समाज

कमला नदीमा भूत मेला

इकागज |
मंसिर ११, २०८० सोमबार १८:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुट्याउने कमला नदीमा अनौठो भूत मेला भएको छ ।

कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराका बीच भक्तजनहरू आकर्षित गर्ने गर्छन् । शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भूत मेला लाग्ने गरेको छ ।


पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रूपमा समेत परिभाषित गर्दै आइरहेका छन् । मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर लगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न आउने गरेका छन् । धामी झाँक्री बन्ने विश्वासका साथ उनीहरू देवता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको श्रद्धालुहरूले बताएका छन् ।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ-आफ्नो घर लैजाने गर्छन् । मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुने जनविश्वास रहेको छ । तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुती दिने चलन रहँदै आएको छ । स्नानको समयमा मुल धामीहरूले लोक भाकामा गीत समेत गाउने गर्दछन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ ।

मिथिलामा पहिलेदेखि नै तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ । यद्यपि यसको कुनै वैज्ञानिक आधार नरहे पनि अन्धविश्वासको रूपमा नभइ यो लोकआस्था रहेको संस्कृतिविद् एवं मैथिलीका साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले बताए ।

मुख्यतः ग्रामीण भेगका अशिक्षाका कारण टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरूले नै यो परम्परा धान्दै आइरहेको कतिपयको भनाइ छ । घर परिवारका कुनै सदस्यलाई हानिनोक्सानी र भूतप्रेतले छोयो भन्ने जानकारी कमला स्नान गरेकै व्यक्तिमार्फत देउताले दिने तथा रक्षासमेत गर्ने गरेको जनविश्वास छ । सिद्धि प्राप्त गर्न सिरहाको माडरस्थित इनर्वाघाट, बसपिट्टा, सारश्वर, चतरी, कल्याणपुर, भेडिया, बन्दीपुरसँगै छिमेकी जिल्ला धनुषाको सघारा, टरिया लकडलगायत कमला नदी छेउमा विभिन्न स्थानमा स्नान गर्ने लाखौँ श्रद्धालुहरूको घुइँचो लागेको थियो । 


Author

थप समाचार
x