समाज

नगर स्वयंसेवक : सत्तलमा सुकुल ओछ्याएर स्वयंसेवक तालिम सुरु

चार दिनको तालिम सहरका चार सम्पदा स्थलमा

इकागज |
चैत १६, २०८० शुक्रबार १८:४३ बजे

काठमाडौँ- काठमाडौँको टेकु, पचली भैरवसँगैको तीन देवल (बमबिकटेश्वर मन्दिर परिसर) मा आजदेखि नगर स्वयंसेवकको तालिम सुरु भएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले सांस्कृतिक तथा पुरातत्व अध्ययन केन्द्र (कार्क) सँगको सहकार्यमा स्वयंसेवक कार्यक्रम अगाडि बढाएको हो ।

महानगरपालिकाले सम्युवा (सम्पदामा युवा र बालबालिका) र वाबा (वातावरण र बालबालिका) सञ्चालन गर्दैछ । यस कार्यक्रमका लागि गएको महिना सार्वजनिक सूचनामार्फत आवेदन माग गरिएको थियो । 


आवेदकले आफू स्वयंसेवक बन्नु पर्ने कारण के हो, भन्ने विषयमा धारणा लेखेर गुगल लिङ्कमार्फत पठाएका थिए । फागुन २० गते राति ११ बजेर ५९ मिनेट प्राप्त आवेदनमा प्राप्त धारणा र व्यक्तिगत विवरण (बायोडाटा) मूल्याङ्कन गरेर सर्टलिष्ट तयार पारिएको थियो । यसपछि अन्तर्वार्ता लिँदा समय दिन सक्ने अवस्थामा जानकारी लिएर यसैलाई छनोटको मुख्य आधार बनाइएको थियो ।

कार्यक्रममा सहभागी हुन ४३७ जनाबाट आवेदन प्राप्त भएको थियो । यसको सर्टलिष्टमा २४७ जना छानिए । उनीहरूमध्ये अन्तर्वार्तामा १६५ जना उपस्थित भएका थिए । उनीहरूसँग लिइएको अन्तर्वार्ताबाट ४५ जना सम्युवा कार्यक्रमका लागि र १ सय जना वाबा कार्यक्रमका लागि छानिएका छन् । यस्तै दुवै समूहमा रहेर काम गर्न इच्छा राख्ने र समय दिन सक्ने ५ जनालाई दुवै समूहमा रहेर काम गर्नका लागि छनोट गरिएको विभागका निमित्त प्रमुख कुमारी राईले जानकारी दिएकी छन् ।

‘तालिमपछि स्वयंसेवकहरूलाई जात्रा पर्व सञ्चालनका समयमा खटाइनेछ । मूर्त अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन गर्न लगाइनेछ । यस्तै समुदाय र विद्यालयमा गएर सम्पदाका अन्तर वस्तुका विषय, यसले मौलिकता र सामाजिक व्यवस्थापनमा राख्ने सम्बन्धका विषयमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न लगाइनेछ,’ राईले भनिन् ।

‘स्वयंसेवकहरूको परिचालनबाट सम्पदाको अवस्थाका विषयमा जानकारी प्राप्त हुनेछ । यी सूचनाबाट सम्पदाको संरक्षण र प्रवर्द्धनको योजना निर्माणमा सघाउ पुग्नेछ,’ वडा नं. १२ का सदस्य पुष्प प्रजापतिले धारणा राखे । 

आज सुरु भएको तालिम सम्युवा समूहको हो । दोस्रो दिन (भोलि) नरदेवीमा तालिम हुनेछ । ४ दिनको तालिममध्ये तेस्रो दिनको तालिम आउँदो हप्ताको शुक्रबाट पशुपति क्षेत्र र चौथो दिनको तालिम त्यसै हप्ताको शनिवार हाँडीगाउँमा हुने, केन्द्रका अध्यक्ष सुदर्शन अर्यालले जानकारी दिए ।  यो २४ हप्ताका लागि हो । स्वयंसेवकले हप्तामा २ दिन समय दिनुपर्छ ।

वाबा कार्यक्रम विद्यालय र वातावरणसँग केन्द्रित छ । सम्युवा कार्यक्रम समुदायसँग बढी सम्बन्धित छ । निर्धारित समयको ६० प्रतिशत समय दिन सक्ने स्वयंसेवकलाई प्रमाण पत्र दिइनेछ । 

तालिममा स्वयंसेवक र सम्पदा सम्बन्धी चिनारी, स्वयंसेवकको जिम्मेवारी, नेतृत्व विकास, समूहगत कार्यको विकास, आफू उत्प्रेरित हुने र अरूलाई उत्प्रेरित गराउन सक्ने विषयमा ज्ञान, सीप र क्षमताको विकास गरिने पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानको भनाइ छ ।

यो वातावरण, शिक्षा, सम्पदा, सांस्कृतिक, पुरातात्त्विक र ऐतिहासिक मूर्त अमूर्त सम्पदा, वातावरणीय अवस्था (प्राकृतिक सम्पदा) र यससँग आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध बुझ्ने अवसर हो । महानगरपालिकाले वि. सं. २०६७ सालमा ४० जना स्वयंसेवकमार्फत सम्युवा कार्यक्रम सञ्चालन थालेको हो । २०७२ सालको भूकम्पको अवधिमा करिब १ सय जना स्वयंसेवकहरू सक्रिय रूपमा काम गरिरहेका थिए । भूकम्पले पुर्याएको क्षति व्यवस्थापनमा उनीहरू सक्रिय थिए ।


Author

थप समाचार
x