समाज

ख्याल गरौँ, मन्दिरमा बत्ति बाल्दा क्षति होला !

सुनीता साखकर्मी |
मंसिर १४, २०७७ आइतबार ७:४९ बजे

भक्तपुर : मंसिर १३ गते शनिबार । बिहानको १० बज्दै थियो । भक्तपुर नगरपालिका-७ स्थित भीमसेनस्थानको मन्दिर परिसरमा भक्तजनहरूको भीड थियो । मानिसहरू पुजाआजामा व्यस्त थिए । तर केही क्षणमै मन्दिरमा भागा-भाग सुरु भयो । मन्दिरमा आएका भक्तजनले रेलिङमा राखिएका ढलौटका पालाहरूमा बत्ती बाल्ने क्रममा आगलागी भए पछि भागम्भाग भयो  ।

आगलागी भएपछि स्थानीयले मिलेर आगो निभाउने प्रयास गरेको स्थानीय दयाराम तमखुले जानकारी दिए । ‘भक्तजनले बत्ति बाल्ने क्रममा मन्दिरमा राखिएको रेलिङमा जमेको तेलको ढिक्कामा आगो सल्किएपछि एक्कासी ह्वार-ह्वार बल्न थाल्यो,’ उनी भन्छन्, ‘सबै भक्तजन तर्सिएर भागाभाग भयो । आगलागी भएपछि स्थानीयले बालुवा र पानी खन्याएर आगो निभाउने कोशिस गर्‍यौँ । पछि प्रहरी र नगरपालिकाको पानीको फोहोरा पनि आयो । चाँडै आगो निभाउन सफल भयौँ ।’ शनिबारको दिन भएकाले पनि युवा स्थानीयहरू आ-आफ्नै घरमा थिए । जसको कारण आगो लाग्नासाथ निभाउन आइपुगे । अरु दिन लागेको भए, आगो निभाउन गाह्रो हुने उनले सुनाए ।


खतराको घण्टी 
भीमसेनस्थानको मन्दिरमा आगलागी हुँदा खासै जनधनको क्षती भएन । पालामा बत्ति बालिएको ठाउँ मन्दिरबाट अलिक टाढा भएकाले मन्दिरमा पनि कुनै असर गरेन । तर नजिकैको रुख विरुवा भने नराम्रोसँग जले । ‘त्यहाँ वरपर तार भएको भए त बर्बाद हुन्थ्यो, धन्न थिएन,’ तमखुले लामो सास तान्दै भने ।

यो आगलागीले मन्दिरमा जनधनको खासै क्षति नभएपनि हाम्रा मन्दिरहरूमा हुन सक्ने सम्भावित घटनाको पूर्व संकेत दिएको भक्तपुर गोमारीका स्थानीय ज्ञानेन्द्र खाइजुले बताए । ‘अचेल धेरै ठाउँका मन्दिरमा यस्तै रेलिङ राखिएका ढलौटको पालामा बत्ति बाल्ने चलन बढेको छ,’ उनी भन्छन्, ‘कतिपय मन्दिरका यस्ता पालाहरू वर्षौँ सफा गरिदैनन्, तेल त्यही पोखिएका हुन्छन् । मन्दिरहरू काठ र इँटाहरूले बन्ने हुँदा आगो चाँडो सल्किन सक्छ । त्यसबाट लाग्ने आगोले ठूलो रुप लिएर जनधनकै क्षति हुन सक्छ ।’ खाइजुका अनुसार मन्दिरमा लाग्न सक्ने आगलागीको यो जोखिम भक्तपुरको कुनै एक मन्दिरमा मात्रै छैन, देशभरीका प्राय मन्दिरहरूमा छ, किनकी देउताको आराधना गर्न बालिने यस्ता बत्तिहरूमा अचेल प्राय मन्दिरहरूमा देखिन्छन् । तेल राखेर बत्ति बालेर त्यतिकै छोडिन्छन् । जसको कारण आगलागी हुन सक्ने सम्भावना बढि छ ।

