समाज

उत्तरपुस्तिका धुल्याएको विषय छानबिन गर्न समिति गठन

सुनीता साखकर्मी |
मंसिर १०, २०७७ बुधबार १३:२ बजे

काठमाडौं : त्रिभुवन  विश्वविद्यालयको अनुगमन निर्देशनालयले उत्तर पुस्तिका धुल्याएको विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।म‌ंगलबार उक्त समिति गठन गरेको निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. विष्णुप्रसाद खनालले जानकारी दिए।

समितिले विवादित परीक्षाको उत्तर पुस्तिका सर्वोच्च अदालतले सुरक्षित राख्न आदेश दिए पनि अटेर गरी जलाएको आरोपमाथि छानबिन गर्नेछ। छानबिनका लागि संयोजक प्रा.डा.ओमप्रसाद बराल, सह प्रा.डा.शंकर प्रसाद भण्डारी र सह प्रा.डा अखिलेश कुमार सिंहलाई ७ दिनको समय तोकिएको हो । 


२०७५ पुस २९ गते त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय अन्तर्गत स्नातकोत्तर तह भौतिक शास्त्र प्रथम सेमेष्टरको एमएससी क्वान्टम मेकानिक्स पहिलो फिजिक्स, ५०३ को परीक्षा सञ्चालन भएको थियो । 

परीक्षा केन्द्र महेन्द्ररत्न क्याम्पस ताहाचलमा तोकिएको थियो । परीक्षाको दिन उक्त भौतिकशास्त्र विषयको प्रश्नपत्र पाठ्यक्रम भन्दा बाहिरबाट आएको भनी केही विद्यार्थीले परीक्षाको अवज्ञा गरेका थिए । सो दिनको परीक्षा बदर गरी पुनः परीक्षा हुनुपर्ने परीक्षार्थीले माग गरेका थिए ।

उक्त विवादास्पद परीक्षा सम्बन्धि उत्तरपुस्तिका लगायत परीक्षासँग सम्बन्धित सम्पुर्ण प्रतिवेदनहरु नधुल्याइकन सुरक्षित रुपमा राख्नका लागि राष्ट्रिय सतर्कता केन्द्रले समेत निर्देशन दिएको थियो । केन्द्रले २०७६ असोज ३० गते पहिलो पटक पत्र पठाएको थियो भने पुनः २०७६ कार्तिक २१ गते पत्रमार्फत ताकेता समेतका लागि निर्देशन दिएको थियो ।

यति मात्र नभएर राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको नाउँमा आदेश समेत जारी गरेको थियो । आयोगले २०७६ असोज १४ को पत्र मार्फत र आयोगको इजलाशको २०७६ चैत ६ गतेको ३४४ नं. को निर्णयले पनि विवादास्पद उत्तरपुस्तिका नधुल्याउन आदेश दिएको थियो ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय १, परीक्षा सञ्चालक समितिको तर्फबाट डीन प्रा.डा. रामप्रसाद खतिवडा तथा भौतिकशास्त्र विषय स्थायी समितिको अध्यक्ष प्रा.डा. विनिल अर्याल समेतले सर्वोच्च अदालतमा लिखित जवाफ फिराउने क्रममा २०७५ पुस २९ मा संचालित भौतिकशास्त्र स्नातकोत्तर तहको क्वान्टम मेकानिक्स आई पिएचवाई ५०३ विषयको विवादास्पद परीक्षाको उत्तर पुस्तिका नष्ट गरि सकिएको भदौ ३ गते विद्यार्थी आशिष पौडेलले थाहा पाए । 

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान (डीन) को कार्यालयले अभियुक्त जोगाउन उत्तर पुस्तिका जलाएको आरोप  लगाउँदै पौडेलले कारबाही मागसहित राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सूचना आयोगमा उजुरी हालेका थिए ।   

उनले उजुरीमा भनेका छन्, ‘विवादास्पद परीक्षा सम्बन्धि प्रतिवेदन, उत्तरपुस्तिका तथा अभिलेखहरु धुल्याइएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमको कसुरमा सजाय गरि पाउँ भनि यो उजुरि दिएको छु ! उक्त कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ र दफा ९३ बमोजिम समेत वर्जित कार्यभित्र पर्ने हुँदा नियमानुसारको कारवाहि गरि पाउँ भनि यो उजुरी दिएको छु ।’ 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x