समाज

स्थानीय तहको अग्रसरताः काठमाडौँबाट चित्रकलामार्फत खोटाङ देखाउँदै

अतिन आचार्य |
फागुन ७, २०८० सोमबार १६:५८ बजे

काठमाडौँ-  ‘पहाडमा जन्ती जानेहरू यहीँ ढुंगामा बस्थे । यसलाई जन्ते ढुंगा भनिन्छ,’ मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा अवलोकन गर्न आएकालाई भन्दै थिए मेयर तिर्थराज भट्टराई ।

सोमबार मध्यान्ह बबरमहलस्थित आर्ट काउन्सिलमा काउन्सिलको हलमा उनले उहिले- उहिले मानिसहरू टाढासम्म घण्टौसम्म बिहेमा जन्तीहरू हिँडेर पुग्ने र त्यहाँ आराम गर्नेहरू यहीँ ढुंगामा आराम गर्ने कुराहरू अवलोकन गर्नेलाई बताइरहेका थिए ।  


अहिले त्यहीँ पुराना कुराहरू चित्र र पेन्टिङमार्फत देखाउन स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको चित्रहरू प्रदर्शनमा राखिएको छ । अहिलेको नयाँ पुस्ताहरूले यस्ता कुरा देख्‍न पाएका छैनन् ।

तिनै देख्‍न नपाएकालाई चित्रकलामार्फत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनु आर्ट स्टुडियोले संयुक्त रुपमा चित्र तथा आर्टहरू प्रदर्शन गरिरहेका छन् ।

गत शनिवार ५ गतेदेखि १७ गतेसम्म आर्ट काउन्सिलमा चित्र तथा आर्ट प्रदर्शनीमा राखिएको छ । खोटाङको मौलिक पहिचान आर्टमार्फत देखाउन काउन्सिलमा प्रदर्शनी गरिएको मेयर भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनीमा २ सय १० थान आर्टहरू राखिएको छ । विभिन्न मुलुकका ५० वटा विभिन्न मुलुकका कलाकारको समेत आर्ट र कुल १ सय २५ जना कलाकारको आर्ट छन् ।

‘आर्टमार्फत खोटाङका विभिन्न स्थानको पर्यटन प्रवर्द्धन गर्नलाई आर्ट प्रदर्शनी राखेका हौ,’ उनले भने,’ प्रसिद्ध  धार्मिक पर्यटक स्थल छन् । खोलानाला, प्राकृतिक स्थल, हिमाल, पुराना संरक्षण गर्नुपर्ने स्थान, लोपोन्मुख सामग्री र पुरातात्त्विक वस्तुहरूको संरक्षण गर्न र महत्त्व बुझाउनु हो । ‘

काठमाडौँमा स्थानीय वातावरण, संस्कृति र रहनसहन देखाउँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरूको ध्यानाकर्षण गर्न सकिने मेयर भट्टराईले धारणा राखे । ‘

चित्रकलाको माध्यमबाट खोटाङको समग्र पहिचान देश तथा विदेशमा गराइने छ,’ उनले अगाडि थपे,’ जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाका महत्त्व झल्किने स्थान तथा क्रियाकलापहरू अवलोकनकर्ताले प्रत्यक्ष रुपमा महसुस गर्न पाउनेछन् ।‘

यस प्रदर्शनीबाट अन्तर्राष्ट्रिय स्तरमा खोटाङको कला तथा स्थानीय महत्त्वका कुराहरू आदानप्रदान गर्न सक्ने उनले विश्वास व्यक्त गरे । स्थानीय कलाकारले खोटाङका महत्त्व बोकेका चिनारी बनाएकाले प्रदर्शनी राखिएको उनको भनाइ छ ।

‘स्थानीय समुदायलाई चित्रकलामार्फत देखाइएको छ । जनजातिका विभिन्न संस्कृति तथा प्रचलनहरू चित्रमा देखाइएको छ,’  उनी भन्छन्,’ पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने नै मुख्य उद्देश्य हो ।‘

खोटाङका विद्यार्थीलाई चित्रकलामा प्रोत्साहित गर्नलाई यस प्रदर्शनीले सहयोग गर्न मेयर भट्टराईको भनाइ छ । ‘आगामी वर्षदेखि स्थानीय तहले आर्टमा रूचि भएका विद्यार्थीलाई शिक्षक राखी चित्रकला सिकाइन्छ,’ उनले भने ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x