समाज

ड्युटीसँगै शिशु स्याहार्दै महिला प्रहरी

इकागज |
फागुन २५, २०८० शुक्रबार २१:५९ बजे

बाँके- सशस्त्र प्रहरी महिला कर्मचारी सुकुमा खड्काको नौ महिनाकी छोरी छ । दुई महिनाको सुत्केरी बिदापछि उनी जागिरमा फर्किइन् । दैलेखको भगवतीमाई गाउँपालिका-३ निहेल्टोलीकी २३ वर्षीया सुकुमाले जागिर खाएको पाँच वर्ष भयो । उनका लागि जागिरसँगै शिशु हुर्काउनु सामान्य कुरा होइन । अहिले उनी ‘ड्युटी’ जाँदा पनि निर्धक्क भएर जान्छिन् ।

गणभित्रै शिशु हेरचाह गर्ने स्याहार गृह स्थापना भएपछि काम गर्न सुकुमालाई थप हौसला आएको छ । 'एउटा आमालाई चिन्ता भनेकै सन्तानको लाग्छ, एक छिन आफ्नो शिशु नहेर्दा मन बेचेन हुन्छ, सुरु-सुरुमा ड्युटीमा जाँदा नानीको खुबै चिन्ता लाग्थ्यो, अहिले ढुक्क छु,' उनले भनिन्, 'अहिले गणभित्रै ड्युटी गर्नुपर्ने भएकाले नानीलाई हेर्दै काम गर्न पनि सहज भएको छ, छिनछिनमै नानीलाई खेलाउन आउँछु, आफ्नोसँगै अरूका शिशुहरू पालैपालो हेर्ने काम गर्छौं  ।'


उनी आफूमात्र होइन अहिले अरू महिलाका शिशुको स्याहार गर्ने काम गर्छिन् । 'आफ्नोसँगै अरूका शिशु पनि हेर्ने काम गर्छौं, पालैपालो ड्युटीमा खटिएका छौँ, पहिला धेरै आमाले ड्युटी गर्दै शिशु हेर्नु पर्थ्यो, आमाहरू ड्युटीमा खटिँदा शिशु माटोमा खेल्थे, रोग लाग्छ कि भन्ने पीरले सताउँथ्यो,' उनले भनिन्, 'गणभित्रै शिशु स्याहार गृह बनेपछि धेरै आमालाई सहज भएको छ, हामी आफ्ना मात्र होइन आफ्ना बच्चासँगै अरूका बच्चालाई खेलाउने काम गर्छौं ।'

बाँकेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वार्टर बागेश्वरीमा रहेको शिशु स्याहार गृह स्थापना भएसँगै अहिले धेरै आमालाई ड्युटी गर्दै आफूसँग आफ्ना शिशु हुर्काउन सहज भएको छ । दैलेखको भगवतीमाई-६ बेस्तडा गाउँकी २३ वर्षीया सरिता खड्काले जागिर खाएको पाँच वर्ष भयो । उनको १० महिनाको छोरा छ । उनलाई ड्युटी जाँदा पनि बच्चाको चिन्ता लाग्दैन । उनी अहिले ढुक्कसँग ड्युटीमा काम गर्छिन् ।

'बच्चा हुर्काउँदै काम गर्न पाउनु धेरै ठूलो कुरा हो, यो त महिलाका लागि वरदानै हो, कति मान्छेले बच्चाका लागि समय नहुँदा जागिर छाड्नुपर्छ, कति अवसर गुमाउनुपर्छ,' उनले भनिन्, 'ड्युटी गर्दै बच्चा हेर्नु निकै समस्या हुन्छ, बच्चा हुर्काउनु सानो कुरा होइन, भनेको बेला खुवाउनुपर्यो, सुताउनु पर्यो, अहिले त्यो झन्झट अब छैन ।'

ड्युटीमा खटिएका आमाका शिशुलाई हेरचाह गर्ने प्रमुख जिम्मेवारी २४ वर्षीया रेश्मा खड्काको हो । उनका अनुसार बच्चा भएकै कारणले कुनै महिलालाई काम गर्न अप्ठ्यारो नहोस् भन्ने यो शिशु स्याहार गृहको उद्देश्य हो । रेश्मासँगै शिशुका आमा पालैपालो शिशु स्याहार गृहमा आएर उनलाई सघाउँछिन् । 

पेसाले सशस्त्र प्रहरी महिला कर्मचारी उनको ड्युटी भनेकै शिशुलाई रेखदेख गर्ने हो । कोठाभरि राखिएका खेलौना र भित्ताभरि कोरिएका नम्बरबाट उनी बच्चा भुलाउँछिन् । उनले जागिरे जीवन सुरु गरेको तीन वर्ष भयो । नेपालगञ्ज उपमहानगरपालिका-१४ मा पर्ने बालेगाउँमा रहेको उक्त गणमा दिनभरि उनी बच्चाहरूसँगै रमाउँछिन् । बिहान ८ देखि साँझ ६ बजेसम्म सशस्त्र प्रहरी आमा बच्चालाई खेलाइरहन्छिन् ।

शिशु स्याहार केन्द्रमा ३२ शिशु छन् । एक वर्षमुनिका १५ र एक वर्षमाथिका नौ छन् । कक्षा १२ पास गरेर मन्टेश्वरी तालिम लिएको हुनाले उनले शिशु स्याहार्ने जिम्मा पाएकी हुन् । शिशु स्याहार केन्द्रमा ‘र्याम’ सिकाउने, चित्र चिनाउने कौशल, शिशुलाई भुलाउने सीप उनले गरेकी छिन् । शिशुहरूको पहिलो जिम्मेवारी रेश्माकै काँधमा भए पनि एकै उमेरका शिशु धेरै भएकाले उनलाई अरू तीन सहकर्मीले सघाउँछन् । 

ड्युटीमा खटिँदा आमा कर्मचारीलाई निकै समस्या हुन्छ । त्यही समस्यालाई दृष्टिगत गरेर गणभित्रै आफ्नो शिशु खेलाउँदै हेर्दै ड्युटी गर्न सहज होस् भनेर शिशु स्याहार केन्द्र सञ्चालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताए । आमा बनेका प्रत्येक महिला कर्मचारीलाई बच्चाको उमेर दुई वर्षको नहुँदासम्म गण बाहिर ड्युटीमा नपठाइने गरिएको छ । उक्त गणमा ४५ महिला प्रहरी कर्मचारी कार्यरत छन् । रासस


Author

थप समाचार
x