समाज

मेलम्ची खानेपानी आयोजनाका केही कर्मचारी बेपत्ता

इकागज |
असार २, २०७८ बुधबार १८:२१ बजे

फाइल तस्बिर

काठमाडौँ : अविरल वर्षाले मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु गाउँपालिका-१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु डुबानमा परेका छन् ।

बाढीका कारणले अहिले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्‍ने प्रारम्भिक अनुगमनबाट विस्तृत जानकारी आउन नसकेको आयोजनाले जनाएको छ । त्यहाँका स्थायी संरचना पानीभित्रै भएपनि आफ्नै ठाउँमा भएको र अहिलेसम्म संरचनामा धेरै क्षति भएको नदेखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार हेलिकोप्टरबाट खिचेको फोटोमा संरचना नभत्केको पाइएको छ ।


नदीको बहाव बढेकाले ‘हेडवर्कस्’ लगायत संरचना अहिले पानी मुनि रहेका छन् । आयोजनामा निर्माणस्थलमा कार्यरत केही बेपत्ता भएको र केही घाइते भएको जानकारी आएको प्रवक्ता पन्तले बताए । निर्माण कम्पनीका कति कर्मचारी बेपत्ता भए वा कति घाइते भन्ने यकिन नभएकाले बुझ्न प्रयास भइरहेको आयोजनाले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि धुलिखेल र काठमाडौँ पुर्‍याएको छ ।

कतिपय स्थानीयवासीमा सुरुङ परीक्षण शुरु गरेकै दिनबाट बाढी गएकाले पनि आयोजनाको पानी मेलम्ची नदीमा खसालेको बुझाइ छ । प्रवक्ता पन्तले भने आयोजनाको मेलम्चीपट्टिको ढोका बन्द गरिएको र सुन्दरीजलबाट पानी खाली गरिएको जानकारी दिए । अधिक वर्षाले नदीमा तह बढेकाले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र त्यस आसपासका पालिकामा मानवीय र भौतिक क्षति भएको छ । रासस


Author

थप समाचार
x