भक्तपुर गोमारी-७मा रहेको दुई मन्दिरमा राखिएका रेलिङका पालाहरू अन्य मन्दिर भन्दा फरक छन् । यहाँ पालाहरू मन्दिरका वरिपरि मात्रै छैनन्, मन्दिर छिर्ने ढोका जुन आकारमा छ, त्यही आकारमा पालाहरू राखिएका छन् । यहीँका स्थानीयले आफ्ना दिवंगत परिवार जनको नाममा मन्दिरको वरिपरि रेलिङमा पाला राखेका हुन् । तर उक्त बत्ति बाल्ने पाला उक्त विद्युतीय वत्तीको स्वीच नजिकै रहेको भने धेरैलाई याद छैन । पालामा बत्ति बाल्दा विद्युतीय बत्तिको स्वीच जल्न सक्ने सम्भावना निकै प्रवल छ ।

यसरी मन्दिर वरिपरि रेलिङ राखेर बत्ति बाल्ने चलन पहिले नभएको र पछिल्लो समय मानिसले सिर्जना गरेको संस्कृति भएको स्थानीय खाइजु अनुमान लगाउँछन् । ‘पहिले यस्तो चलन थिएन होला, यदि भएको भए शताब्दीऔँ पुराना मन्दिरमा पहिलेका पितापुर्खाले नै मन्दिर वरिपरि यस्ता पाला राख्थे नि, यो चलन सुरु भएको धेरै भएकै छैन,’ उनी भन्छन्, ‘मन्दिरमा होसीयारी नपुर्‍याउँदा आगलागी हुने जोखिमका साथै मानवीय क्षती नै हुनसक्ने सम्भावना बढि हुन्छ ।’

मन्दिरमा आगलागी भएका उदाहरणहरू 
कहिले मन्दिरभित्रै जथाभावी बत्ति वा आगो बालेर त, विद्युत् सर्ट भएर मन्दिरहरूमा आगलागी भएका घटनाहरू बेलाबेला आउने गर्छन् । मन्दिरमा हुने यस्ता लापरवाही वा अन्य विविध कारणले जनधनकै क्षति भएका उदाहरणहरू टन्नै छन् । काठमाडौंको पुरातत्व विभागले प्रकाशन गरेको ‘प्राचीन नेपाल’ पुस्तकका लागि कुलचन्द्र कोइरालाले ‘पाटनको दिगुतलेज्यू’ मन्दिरको बारेमा लेखेको आर्टिकलमा पनि आगलागीको प्रसंग उल्लेख छ । उनले लेखेका छन्, ‘देवमाला वंशावलीको कथन अनुसार नेपाल संवत् ७०४(वि.सं.१६४०)मा गुरु लम्बकर्ण भट्टसँग सहमति लिइ तन्त्रोक्त विधानले मन्दिर बनाई दिगुतलेज्यूको स्थापना गरेको कुरा उल्लेख छ ।

यही मन्दिरलाई पछि नेपाल संवत् ७४७ मा शिवसिंह मल्लका नाति श्री सिद्धिनरसिंह मल्लले ठूलो देवल बनाई पाँच तला भएको सुवर्ण लेपित छाना हाली ज्येष्ठ महिनामा प्रतिष्ठा गरेका थिए । पछि नेपालसंवत् ७८३ को कार्तिक शुक्ल दशमीका दिनमा आगलागी भई समाप्त भएकोले तत्कालिन राजा श्रीनिवास मल्लले ६ महीनाभित्र मन्दिर तयार गरी चार तला माथिको छानाचाहिँ सुवर्ण मोलम्बा गरी तयार गरे भन्ने कुरा पनि केही वंशावलीले लेखेका छन् ।’

