समाज

बाढी पहिरोमा परेर ६ जनाको मृत्यु र २७ बेपत्ता

इकागज |
असार २, २०७८ बुधवार २१:२ बजे

काठमाडौँ : पछिल्लो तीन दिनयता निरन्तर परेको वर्षापछिको बाढी पहिरोमा परी ६ जनाको ज्यान गएको छ । २७ जना बेपत्ता र ११ जना घाइते भएका छन् । गृह मन्त्रालय, राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी र बाजुरामा बाढी-पहिरोका घटना भएका हुन् ।

मंगलबार मेलम्ची खोलामा आएको बाढीबाट बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको र १६ जना अझै बेपत्ता रहेका छन् । मेलम्चीको बाढीमा हालसम्म १६ घर, दुई वटा मोटरपुल र ६ वटा झोलुंगे पुल पूर्ण रूपमा क्षतिग्रस्त छन् । बाढीले बाजुरामा एकजनाको ज्यान गएको छ भने अर्का एकजना अझै बेपत्ता छन् । त्यहाँ दुई वटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । गोरखामा बाढीमा बगेर एकजना बेपत्ता भएका छन् भने चार घर बगाएको छ ।


मनाङमा बाढीले ५३ घर बगाएको छ भने २६ वटा घरमा क्षति पुगेको गृहले जनाएको छ । त्यहाँ एउटा सडक, बेलिब्रिज र सामुदायिक भवन तथा पाँचवटा झोलुंगे पुल र चारवटा सरकारी कार्यालयमा बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको छ । प्युठानमा बाढीमा परी एकजना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकको बाढीमा घाइते भएका ६ जनालाई बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै पाल्पामा अविरल वर्षासँगैको पहिरोको कारण एकजनाको ज्यान गएको र स्याङ्जामा एकजना घाइते भएको तथ्यांक छ । लमजुङमा बाढीले १० वटा घर बगाएको छ भने ३९ वटा घरमा क्षति पुर्‍याएको छ । एकेक वटा मन्दिर र भवन पनि बगाएको छ । डोटीमा पहिरोमा परी एकजनाको ज्यान गएको छ भने जुम्लामा दुईजना घाइते भएका छन् । 

जाजरकोटमा अविरल वर्षापछि बाढीमा परी सात जना बेपत्ता भएका छन् । अर्घाखाँचीमा बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् भने १२ घर पनि बगाएको छ ।यसैगरी, कास्कीमा बाढीले एकजनाको ज्यान गएको छ भने तीन घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको गृहको तथ्यांक छ ।


Author

थप समाचार
x