समाज

गुल्जार ठमेललाई जिस्काइरहेको 'कुरूप' गेट

महानगर भन्छः गेटको निर्माण प्रक्रिया चाँडै बढाउँछौ

अतिन आचार्य |
चैत १६, २०८० शुक्रबार १५:२० बजे

काठमाडौँ- तत्कालीन बागमती  प्रदेशका र काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले आफ्ना कार्यकर्ता व्यवस्थापन गर्न खोज्दा ठमेल प्रवेशद्वारको गेट निर्माण अलपत्र परेको छ । काठमाडौँ महानगरपालिका २६ मा अवस्थित केशर महल अगाडिको गेटद्वार निर्माण नहुँदा ठमेलको दृश्य कुरूप बन्दै गइरहेको छ ।

बागमती प्रदेश सभाका तत्कालीन सांसद केशव स्थापितले छुट्याएको बजेटमा उक्त गेट निर्माण थालिएको थियो । प्रदेश सरकारले उक्त गेट निर्माण गर्न ५० लाख बजेट विनियोजन गरेको थियो । स्थापित बागमती प्रदेश सभाका सदस्य उनकै पार्टीको सरकार थियो । काठमाडौँ महानगरपालिकामा भने विद्यासुन्दर शाक्य प्रमुख थिए ।


प्रदेश सांसद तथा काठमाडौँ महानगरपालिकाले आफ्ना मान्छे व्यवस्थापन गर्न उपभोक्ता समिति बनाएर गेटको निर्माण निर्माण प्रक्रिया अगाडि बढाएका थिए । चार वर्षअघिदेखि उपभोक्ता समिति बनाएर गेट निर्माण सुरु गर्दा हालसम्म निर्माण सम्पन्‍न नहुँदा गेट अलपत्र परेको हो ।

उपभोक्ता समितिद्वारा गेट निर्माण थालिए पनि समयमै गेटको निर्माण सम्पन्न हुन नसक्दा ठमेलको गेटले कुरूप बन्दै गइरहेको छ । कोभिड-१९ को कारण गेट निर्माण रोकिएको गेट महानगरले निर्माण प्रक्रिया अगाडि बढाउने काठमाडौँ महानगरपालिका २६ का अध्यक्ष ख्याम तिवारीले बताए ।

उनका अनुसार गेट निर्माण सम्पन्न गर्न महानगरले ६५ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको ५० लाख बजेट लगाएको थियो । ५० लाखको बजेटमा गेटको केही काम सकिएको छ ।

गेटको बाँकी निर्माण काम महानगरले गर्ने अध्यक्ष तिवारीले इकागजलाई बताए । ‘ सुरुमा उपभोक्ता समितिले गेट बनाएका थिए,’ उनले भने,’ समितिको नवीकरण गरेर आएमा उनीहरूलाई बनाउन दिन सकिन्छ । टेण्डर आव्हान गर्न खोजिएको तर उपभोक्ता समितिले आफैँ गर्छौ भनेकाले रोकिएको हो ।‘

समिति दर्ता गरेर आएमा चाँडै कामको प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिए । समिति नआएमा टेण्डर आव्हान गरेर चाँडै कामको थालनी गरिने तिवारीको भनाइ छ ।

महानगरले पुरानो डिजाइनमा गेट निर्माण गर्ने र केही नयाँ डिजाइन थपिने तिवारीले जानकारी दिए । ‘वेलकम ठमेल लेख्‍ने स्क्रिन राखिन्छ,’ उनले अगाडि थपे,’ गेट निर्माण नभएकाले ठमेल कुरूप जस्तै भइसकेको छ ।‘

उपभोक्ता मोडलमा निर्माण गर्ने भएमा एक साताबाट काम सुरु हुने र टेण्डर प्रक्रियाबाट जाने भएमा दश दिन भित्रमा टेण्डर आव्हान गरिने अध्यक्ष तिवारीले बताए ।

महानगरको भौतिक पूर्वाधार विभाग प्रमुख सुरज शाक्यले गेटको फिनिसिङ गर्न स्ट्रक्चर तयार पारिरहेको बताए । प्रदेश सरकारले निर्माण थालेको गेट अब भने महानगरपालिकाले निर्माण सम्पन्न गर्ने उनको भनाइ छ ।

‘अरूले निर्माण थालेको काम नसकेकालाई महानगरले निर्माण सम्पन्न गर्न डिजाइन गरिरहेको छ,’ उनले भने,’ पुरानो डिजाइनमा काम गरेर फिनिसिङको काम थाल्ने हो ।‘

एक महिनामा फिनिसिङ सक्ने गरी काम अगाडि बढाउने तयारी भइरहेको शाक्यले इकागजलाई बताए ।

ठमेल पर्यटन विकास परिषदका कोषाध्यक्ष पुण्यराम लगेजुले ठमेलको गेटले गर्दा पर्यटन स्थलको पहिचानमा प्रश्‍नचिन्ह खडा भएको बताए । सुन्दर ठमेललाई प्रदेश र स्थानीय सरकारले बेवास्ता गर्दा कुरूप हुँदै गएको उनको भनाइ छ ।

‘पर्यटकीय स्थल नराम्रो हुनु भनेको देशको बेइज्जत हुनु हो,’ उनले भने,’ प्रदेश सरकारले हुन्छ वा काठमाडौँ महानगर जसले भए पनि यो गेट चाँडो भन्दा चाँडो निर्माण गर्नुपर्छ ।‘

प्राचीन निर्माण सामग्री प्रयोग गरेर बनाउन खोजे पनि त्यसलाई पूर्णता नदिएकोमा उनले गुनासो पोखे । प्रवेशद्वार राम्रो बनाएमा ठमेलको सौन्दर्यता बढी झल्कने उनको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x