समाज

रौतहटमा एसईई परीक्षा मर्यादित बनाउन प्रशासन सक्रिय, ५ सय बढी मोबाइल बरामद

इकागज |
चैत १६, २०८० शुक्रबार २०:४ बजे

फाइल तस्बिर

रौतहट- एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रो दिन शुक्रबार रौतहटस्थित विभिन्न परीक्षा केन्द्रहरूबाट ५०० थानभन्दा बढी मोबाइल बरामद गरेको छ ।

यस पटकको परीक्षालाई मर्यादित बनाउन सिडिओ हिरालाल रेग्मी, एसपी महेन्द्र कुमार श्रेष्ठ, सहितको टोलीले परीक्षा केन्द्रहरूमा गरेको अनुगमनको क्रममा उक्त मोबाइल बरामद गरेको हो ।


केन्द्राध्यक्ष, निरीक्षक, अभिभावक परीक्षार्थीको मिलेमतोमा परीक्षामा अमर्यादित गतिविधि भइरहेको सूचनाको आधारमा गौरस्थित जुद्द मावि, मावि टिकुलिया, सरस्वती मावि पिपरा, मावि ब्रहमपुरी, मावि मूडवलवा, शंकर मावि सरमुजवा, ब्रहमज्योति मावि लौकाहा, मावि गरुडा, मावि समनपुर, मावि कटहरिया, कंकाली मावि जंगलसैया, मावि बरजगवा, जयकिसान मावि धरहरी, मावि जुडिबेलालगायत जिल्लाको १८ स्थानीय तह अन्तर्गत ३१ वटा परीक्षा केन्द्रमा अनुगमनको क्रममा परीक्षार्थीबाट ५०० थानभन्दा बढी मोबाइल बरामद गरिएको टोलीमा सहभागी जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।

बरामद मोबाइलहरू जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको तथा एसईई परीक्षा सकेपछि सम्बन्धित परीक्षार्थीलाई फिर्ता गरिने प्रवक्ता गिरीले जानकारी दिएकी छन् ।

शुक्रबार पहिलो पटक मोबाइल फेला परेका परीक्षार्थी र केन्द्राध्यक्ष लगायत निरीक्षकहरूलाई सम्झाई बुझाई अब परीक्षा हलभित्र मोबाइल फोन नल्याउन सम्झाई बुझाई गरिएको छ, अब पुनः अनुगमनको क्रममा फेला परेमा परीक्षा एन अनुसार कारबाही गरिने प्रहरी प्रवक्ता डिएसपी गिरीले चेतावनी दिएकी छन् ।

रौतहटस्थित जारी एसईई परीक्षामा कारागार र प्रहरी हिरासतबाट एक एकजना परीक्षार्थी सहभागी भएका छन् ।

एकजना जिल्ला कारागार गौर र अर्का एकजना परीक्षार्थी लागूऔषध मुद्दामा रहेका इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियामा प्रहरीको हिरासतबाट एसईईमा परीक्षामा सहभागी भएका छन् । 

त्यस्तै एक जना दृष्टिविहीन परीक्षार्थी पनि परीक्षामा सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाई रौतहटले जनाएको छ ।

रौतहटमा ४५०८ छात्रा र ४९६१ छात्र गरी जम्मा ९४६९ परीक्षार्थी रहेकोमा शुक्रबार भएको अनिवार्य नेपाली विषयको परीक्षामा १२० छात्र र १४७ छात्रा गरी कुल २६७ परीक्षार्थी अनुपस्थित भएको शिक्षा समन्वय इकाई प्रमुख रामबिनयकुमार सिंहले जानकारी दिएका छन् । माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि तथा प्राविधिक ) को पूर्वनिर्धारित समय तालिकाअनुसार  जिल्लाको ३९ वटा परीक्षा केन्द्रहरूमा एसईई परीक्षा सञ्चालन गरिएको शिक्षा समन्वय इकाई रौतहटले जनाएको छ ।

यस पटकको एसईई परीक्षामा विगतको जस्तो परीक्षार्थीलाई चिट पुर्याउनुको सट्टा केही शिक्षक, अभिभावक तथा जानकारले मोबाइल फोनमा प्रश्नपत्र मगाउने गरेका छन् ।

उक्त प्रश्नको उत्तर लेखेर उनीहरूले छुट्टाछुट्टै बनाएको ग्रुप मार्फत एकैपटकमा सैयौं परीक्षार्थीको हातमा पुर्याइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

विगतको केही वर्षदेखि रौतहट स्थित एसईई परीक्षा सञ्चालन हुँदा अभिभावकहरूले खासै ध्यान दिएका थिएनन् । तर, यस पटक जिल्लाको प्रायः सबै परीक्षा केन्द्रको छेउछाउमा परीक्षा हेर्ने अभिभावकहरूको भीड लागेको देखिएको छ ।

वर्षभरी विद्यालयहरूमा पढाई नहुँदा स्थानीय प्रशासन तथा जनप्रतिनिधिले चासो नराख्नेहरू अहिले अनुगमनको नाउँमा परीक्षार्थीलाई अनावश्यक दुःख दिने गरेको कतिपयले विरोध समेत जनाएका छन् ।


Author

थप समाचार
x