समाज

ललितपुर महानगर विवाद : अभियन्ता ईःविरुद्ध स्थानीयले गरे प्रदर्शन

इकागज |
मंसिर २६, २०८० मंगलबार १८:१ बजे

काठमाडौँ- फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोधमा आन्दोलन गर्न लागेका अभियन्ता ईःविरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् । फुटपाथ व्यवसायीलाई हटाउने महानगरको निर्णय उचित भएको र यसको विरोध गर्न नहुने भन्दै स्थानीयहरूले अभियन्ता ईःविरुद्ध प्रदर्शन गरेका हुन् ।

फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरको निर्णयविरुद्ध अभियन्ता ईःले महानगरपालिकाको प्रांगणमा उभिएर प्रदर्शन गर्न खोजेका थिए । तर, स्थानीयहरूले सडकमा व्यापार गर्न नपाइने भन्दै अभियन्ता ईःविरुद्ध नै प्रदर्शन गरेका थिए ।


स्थानीयको प्रदर्शनपछि सुरक्षाकर्मीले महानगरभित्र अभियन्ता ईःलाई सुरक्षा दिएर राखेको थियो । त्यसपछि कडा सुरक्षाका बीच सुरक्षाकर्मीले अभियन्ता ईःलाई त्यहाँबाट निकालेको थियो ।

महानगरपालिकाले मंसिर २४ गतेदेखि लगनखेल-मंगलबजार क्षेत्रमा फुटपाथ राख्न निषेध गरेको थियो । तर, अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने भन्दै उभिएर विरोध गर्न खोजेका थिए ।

यसअघि पनि काठमाडौँ महानगरले फुटपाथ व्यवसायीलाई हटाउने निर्णय गर्दा अभियन्ता ईःले राष्ट्रिय सभागृहबाहिर १ सय ९९ घण्टा उभिएर विरोध जनाएको थियो । त्यसपछि काठमाडौँ महानगर र अभियन्ता ईः बीच सम्झौता भएको थियो । 


Author

थप समाचार
x