समाज

सुष्मा हत्या प्रकरण

हत्यापश्‍चात् अभियुक्तले सुष्माको फेसबुकमा लेखेका थिए 'सरी सबैलाई म तीन दिनमा आउँछु'

हत्या गर्ने योजना बनाइ आठ दिनदेखि बाटो ढुकेर बसेका थिए

अतिन आचार्य |
चैत ४, २०८० आइतबार १७:१३ बजे

काठमाडौँ- गत माघ २३ गते सुष्मा मंगोलियन नामको फेसबुकबाट विवाहित जोडीको फोटो सार्वजनिक भयो । फोटोको क्याप्सनमा लेखिएको थियो, 'सरी सबैलाई तीन दिनमा म आउँछु ।' जुन फोटोमा बेहुला बेहुलीले लगाउने लुगाहरू लगाएका थिए ।

बेहुलाको अनुहारमा लभको इमोजी राखिएको थियो । फोटो हेर्दा वैवाहिक समारोहको जस्तै थियो । फोटोमा मानिसहरूको भीडभाडसमेत थियो । जुन फोटो गुगलबाट तानिएको थियो । जसलाई इडिट गरेर सार्वजनिक गरिएको थियो ।


यो पोष्ट माघ २२ गते कलेज जान भनी हिँडेकी सुष्मा लामाको फेसबुकबाट सार्वजनिक भएको थियो । उनी हराएको भोलिपल्ट उनकै फेसबुक आइडीबाट विवाह गरेको फोटो सार्वजनिक भयो ।

तर, यो कुरा सुष्माको परिवारलाई विश्‍वास भएन । फोटो सार्वजनिक भएको तीन दिनमा उनको परिवार प्रहरी वृत्त बौद्धमा खोजतलासका लागि पुगे । २५ गते विवाह भएको फोटो लिएर निवेदनसहित सुष्माको खोजीमा परिवार प्रहरीकोमा पुगेको हो ।

केही दिनपछि सुष्माको दिदी नाता पर्ने बिन्दा तामाङको मोबाइलमा म्यासेज आयो । म्यासेज सुष्माको नम्बरबाट जान्छ । लेखिएको थियो, ’किन के को पुलिस रिपोर्ट गरेको म तीन दिनमा आउँछु भन्दै कस्तो मान्छेहरू रहिछ । अब आउँछ भन्ठानिरा होला अब मलाई बाचा पनि भइसक्यो होला । हामीलाई जेलमा हालेर के पाउँछ । टाढा गएर बस्ने हो कसैलाई के को पनि चिन्ता लिनु पर्दैन हाम्रो भनेको ।'

यो सबै कुराकानीको बेलीविस्तार गत माघ २२ गते हराएकी सुष्माको हो । उनी कलेज गइन् तर नफर्केपछि उनको खोजी सुरु भएपछि यी सबै कुराहरू सार्वजनिक भएका हुन् ।

सुष्मा बिहानको कलेज जान्थिन् । तर, २२ गते बिहान कलेज गएकी उनी फर्किनन् । उनी नफर्के पनि उनको फेसबुक आइडी र मोबाइल नम्बर सक्रिय थियो ।  नम्बरबाट पनि म्यासेज जान्थ्यो ।

हराएको एक महिनामा गोकर्णेश्वर नगरपालिका ३ को शिवपुरी जंगलमा सुष्माको शव फेला पर्‍यो । शव घरबाट एक किलोमिटर टाढा स्कुल जाने बाटोमा फेला परेको थियो । जंगल जाने एक जना व्यक्तिले उक्त शव देखेका थिए ।

शरीर पुरिएको अवस्थामा शव फेला परेको कार्यालयका डिएसपी अनिल घिमिरेले जानकारी दिए । उनका अनुसार हात देखिएको थियो । कलेज ड्रेसको आधारमा मृतककी आमाले शवको पहिचान गरेकी थिइन् । प्रहरीले सुष्मा लामाको हत्यारा २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

रुपेन्द्रले सुष्मा हराएको भोलिपल्ट गुगलबाट बेहुला बेहुलीको फोटो डाउनलोड गरेका थिए । उनले फोटो इडिट गरी फेसबुकमा हालेका थिए । उनले 'सरी सबैलाई म तीन दिनपछि आउँछु’ भनी फेसबुकमा लेखेका थिए । पोष्ट गरेपछि उनले सुष्माको फेसबुक डिएक्टिभ गरेको डिएसपी घिमिरेले जानकारी दिए ।

सुष्मा र रुपेन्द्र छिमेकी हुन् । नाताले फुपू र मामाको छोराछोरी हुन् । सुष्माकी आमाले उनको घरमा पुगेर प्रहरीको निवेदन दिएको बताइन् । रुपेन्द्रले थाहा पाएपछि दिदीको मोबाइलमा म्यासेज गरेका थिए ।

'रुपेन्द्रले म्यासेज र फोन गरेपछि फोन अफ गरी फेसबुक डिएक्टिभ गरेका थिए,’ अनुसन्धानमा संलग्न डिएसपी घिमिरेले भने, 'उनले सुष्मालाई एकतर्फी माया गरेका थिए । विगत आठ महिनादेखि मन पराउँदै आएका थिए ।'

उनले सुष्मालाई पटक-पटक प्रेम प्रस्ताव गरेका थिए । तर, सुष्माले उनको प्रेम प्रस्तावलाई अस्वीकार गरेकी थिइन् । सुष्मा र रुपेन्द्र घाँस काट्न र बाख्रा चराउन एक/दुई वर्षदेखि सँगै जान्थे । तर, उनीहरू फोन वा सामाजिक सञ्जालमा भने कुरा गर्दैन थिए ।  

सुष्मा कलेज गएको हेर्थे । बोल्न सक्दैन थिए । उनले सुष्माको हत्या गर्ने योजना बनाइ बाटोमा ढुकेको घिमिरेले पत्रकार सम्मेलनमा बताए । 'रुपेन्द्र आठ दिनदेखि बाटो ढुकेर बसेका थिए,' उनले अगाडि थपे, 'उनले भेटेपछि हातले घाटीमा तानेर जंगलतर्फ लगेका थिए ।'

प्रहरीका अनुसार सोही दिन पनि रुपेन्द्रले सुष्मा एक्लै गइरहेको देखेपछि प्रेम प्रस्ताव राखेका थिए । सुष्माले अस्वीकार गरेपछि पछाडिबाट घाँटी थिचेर अचेत बनाए । टाई र जुत्ताको तुनाले घाँटीमा कसे र हातलाई पेटीले बाँधी खाल्डोमा पुरे ।

हत्या गर्ने योजनासहित रुपेन्द्रले चार दिनदेखि खाल्डो खनिरहेका थिए । र, हत्या गरेपछि सोही ठाउँमा लगेको डिएसपी घिमिरेले बताए ।

सुष्माको हत्या गरेपछि उनको मोबाइल, किताब र कापी रुपेन्द्र आफैँले लगेका थिए । सोही मोबाइलबाट फेसबुक खोली रुपेन्द्रले विवाह गरेको फोटो हालेका थिए । मोबाइलबाटै म्यासेज पनि गरेका थिए ।

घिमिरेका अनुसार रुपेन्द्र घरमा बस्थे । हत्या गरेपछि उनी घरभित्र बसिरहन्थे । मानिसहरूसँग पनि बढी बोलचाल नगर्ने स्वभावका भएका थिए । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x