बजे

विराटनगर- विराटनगरको एक ज्वेलर्सबाट झण्डै एक क्विन्टल चाँदी बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र विराटनगर भन्सार कार्यालयको टोलीले छापा मार्दा बिल बीजक नभएको ९९ किलो ९४६ ग्राम चाँदीसहित विराटनगर महानगरपालिका– ११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वनाथ जानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका विश्वनाथ भारतीय नागरिक रहेको खुलेको छ ।


बरामद गरिएको चाँदीमध्ये धेरै परिमाण चाँदीबाट निर्मित विभिन्न प्रकारका गरगहना र भाँडाकुँडा रहेका छन् । केही काँचो चाँदी पनि रहेको जनाइएको छ । प्रहरीले ज्वेलर्सबाट १५३ दशमलव ८ ग्राम सुन समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

‘नेपाल प्रहरीसहित भन्सार, राजश्व र जिल्ला प्रशासन लगायतको संयुक्त आकस्मिक अनुगमन टोलीले ९९ किलो ९४६ ग्राम चाँदी र १५३ दशमलव ८ ग्राम सुन बरामद गरेको छ,’ प्रहरी निरीक्षक ओलीले भने, ‘पक्राउ परेका पशुपति ज्वेलर्सका सञ्चालक भारतीय नागरिक रहेको खुलेको छ, बरामद चाँदीको परिमाण जोख्ने कार्य पनि सकिएको छ, सञ्चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।’

विशेष सूचनाका आधारमा बिहीबार अपरान्ह उक्त ज्वेलर्समा छापा मारेको जनाइएको छ । बरामद चाँदी भारतबाट तस्करी गरेर ल्याइएको आशंका छ । 

सरकारी टोलीले उक्त ज्वेलर्सबाट लुकाएर राखिएको अवस्थामा पाँच वटा प्लाष्टिकको झोलाबाट उक्त परिमाणको चाँदी बरामद गरेको जनाइएको छ । 

विराटनगर भन्सार कार्यालय स्रोतका अनुसार बरामद गरिएको चाँदीको गरगहना तौलिएर विवरण संकलन गर्दासम्म पनि उक्त परिमाणको चाँदीका सामग्रीहरूको बिल बीजक प्राप्त नभएको जनाइएको छ ।

भारतबाट भन्सार छली गरेर चाँदीका गरगहना ल्याउने र ती सामग्रीहरू नेपालका बजारहरूमा बिक्री वितरण हुने गरेको गोप्य सूचनाका आधारमा पशुपति ज्वेलर्समा छापा हानेको हो ।

सरकारी टोलीले चाँदीबाट बनेका पाउजु, ब्रास्लेट, औंठी, दीयो, करुवा, मूर्ति, टीकादानीलगायतका ठूला परिमाणका चाँदीका सामग्री र गरगहना बरामद भएको प्रहरीले जनाएको छ । ज्वेलर्स सञ्चालकले दीपावलीलाई लक्षित गरी ठूलो परिणाममा तस्करी गरेर चाँदीका गहना र अन्य सामग्री भित्र्याएको हुनसक्ने जनाइएको छ ।

बिहीबारको दरभाउ अनुसार बरामद चाँदीको बजार मूल्य १ करोड २० लाख ३८ हजार रुपैयाँ हुन आउने जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x