समाज

सदस्यता टुंगो लगाएर मात्रै अधिवेशन गर्न प्रेस युनियन सिन्धुपाल्चाेककाे माग

इकागज |
चैत २१, २०८० बुधबार १८:११ बजे

सिन्धुपाल्चाेक -  नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले पत्रकार महासंघको सदस्यता प्राप्त गर्नेहरूको टुंगो नलगाउँदासम्म जिल्ला अधिवेशन नगर्न माग गरेको छ ।

नयाँ आवेदन दिएका र पुराना सदस्यसमेत सबैको टुंगो लगाएर मात्र महासंघको साधारणसभा गर्न माग गरेको छ । साथै युनियनले महासंघले चालेका हरेक गतिविधिमा सहकार्य गर्न आफू तयार भएपनि सदस्यताको विषय टुंग्याएर साधारणसभा र अधिवेशन गर्न माग गर्दै बुधबार पत्रकार महासंघ जिल्ल शाखामा ज्ञापनपत्र बुझाएको हो ।


महासंघका अध्यक्ष जिवनप्रसाद श्रेष्ठसँग भेट गरी प्रेस युनियनका शाखा अध्यक्ष किशोर बुढाथोकीसहितको टोलीले ज्ञापनपत्र बुझाएको हाे ।

‘जिल्लामा रहेका सञ्चारमाध्यममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम् पारिश्रमिक वृद्धि, पारिश्रमिकको नियमित भुक्तानी, पेशागत सुरक्षा, सामाजिक सुरक्षाको ध्यान दिन पनि अनुरोध गर्दछौं’-ज्ञापनपत्रमा भनिएको छ ‘पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको सदस्यता टुंगो नलगाई अधिवेशन सम्बन्धी कुनै पनि गतिविधि अगाडि नबढाउन अनुरोध छ ।’

महासंघले गरेको सदस्यता शुद्धीकरण अभियानले अहिले पूर्णता पाएको छैन । सिन्धुपाल्चोक शाखाको हकमा पुरानो सदस्य को रहने, को नरहने भन्ने अझै अन्योल छ । नयाँ सदस्यताको पनि उस्तै अवस्था रहेको छ । सिन्धुपाल्चोकमा रहेर पत्रकारिता गरिरहेकाहरूले पछिल्लो १० वर्षदेखि सदस्यता पाएका छैनन् ।


Author

थप समाचार
x