समाज

सर्लाहीमा अमेरिकन पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ

इकागज |
चैत ६, २०८० मंगलबार १५:१ बजे

सर्लाही- सर्लाही प्रहरीले एक थान अमेरिकन पेस्तोल र गोलीसहित दुई जना भारतीय लुटेरालाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका-६ मगरटोलस्थित जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट सादा पोशाकमा गएको संयुक्त टोलीले सोमबार राति पौने नौ बजेको समयमा अमेरिकन पेस्तोल र गोलीसहित दुई जना भारतीय लुटेरालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार राज्य सीतामढी जिल्ला सैयारा गाउँका लक्ष्मण सिंहको २८ वर्षीय छोरा सन्नीकुमार सिंह र विहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला गंगापिपराका अशोक राउतको २४ वर्षीय छोरा जितेन्द्रकुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताएका छन् ।


मगरटोलमा डेरा गरेर बस्ने भारतीय नागरिक जितेन्द्रको साथबाट मेड इन युएसए लेखिएको ९ एमएमको अटोमेटिक पेस्तोल एकथान, सोको म्याग्जिन एक थान, ६ राउण्ड गोली, फायर भएको खोका एक थान र भारतीय नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको डीएसपी प्रवक्ता थारुले बताएका छन् ।

दुवै जनालाई राति नै जिल्ला प्रहरी कार्यालय मलंगवा लैजाने क्रममा बसबरिया गाउँपालिका-६ पोखरियाबाट अन्दाजी ७ सय मिटर अगाडि बाटोमा गाडीबाट हामफालेर भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिन चाइनिज पेस्तोल टाइप ५४ बाट ५ राउण्ड फायर गर्दा जितेन्द्रको बायाँ घुँडा, दाहिने तिघ्रामा २ राउण्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ। 

घाइते राउतको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x