आगलागी के कारणले भयो, उल्लेख नभएपनि मन्दिरमा आगलागी भएपछि मर्मतसम्भार गरिएको घटना इतिहासमा उल्लेख छ । कलिगत संवत् १८१८ देखि साँखु क्षेत्रमा सुरु भएको ‘बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा’ पनि आगलागीको कारण रोकिएको थियो । विसं १९७० मा बज्रयोगिनी मन्दिरमा आगलागी भएका कारण जात्रा रोकिएको थियो ।

२०७६, फागुनको दोस्रो साता नेपालकै पशुपतिनाथको पारिपट्टी रहेको एक मन्दिरमा आगलागी भएको थियो । भारतबाट आएका एक साधुले मन्दिरभित्रै मुडा बालेर धुनी जगाएपछि मन्दिरमा आगो सल्केको थियो । मन्दिर ढुङेगै ढुङ्गाबाट बनेको भएपनि उक्त मन्दिरको थाम भने काठको थियो । साधुले धुनी जगाउन आगो सल्काएपछि काठको थाममा आगो सल्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । प्रहरीको विपद् व्यवस्थापनको टोलीले झण्डै आधा घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो ।

२०७२ सालको चैतमा भारतको केरलाको कोल्लममा रहेको एक हिन्दु मन्दिरमा आगलागी हुँदा कम्तीमा १०२ जनाको मृत्यु भएको थियो भने २ सय भन्दा बढी घाइते भएका थिए । कोल्लममा रहेको पुतिङ्गल मन्दिरमा तीर्थालुहरूले विशु पर्व मनाइरहेका बेला पटका बिस्फोट भएर आगलागी सुरु भएको थियो ।

बत्ति बालेर पूण्य कमाइन्‍न 
पहिले देखि नै मन्दिरमा बत्ति बाल्नु साधारण नित्य कर्म हो । देउताको आराधना गर्ने विधिहरूमध्ये एक विधि हो । कपासबाट काटिएका बत्तीलाई तेलमा डुबाएर बत्ती थुप्रैले घरमा दिनहुँ बाल्ने गर्छन् । तर अचेल देउताको अगाडि जति धेरै बत्ति बाल्यो, त्यति धेरै पूण्य कमाइन्छ भन्ने विश्वास प्रगाढ बन्दै गइरहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । धर्मकर्म वा पितृपुजनको नाममा मन्दिर वरिपरि रेलिङमा १०८ वा १००८ ढलौटका पाला राख्ने चलन जताततै व्याप्त भइरहेको छ । कतिपयले त मन्दिर भित्रै धुपबत्ति सल्काउँछन् । मूर्तिकै टाउकोमा धुपबत्ति राखिदिन्छन् ।

‘यसरी बत्ति बाल्दा मानिसहरू आफ्नो मनको इच्छा पुरा हुन्छ भन्ने सोच्छन्,’ उनी भन्छन्, ‘धुप,बत्ति एउटा बाले पनि हजारवटा बाले पनि उही हो । धेरै धुपबत्ति बालेर, पुजा, आराधना गरेर पूण्य पाइँदैन बरु यसरी पुजा गर्दा देउताका मूर्तिहरू, मन्दिरलाई नै असर गरिरहेको हुन्छ भनेर कसैले सोच्दैन । यो अबुझपन हो ।’

धौभडेलका अनुसार पहिले मन्दिरमा धुपबत्ति बाल्ने निश्चित ठाउँ हुन्थ्यो । मानिसहरू बत्ति बालेर ननिभुञ्जेलसम्म जाँदैनथे । तर अहिले मानिसहरू बालेर त्यत्तिकै छोडेर हिँडिदिन्छन् । यसरी बालेर छोडिएका बत्तिलाई हावाले अन्यत्र सल्काएर ठूलो आगलागी हुन सक्छ । अव्यवस्थित तवरले बत्ति दिँदा पुर्खाले बनाएर सुम्पिएका कयौँ कलाकृति विग्रिएका वा कुरुप बनेका छन् । धौभडेल भन्छन्, ‘मन र मन्दिर सफा राखेर सभ्य र सही तरिकाले पुजा आजा गरे मात्र राम्रो हुन्छ ।’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x