समाज

सर्वोच्चका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ ​मंसिर २९ मा हुने

इकागज |
मंसिर २४, २०८० आइतबार १७:३२ बजे

काठमाडौँ- ​संसदीय सुनुवाइ समितिले मंसिर २९ गते सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको सुनुवाइ गर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकले उजुरीकर्तासँग छलफल गरेपछि मंसिर २९ गते प्रस्तावित न्यायाधीशको सुनुवाइ गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरीहरू परेका थिए । जसमध्ये प्रस्तावित न्यायाधीश सारंगा सुवेदीविरुद्ध ६ वटा उजुरी परेको छ भने टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ वटा र अब्दुल अजिज मुसलमानविरुद्ध एक वटा उजुरी परेका थिए । उनीहरूविरुद्ध अबको बैठकमा सुनुवाइ हुने समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


त्यसअघि बैठकमा उजुरीकर्ता पुष्पप्रसाद गुरागाईंले प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुङ्गानाले राजस्व न्यायाधिकरणमा रहँदा नियमविपरीत फैसला गरेको आरोप लगाए ।

त्यस्तै उजुरीकर्तामध्ये दाइजोको विषयलाई लिएर हत्या गरिएकी आरती साहका बुबा विनोदप्रसाद साहले प्रस्तावित न्यायाधीश सारंगा सुवेदीले उच्च अदालत जनकपुरमा रहँदा कर्तव्य ज्यान मुद्दाका आरोपीलाई धरौटीमा छोडेको र फैसला न्यायसम्मत नगरेको आरोप लगाए ।

यस्तै प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानले सम्पत्ति मुद्दामा न्यायसम्मत फैसला नगरेको उजुरीकर्ताको आरोप छ । न्यायपरिषदले सर्वोच्चको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च  अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको थियो भने वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई पनि सर्वाेच्च अदालतको प्रस्तावित न्यायाधीशमा सिफारिस गरेको हो ।


Author

थप समाचार
x