समाज

बहसमा स्वर्णिम र श्रृङ्खला : विदेशिएका युवा फर्किएर नेपालमा के गर्ने ?

इकागज |
फागुन ५, २०८० शनिबार ९:३९ बजे

पोखरा- वर्षेनी युवा पलायन हुने तथ्यांक बढ्दो छ । दैनिकरुपमा तीन हजार नेपाली युवा बाहिरिने तथ्यांक छ । पछिल्लो वर्षका तथ्यांकमा नेपाली खाडी मूलकमा नभई यूरोपियन मूलक र अन्य देशमा पलायन हुनेको संख्या पनि उत्तिकै छ ।

देशमा भविष्य नदेख्दा युवामाझ वितृष्णा बढ्दो छ । पलायन भएका युवा देश फर्किए पनि के गर्ने प्रश्न छ ? सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन यही विषयमा बहस भयो । 


‘ब्रेन गेन : फर्केर के गर्ने ?’ शीर्षक बहसमा वक्ता स्वर्णिम वाग्ले र शृङ्खला खतिवडा थिए भने सहजकर्ता सोनिया अवाले । नेपाली विदेशिने संस्कृति लामो समयदेखि रहेको सुनाए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद चुनिएका स्वर्णिम वाग्लेले । श्रमको खोजिमा भौतारिने स्वरुप बदलिएको बताउँछन् उनी । 

‘रोजगारीको अवसरको खोजीमा नेपालीहरू भौतारिँदै खोज्दै मुग्लान झर्ने आर्मीमा आबद्ध हुने पूरानै हो यसको स्वरुप बदलियो । २१औँ शताब्दीमा श्रम र पूँजीको अन्तरघुलन भूमण्डलीकरण चर्केको हो । क्यापिटल र लेबलको मुभमेन्ट भएको हो,’ उनले भने । 

समय चक्रले विकसित देशमा दक्ष जनशक्तिको आवश्यकता पारेपछि नेपालीले सो अवसरलाई सदुपयोग गरेको शृङ्खलाको भनाइ छ । अवसर देखिरहेका नेपालीले विकसित देशहरूको लचकतासँगै अवसरको ढोका प्रयोग गरेको उनले बताइन् । 

‘समय चक्रले यस्तो बनायो विदेशी भूमिका युवा शक्ति, कामदारको कमी भयो विभिन्न दक्षताको चाहियो । त्यो कारणले उनीहरूले ढोका खोल्दै गए । नेपालीले देखिरहेको थियो । त्यसपछि नेपालीहरू जान थाले,’ उनले भनिन् । 

अवसरको खोजीमा विदेश गइरहेका नेपालीलाई नेपाल फर्काउने रणनीति कस्तो जरुरी छ त ? बाध्यता र आवश्यकताका कारण विदेश होमिएका नेपाली फर्काउन समस्या नरहेको उनी सुनाउँछिन् । नेपाल फर्किसकेपछि उनीहरूलाई अडाई राख्ने अवसरको विषयमा प्रश्न चिन्ह खडा भएको उनको भनाइ छ । 

‘बाध्यता र चरम आवश्यकताले नेपाल छोडेर जाँदैछन् । उनीहरू खाडी मूलकमा गइरहेका छन् । उहाँहरूलाई नेपाल फर्काउनु हाम्रो लागि च्यालेन्ज होइन तर फकाई सकेपछि कसरी नेपालमा राख्ने प्रश्न हो,’ उनले भनिन् । 

यस्तै अर्को वर्ग छ । जसको आवश्यकता वा आर्थिक बाध्यता नेपाली छोड्नु पर्ने छैन । थप नयाँ सिर्जनात्मक अवसरको लागि पलायन हुने वर्गलाई रोक्नु वा फर्काउनु चुनौती रहेको विचार राख्छिन् उनी । 

