समाज

अन्तर्राष्ट्रिय महिला दिवस

महानगरले खोसेको छाक : महिलालाई नछुने महिला दिवसमा सुनिताको दुःखका कहानी

‘गरिबका आँसु पनि पानी सम्झन्छन् कि खै, गाडा हैन मुटु नै लगेजस्तो भयो'

दुर्गा आचार्य |
फागुन २५, २०८० शुक्रबार ७:५१ बजे

काठमाडौँ- शहरले रहर मात्रै पुरा गर्दैन । दुःखका सिढीहरू पनि छन् भनेर बुझाउँछ । देखिने र नदेखिने अनगिन्ती खत बस्छन् । जहाँ पीडा मात्र हुँदैन र मल्हम पनि हुन्छ । 

आफूमा भएको घाउहरूलाई मल्हम लगाउँदै जीवन बाँचिरहेकी छिन् मकवानपुरकी ४३ वर्षीय सुनिता घिमिरे । शहरमा उनका रहर फक्रन र फुल्न त पाएनन्, सन्तानकै रहरलाई सधैं उनले प्राथमिकता दिइन् । आजसम्म दिइरहेकी छिन् । 


१२ वर्षअघि सुनिता काठमाडौँ पसिन । श्रीमान्‌को भरथेग थिएन । न परिवारले नै उनलाई साथ दिन्थे । बढ्दै गएको छोरीहरूको उमेर र भविष्यले उनलाई सताउन थाल्यो ।‘आफूले त क पनि नपढी जीवन गयो’, उनले भनिन्, ‘छोरीहरूलाई राम्रो शिक्षादिक्षा दिन्छु भन्ने सोचें ।’

घरमा बुबा आमाकी कान्छी छोरी उनी सधैं मायामा हुर्किइन । ‘माइतीमा हुँदा के खाउँ के लाउँ भन्ने थिएन’, उनले भावुक हुँदै सुनाइन्, ‘बिहे गरेपछि दुःखले एकै पटक छोप्यो । जिम्मेवारीले थिच्यो । म त निसास्सिएँ जस्तो भएँ ।’ 

बिहेपछिका एक दशक बढी उनले मकवानपुरमा बिताइन् । पढाइ नहुँदा घाँस दाउरा  नै उनको सारथी थिए । श्रीमान्‌ कुलतमा थिए । छोरीहरू बढ्दै गएका । उनीहरूको भविष्यले सुनितालाई सताउन थाल्यो ।  संघर्षकै दौरानमा आज उनी काठमाडौँमा छोरीहरूसँग बाँचिरहेकी छिन् ।

काठमाडौँ आएर के गर्ने केही सीप थिएन । तर खाने मुख तीन वटा थियो । अभावले उनलाई जिउन सिकायो । बाँच्न सिकायो अनि हाँस्न सिकायो । ‘कति दिन एक छाक खान चामल हुँदैनथ्यो’, उनी विगत सम्झिन्छिन्, ‘पैंचो माग्ने छिमेकी थिएनन् अनि एक्लै बाँच्नुपर्ने रहेछ भन्ने सिकेँ ।’ 

उनको १७ वर्षमा बिहे भयो । १८ वर्षमा छोरा जन्मियो । बिडम्बना उनका ती छोरा साथमा छैनन् । सानैमा उनी भगवानका प्यारा भए । तर आज पनि उनी त्यही छोरालाई हरपल सम्झिरहन्छिन् । ‘साथमै भएको भए, कमाएर ल्याउने हुन्थ्यो’, उनका आँखा रसाए । जीवन थियो छोराको नाम । तर उनले पूर्ण जीवन नै पाएनन् । सुनितालाई जीवनभर नबिर्सने घाउ दिएर गए ।  ‘खै के भएर बित्यो थाहा नै पाइन, सानै थिए’ उनी विगतमा पुगिन् ।

छोरीले पढ्नु हुन्न भन्ने समाजमा हुर्किइन् । उनले पनि पढ्न पाइनन् । पैताला मुनिको स्कुल थियो । बुबाले छोरीले पढ्ने हैन भन्नुभयो ।  ‘स्कुल मात्रै देखें भित्र के हुन्थ्यो थाहा नै पाइनँ’, उनले सुनाइन् ।

काठमाडौँ आएपछि उनले चटपटे बनाउन सिकिन् । अहिले आठ वर्ष भयो चटपटे बेच्न थालेको । पहिला राम्रै कमाइ थियो । सडक किनार चटपटे बेचेर दैनिक एक हजार देखि १५ सयसम्म कमाउँथिन् । छोराछोरीको पढाइ, कोठा भाडा, खाना खर्च पुर्‍याउन सहज थियो । 

काठमाडौँ महानगरपालिकाले सडक किनारा ठेलागाडामा सामान बेच्न नपाउने नियम ल्याएपछि उनलाई अभावले पछ्याउन थाल्यो । उनको गरिखाने बाटोमा ब्रेक लाग्यो । सडक किनारामा चटपटे बेचेको भन्दै उनका दुई वटा ठेलागाडा काठमाडौँ महानगरले खोस्यो ।

लकडाउनमा एउटा र गत माघमा नगर प्रहरीले लगेको उनले व्यथा सुनाइन् । आँखाभरी आँसु पारिन् । स्वर मधुरो हुँदै गयो । 'लुछाचुँडी गरेँ, रोएँ कराएँ सुनेनन् लगि छाँडे' उनले भनिन् 'भोलिपल्ट टेकुमा गएर गेटमा कति रोएँ, कराए सुनेनन् ।'

‘गरिबका आँसु पानी सम्झन्छन् कि खै’, उनले भावुक हुँदै भनिन्, ‘मेरो दु:ख कसले सुन्छ ?’ ‘तिनीहरूको मुटु छैन कि के हो’ उनले प्रश्न गर्दै भनिन्, ‘अरु सीप जान्ने भए बाटोमा किन चटपटे बेचेर बस्थेँ ?’ 

१५ देखि २० हजारका ठेलागाडा लैजाँदा कति दिन उनले चटपट बेच्नै पाइनन् । ‘गरिबको त गाडा हैन मुटु नै लगेजस्तो हुन्छ’, उनी भावुक भइन् ।

भित्री सडकमा चटपटे बेचेर गुजारा गरिरहेकी उनलाई महिला दिवसबारे थाहा छैन । न उनलाई यो देशको राष्ट्रपति र प्रधानमन्त्रीबारे नै थाहा छ । ‘बिहान बेलुका के खाने भन्ने चिन्ताले नै सताइरहन्छ’, उनले मलिन स्वरमा भनिन् ।

महिला दिवस रे भन्या त सुन्छु किन दिवस मनाउँछन् थाहा नभएको उनी बताउँछिन् । उनले हाँस्दै भनिन्,’दिवस त किन मनाउँछन् गरी खान दिए हुने नि । 'निश्चित समय दिएर सडक किनारामा चटपटे बेच्न दिए मेरो जीवन नि कति सहज हुन्थ्याे' उनले आशावादी हुँदै भनिन्, 'मेयर बालेन्द्र साह 'बालेन'ले समय छुट्याइदे हुन्थ्यो नि ।'


Author

थप समाचार
x