समाज

‘जापानीज फुड कल्चर’ लाई नेपालभर विस्तार गरिने

इकागज |
चैत २३, २०८० शुक्रबार १९:१२ बजे

काठमाडौँ- होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबिजी) ले ‘जापानीज फुड कल्चर’ लाई नेपालभर विस्तार गर्ने भएको छ ।

एचएनबिजीले आज पत्रकार सम्मेलन गरी जापानी लगानी, प्रविधि र सीपलाई नेपालमा भित्र्याएर आमनेपालीलाई स्वस्थकर र गुणस्तरीय जापानी खाना खुवाउने उद्देश्यले ‘जापानीज फुड कल्चर’ लाई देशभर विस्तार गर्न लागेको जानकारी दिएको हो ।


पत्रकार सम्मेलनमा बोल्दै एचएनबिजीका अध्यक्ष अर्जुन अधिकारीले समृद्ध मुलुक निर्माणका लागि विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई स्वदेशमा प्रयोग गर्न होक्काइडो नेपाल बिजनेस ग्रुपले काम गरिरहेको बताए । 'देशको समृद्धिका लागि नागरिकलाई पहिला उत्पादनसँग जोड्नुपर्छ भनेर यो ग्रुपले काम गरिरहेको छ,' उनले भने ।

उनले उत्पादनलाई गुणस्तरीय बनाउनका लागि विदेशी प्रविधि, लगानी र सीप भित्र्याउने उल्लेख गरे । 'पहिला उत्पादनलाई केन्द्रित गर्छाैँ, अनि गुणस्तरीय उत्पादनका लागि सफल प्रविधि र सीपसँगै लगानी भित्र्याउँछौँ,' अध्यक्ष अधिकारीले भने ।

सन् २०१९ देखि नेपाली रेष्टुरेण्ट क्षेत्रमा जापानीज फुड कल्चरलाई प्रवेश गराएको उक्त ग्रुपले हाल काठमाडौँका विभिन्न सात स्थानमा जापानीज रेष्टुरेण्ट सञ्चालन गरिरहेको छ । जापानमा आर्जन गरेको व्यावसायिक अनुभवलाई उपयोग गर्दै रेष्टुरेण्ट क्षेत्रमा लगानी र रोजगारी सृजनाको सङ्कल्प गरिएको उनले बताए । 

रेष्टुरेण्टलाई आवश्यक पर्ने कच्चा पदार्थको उत्पादनका लागि उक्त ग्रुपले रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्मसमेत सञ्चालनमा ल्याएको ग्रुपका कार्यकारी निर्देशक खेम शर्माले बताए । उनले नेपालको पर्यटन प्रवर्द्धनमा जापानीज फुड कल्चरले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । विगत चार वर्षदेखि नेपालको रेष्टुरेण्ट क्षेत्रमा सक्रिय उक्त समूहले एक सय ७० जनालाई रोजगारसमेत प्रदान गरेको छ ।


Author

थप समाचार
x