समाज

महिलासँगै होटलमा बसेका पुरुषको मृत्यु

इकागज |
पुस ११, २०८० बुधबार १५:६ बजे

सिरहा- सिरहाको मिर्चैयास्थित एक होटलमा गएको केहीबेरमै एक पुरुषको मृत्यु भएको छ । मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार मध्यान्ह १२ बजेतिर एक महिलासहित गएका कल्याणपुर नगरपालिका-२ का करिब ४० वर्षीय मुकेशप्रसाद कर्णको मृत्यु भएको हो ।

महिलासहित उनी होटलमा बास बस्ने गरी आएर कोठा लिएका थिए । तर, कोठामा गएको १० मिनट पनि नबित्दै महिला ‘मेरो राजालाई के भयो’ भन्दै तल झरेको होटलका सञ्चालक विजय यादवले बताए । उनले भने, ‘महिला रोइकराई गर्दै आएलगत्तै हामी सबैजना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए । तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्‍यायौँ । तर, स्वास्थ्यकर्मीले मृत घोषित गरे ।’


जानकारी पाउना साथ पुगेका प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए । उनले मृतकको मुख बाङ्गो भएको र त्यो देख्दा उच्च रक्त चापले हानेको हो कि भन्ने प्रारम्भिक अनुमान गरिए पनि पोष्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने बताए । 

अहिले शव स्थानीय स्वास्थ्य संस्थामा राखिएको छ । घर परिवारलाई खबर गरिएको बताउँदै डीएसपी बस्नेतले भने, ‘अहिले शव स्वास्थ्य संस्थामै छ । घर परिवाका व्यक्तिहरू आएपछि आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि पठाउँछौं ।’


Author

थप समाचार
x