समाज

सर्लाहीको बरहथवामा युवकको मृत्यु, भोलि बिहानसम्म निषेधाज्ञा

इकागज |
पुस २०, २०८० शुक्रबार १८:३० बजे

मलङ्गवा- सर्लाहीको​ बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोध प्रदर्शनमा परिणत हुँदा बरहथवा-६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको छ । 
    
प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । 

जिल्लामा शान्ति सुव्यवस्थाको स्थिति बिग्रँदै गएपछि स्थानीय प्रशासनले बरहथवामा निषेधाज्ञा जारी गरेको छ । आज अपराह्न ५ः३० बजेदेखि लागू गरिएको निषेधाज्ञा भोलि बिहान ८ बजेसम्म जारी हुने जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर जनाएको छ ।  


बरहथवा नगरपालिका-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, बहुजन र जनमत पार्टीले प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको हो । 

बरहथवा नगरपालिकाको नगर कार्यपालिकाको बैठकले केही समयअघि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गरी ५० बेडको अस्पतालमा रूपान्तरण गर्न प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । 

अहिले सोही निर्णयबाट नगरप्रमुख कटुवालसहित बहुमत सदस्य पछि हटेका कारण नेपाली कांग्रेसलगायत दलका जनप्रतिनिधि  निर्णय कार्यान्वयन हुनुपर्ने अडान नछाडेपछि आन्दोलन चर्किएको हो ।


Author

थप समाचार
x