‘दक्षता बढी होला त्यो डिग्राी म्याच हुने जागिर छैन आफ्नो त सुरक्षा भइहाल्यो अब आउने छोराछोरीको लागि उहाँहरू राम्रो अवसरको लागि नेपाल छोडेर जाँदै हुनुहुन्छ उहाँहरूलाई नेपाल फर्काउनु एकदम च्यालेजिङ कुरा हो,’ उनले भनिन् । 

यी सबै समस्याको सम्बोधन गर्नका लागि ग्लोबल सिटिजन क्नसेप्ट महत्वपूर्ण रहेको स्वर्णिम वाग्लेको विचार छ । नीजि व्यवसायी वा लगानीकर्ता विदेशलाई कर्मथलो बनाएका नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण सजिलो बनाउनुपर्ने विचार उनको थियो । 

‘ग्लोबल सिटिजनको कन्सेप्ट नेपाल छोडे पनि नेपाली नै हो भन्ने अवधारण ल्याउन सक्यो भने धेरै हुन्छ । नभनिएको होइन हरेक पञ्चवर्षीय योजनामा लगानी गर्न सहज गर्छौँ भन्ने छ तर त्यो वातावरण छैन,’ उनले भने । 

आर्थिक सुरक्षा खोजेर विदेश पलायन भइरहेका युवाहरूलाई देशमा रोजगारीको वातावरण सिर्जन गर्नुपर्ने शृङ्खला बताउँछिन् । सरकारी संयन्त्रबाट रोजगारको आशाभन्दा निजी क्षेत्रलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो । नीजि क्षेत्र बलियो भने उनीहरूले रोजगारी अवसर सिर्जना गर्न सक्ने विचार राख्छिन् । संकुचित भएका नीजि क्षेत्रलाई सहयोग गरेर युवा तान्न सकिने भनाइ राखिन् ।

‘निजी क्षेत्र संकुचित भए  । प्राइभेट सेक्टरलाई सहयोगको खाँचो छ । यसरी नै हो युवालाई तान्न सक्ने,’उनले भनिन् । 

हार्भर्ड विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी शृङ्खला नेपाल फर्किएकी हुन् । आफ्नो लागि नेपालमा अवसर भएकै कारण फर्किएको उनी बताउँछिन् । 

‘विदेशभन्दा नेपालमा मलाई अवसर भएर नै फिर्ता आएकी हुँ ।  नेपालमा एक हिसाबको उचाई पाइसकेपछि ग्लोबली केही गरौँ भन्ने थियो । ग्लोबल एरिनामा मैले केही गर्नुछ भने नेपाललाई नै लन्च प्याड बनाउँदा सबभन्दा भ्यालुएबल र सुनौला अवसर थियो,’ उनले भनिन् ।

आफूले नेपालमा युवामाझ कमाएको चर्चाका कारण पनि फर्किएको सुनाउँछिन् उनी । पब्लिक फिगर भइसकेपछि नेपालमा नफर्किँदा यसले युवालाई निराशा जगाउन सम्भावना रहेको कारण पनि नेपाल आएको उनको भनाइ थियो ।

स्वर्णिम २० वर्ष विदेशी भूमिलाई कर्मथलो बनाएपछि नेपाल फर्किएका व्यक्ति हुन् । रामशरण महतलगायतका नेताले स्वदेश फर्किन घचघचाएपछि नेपाल फर्किएको सुनाउँछन् । अर्थशास्त्रमा स्नातकोत्तर गरेका स्वर्णिम फर्किएसँगै विभिन्न संस्थामा सल्लाहकारी भूमिकामा देखिए । सल्लाहकारी भूमिकामा आफुले निभाएको भूमिकाले अन्तर मनमा आँट दिइरहेको उनले बताए । नतिजामूखी काम गर्नका लागि कार्यकारी भूमिका नै जान्छु भन्ने सोचे । 

‘यो सल्लाहकारको भूमिकाबाट अब म कार्यकारीमा नै हुन्छु, राजनीनितमा नै होमिन्छु भनेर लागेँ । अहिले जनताले जिताएर ल काम गर्न त भनेर पठाउनुभएको छ,’ उनले भने ।


Author

थप समाचार
x