समाज

एक वर्षमा देशभर ५९ हजार ६१ उजुरी, सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा

इकागज |
चैत १५, २०८० बिहीबार १६:३२ बजे

काठमाडौँ- नेपाल प्रहरीले पछिल्लो एक वर्षमा देशभर ५९ हजार ६१ उजुरी परेको जनाएको छ ।

पछिल्लो एक वर्षमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरूका बारेमा जानकारी दिन बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले १ वर्षको अवधिमा ५९ हजारभन्दा धेरै उजुरी परेको जानकारी दिएका हुन् । सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा १७ हजार ३ सय ९७ मुद्दा र सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ९ सय ६५ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।


दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी बैंकिङ कसुर मुद्दामा १३ हजार २ सय ७७ उजुरी दर्ता भएको प्रवक्ता ढकालले बताए । सोही अवधिमा १३ हजार १ सय २२ जना फरार अपराधीहरूलाई नियन्त्रणमा लिई सजायको लागि सम्बन्धित अदालतमा पेस गरिएको उनले जानकारी दिए ।

त्यस्तै नेपालमा अपराध गरि विदेश गई लुकेका १३ जना फरार अपराधीहरूलाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याइएको र १२ जनालाई रेडकर्नर नोटिस र एक जनालाई डिफ्युजन नोटिस जारी गरिएको प्रहरीले जनाएको छ । त्यस्तै राजस्व संकलनतर्फ ६ अर्ब ६३ करोड ३९ लाख ३२ हजार १ सय ७८ रुपैयाँ जम्मा भएको प्रहरी प्रवक्ता ढकालले बताए ।

नेपाल प्रहरीमा हाल ७९ हजार ५ सय ४१ मध्ये ७६ हजार २ सय ५२ जनशक्ति कार्यरत रहेका छन् । 


Author

थप समाचार
x