समाज

व्यवसायी प्रसाईंलाई जिप्रका काठमाडौँले भन्यो : गैरकानुनी हर्कत काठमाडौँमा चल्दैन

इकागज |
मंसिर ८, २०८० शुक्रबार १५:४२ बजे

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आन्दोलनलाई सुरक्षित बनाउन उपत्यकाको सुरक्षा व्यवस्था मजबुत बनाएको बताएका हुन् । उनले बैठकमा काठमाडौँको सुरक्षा चुनौती विश्लेषण गरिएको र यथोचित सुरक्षा प्रबन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरूसँग छलफल गरेको बताए ।


उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने उनीहरूमाथि आक्रमण गर्ने कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको स्पष्ट पारे । उनले कानुन हातमा लिने कुप्रयास गर्ने समूह र व्यक्तिलाई चेतावनी स्वरूप अनुमतिबिना कार्यक्रम गर्न नपाइने व्यवस्था गरेको बताए ।

कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा बिहीबार साँझ पत्रकार सम्मेलन गरी कानुनलाई चुनौती दिने र गैरकानुनी कार्यक्रम सार्वजनिक गरेको भन्दै गैरकानुनी हर्कत काठमाडौँमा नचल्ने चेतावनी दिए ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्दमा नराखिएको र सुरक्षा प्रदान गरिएको बताए ।


Author

थप समाचार
x