समाज

काठमाडौँ बाहिर गएकाहरूले सहजै प्रवेश नपाउने

इकागज |
असार ६, २०७८ आइतबार २०:५ बजे

काठमाडौँ : निषेधाज्ञा खुकुलो भए पनि उपत्यका बाहिर गएकाहरूले सहजै प्रवेश नपाउने भएका छन् । बाहिरी जिल्लाका मानिसले उपत्यका प्रवेश गर्न चाहेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासका आधारमा मात्र प्रवेश पाउने काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

'निजी सवारीसाधनको जोरबिजोर उपत्यकामा मात्र लागू भएको हो,'पराजुलीले इकागजसँग भने,' बाहिरी जिल्लाबाट प्रवेश गर्ने सवारीसाधनका लागि जोरबिजोर प्रणाली लागू भएको छैन ।' जनजीवन सहज बनाउनका लागि मात्र निषेधाज्ञा खुकुलो बनाएको उनले बताए । 'जनस्वास्थ्यको मापदण्ड कडाइको साथ  पालना गराइन्छ,' उनी भन्छन् ।


उपत्यकामा खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो  । थप भएको निषेधाज्ञा असार १४ गतेसम्म लागू हुनेछ । 

यो अवधिमा नीजि सवारी साधन भने जोर बिजोरका आधारमा सञ्चालन हुनेछन् । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म) खुल्ला  रहनेछन् । 

सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु खुल्नेछन् । यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् । खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।   नीजि सवारी कार, जीप भ्यानमा चार जनामात्रै यात्रु राख्न पाइनेछ । त्यस्तै ट्याक्सीमा  भने तीन जनामात्रै यात्रु राख्न पाइनेछ ।


Author

थप समाचार
x